
News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सेयर बजारको परिसूचक नेप्से २.७९ प्रतिशत बढ्दा उत्पादन तथा प्रशोधन समूह ४.६३ प्रतिशतले बढेको छ।
- सिमेन्ट कम्पनीको सेयर मूल्यमा शिवम् सिमेन्ट १० प्रतिशत, सोनापुर ९.०८, सर्वोत्तम ७.५२ र घोराही ५.४३ प्रतिशतले वृद्धि भएको छ।
- सिमेन्ट कम्पनीको सेयरमा आकर्षण चौथो त्रैमासिक वित्तीय विवरण सकारात्मक आउने अपेक्षाले बढेको नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरेले बताए।
६ साउन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.७९ प्रतिशत बढ्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ४.६३ प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन समूहमा १० कम्पनी सूचीकृत छन् । जसमा ४ वटा सिमेन्ट कम्पनी छन् ।
मंगलबार सिमेन्ट कम्पनीकै सेयरमा एकाएक आकर्षण देखियो । जसले गर्दा समग्र उत्पादन समूहमा उच्च वृद्धि देखियो । सिमेन्ट कम्पनीबाहेक यस समूहका केही कम्पनीको मूल्य घटेको पनि छ ।
शिवम् सिमेन्टको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेको मूल्यमा पनि कतिपयले खरिद गर्न पाएनन् । त्यस्तै सोनापुर सिमेन्टको ९.०८, सर्वोत्तमको ७.५२ र घोराहीको ५.४३ प्रतिशत बढ्यो ।
एकाएक सिमेन्ट कम्पनीको सेयरमा आकर्षण बढ्नुको प्रमुख कारण चौथो त्रैमासिक वित्तीय विवरण सकारात्मक आउने अपेक्षा रहेको जानकार बताउँछन् ।
विगत केही वर्ष नै कमजोर वित्तीय विवरण आउँदा सिमेन्ट कम्पनीको सेयर मूल्य बढ्न सकेको थिएन । पछिल्लो समय निर्माण क्षेत्र सल्बलाएको तथ्यांक छ ।
तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अर्थतन्त्रका सबै क्षेत्र धनात्मक छन् । निर्माण क्षेत्र ६.९ प्रतिशत बढेको कार्यालयको तथ्यांक छ । यसले गर्दा सिमेन्ट कम्पनीप्रति कारोबारी आशावादी देखिएका छन् ।
मागमा आएको कमीले सिमेन्टको बिक्री आम्दानी नै घटेपछि वित्तीय विवरण कमजोर देखिँदै आएको थियो । तर पछिल्लो समय निर्माण क्षेत्र सल्बलाएपछि बिक्री आम्दानीमा सुधार आउने अपेक्षा गरिएको नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे बताउँछन् ।
‘आर्थिक वर्ष सकिँदा पूँजीगत खर्च ह्वात्तै बढ्ने र त्यसको प्रभावि सिमेन्ट कम्पनीको विवरणमा पनि देखिन जान्छ’ उनले भने ‘निर्माण क्षेत्र सल्बलाएका तथ्यांक आएका छन्, अर्कोतर्फ सडक निर्माणका क्रममा ढलानलाई पनि प्राथमिकता दिने बजेटमा उल्लेख छ।’
प्रतिक्रिया 4