
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्समा स्थानान्तरण गर्ने योजना बनाएको छ।
- डिपो स्थानान्तरणका लागि त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थानले तयार पारेको डीपीआर निगमलाई हस्तान्तरण गरिएको छ।
- नयाँ डिपोमा ५ वटा ३ हजार किलोलिटर क्षमताका ट्यांकी, पूर्ण स्वचालित फायर फाइटिङ सिस्टम र ६ अर्ब ५४ करोड लागत अनुमान गरिएको छ।
८ साउन, काठमाडौं। नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ ।
उक्त डिपो काठमाडौं महानगरपालिका–८ गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सारिने निगमले जानकारी दिएको छ ।
डिपो स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको कन्सल्टेन्सी सेवालाई दिइएको थियो ।
५ मंसिर २०८१ मा भएको सम्झौता अनुसार तयार पारिएको डीपीआर कन्सल्टेन्सी सेवाले निगमलाई हस्तान्तरण गरेको छ ।
नयाँ डिपो पूर्णरूपमा स्वचालित एल३ स्तरको अटोमेसनयुक्त हुनेछ । प्रस्तावित योजना अनुसार हाललाई ३ हजार किलोलिटर क्षमताका ५ वटा भर्टिकल ट्यांकी निर्माण गरिने छ भने भविष्यमा भण्डारण क्षमता थप गर्न पर्याप्त खाली स्थानको समेत व्यवस्था गरिने छ ।
यसैगरी इन्धन लोडिङ तथा अनलोडिङका लागि क्रमशः ६ र ८ वटा ‘बे’ निर्माण गरिने छ । अन्तर्राष्ट्रिय उडान भर्ने जहाजका लागि ७ वटा पिट हाइड्रान्ट रिफ्युलिङ सिस्टम र २ वटा रिफ्युलिङ डिस्पेन्चर रहनेछन् ।
निगमका अनुसार डिपोमा अग्नि सुरक्षाका लागि २ हजार १ सय किलोलिटर क्षमताका २ वटा स्टाटिक वाटर ट्यांक र पूर्णस्वचालित फायर फाइटिङ सिस्टम जडान गरिने छ ।
यसबाहेक प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मतसम्भार यार्ड र सुरक्षार्थ खटिने नेपाली सेनाका लागि छुट्टै आवासीय तथा कार्यकक्ष समेत निर्माण गरिने जनाइएको छ ।
यस्तै अन्तर्राष्ट्रिय स्तरका मापदण्ड एपीआई, आईएसडीको पूर्णपालना गरिने निगमले जानकारी दिएको छ । निर्माण हुन लागेको यस डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ अनुमान गरिएको छ ।
निगम कार्यालय प्रमुख प्रदीपकुमार यादवले गत आव मंसिरमा निर्माण कार्य सुरु गरी दुई वर्ष (२०८४ मंसिर) भित्र निर्माण सम्पन्न गरी डिपो सञ्चालन गर्ने निगमको योजना रहेको जानकारी दिए ।
प्रतिक्रिया 4