
News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राईले अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका सचिवलाई बेरुजु शून्य गर्ने तरिका सिकाइदिन आग्रह गरेका छन्।
- सार्वजनिक लेखा समितिको बैठकमा राईले बेरुजु शून्य भएमा आफ्ना कर्मचारीलाई सिक्न पठाउने पनि बताए।
- राईले विदेशस्थित नियोगहरू सञ्चालन गर्दा कानून नियम पालनामा कठिनाइ हुँदा बेरुजु बढेको बताए।
१२ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राईले बेरुजु शून्य गर्ने तरिका सिकाइदिन अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका सचिवलाई आग्रह गरेका छन् ।
सोमबार सार्वजनिक लेखा समितिको बैठकमा उनले अख्तियारका सचिवलाई बेरुजु शून्य बनाउनेबारे सिकाइदिन आग्रह गरेका हुन् ।
काम गरेरै अख्तियारको बेरुजु शून्य भएको हो भने आफूले अख्तियारमा दुईचार जना आफ्ना कर्मचारीलाई सिक्न पठाउने समेत उनको भनाइ थियो ।
‘अख्तियारका सचिवज्यूले बेरुजु शून्य भनेको सुने । आखिर बेरुजु शून्य कसरी गर्न सकिने रहेछ ? काम गरेरै बेरुजु शून्य भएको हो भने मेरा पनि दुई/चार भाइ कर्मचारीलाई त्यहाँ सिक्न पठाउँछु । तपाईंले सिकाएर पठाउनुस्,’ उनले बैठकमा आग्रह गरेका छन् ।
सार्वजनिक खरिद थिएन भने काम नहुँदा बेरुजु शून्य भएको हो भने त्यो विषय फरक रहेको उनले बताए ।
‘बेरुजु शून्य बनाउन हामी सबैले । यदी त्यहाँ सार्वजनिक खरिद थिएन भने काम नहुँदा बेरुजु शून्य भएको हो भने त्यो छुट्टै कुरा हो । यदि काम भएरै शुन्य भएको भने एक अर्कामा सिकाउँ न,’ उनले भने ।
समिति बैठकमा अख्तियारका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बेरुजु शून्य रहेको बताएका थिए । बेरुजु हुनु भनेको भ्रष्टाचारको संकेत समेत रहेको उनको भनाइ थियो ।
परराष्ट्रसचिव राईले विदेशस्थित नियोगहरू सञ्चालन गर्दा कहिले कानून नियमहरू परिपालना गर्न गाह्रो हुँदा बेरुजु रहने गरेको बताए ।
उनका अनुसार अप्ठ्यारा ऐन नियमहरू बोकेर हिँडेका कारण बेरुजु प्रत्येक वर्ष बढेको हो । ‘ऐनहरूलाई सहज बनाउनुपर्यो । अहिले परराष्ट्र मन्त्रालय बेरुजु साढे ५ अर्ब रहेको छ । विदेशस्थित नियोगमा राजश्वहरू जम्मा गर्दा समयमै नदेखाइँदा देखिने गरेको हो,’ राईले भने ।
प्रतिक्रिया 4