+
+
Shares

तराईबाट पहाड उक्लँदै विषालु सर्प, अस्पताल नपुग्दै ८० प्रतिशतको जान्छ ज्यान

सर्पदंशबाट अधिकांश कृषक, महिला र आर्थिक रूपले विपन्न वर्ग प्रभावित हुन्छन् । यिनका लागि सर्पदंश उपचार सुविधा नपुग्नु, आईसीयू र भेन्टिलेटर सेवा नहुनु, र अस्पतालसम्म पुग्न नसक्ने अवस्थाले सर्पदंशलाई गरिबको ‘मौन महामारी’ बनाएको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ साउन १३ गते २२:१०

१३ साउन, काठमाडौं ।  ‘मेरो नाम जमुना अर्याल हजुर ।’

टेकु अस्पतालको वार्डमा सुतिरहेकी अर्यालले आफ्नो परिचय दिँदा शरीर कामिरहेको थियो ।

धादिङबाट आएकी जमुनाका आँखामा अझै पनि सर्पले डसेको त्यो दिनको डरलाग्दो छायाँ यथावत छ ।

धार्मिक चलनअनुसार साउन महिनाको सोमबार शिवको पूजाका लागि गाउँका दिदीबहिनी जम्मा भएका थिए ।

कसैले भित्र पसेर पूजा गर्न थाले, कोही नजिकै फूल टिप्नतिर लागे । जमुना मन्दिर वरिपरिका झार उखेल्न लागिन् ।

सर्पले डसेपछि अस्पतालमा उपचार गराउन आएकी धादिङकी जमुना अर्याल

‘सुरुमा त के ले हात पोल्यो भन्ने लाग्यो,‘ उनी भन्छिन्, ‘तर  जब हेरेँ, सर्प त हातमै झुन्डिएको देखियो ।’

सर्पले डसेको ठाँउबाट थोरै रगत बग्यो । सुरुमा सामान्य चोट ठान्दै घरमै साबुनपानीले धोएर बसिन् । तर केहीबेरमा डरलाग्दो गरी हात सुनियो ।

हतारहतार परिवारले धादिङ अस्पतालमा पुर्‍याए । पछि अवस्था जटिल हुँदै गएपछि चिकित्सकले टेकु अस्पताल रेफर गरे ।

०००

काभ्रेको बेथानचोक गाउँपालिका–३ का ३४ वर्षीय रञ्जन लामालाई पनि ४ साउन बेलुकी साढे नौ बजेतिर सर्पले डस्यो ।

‘घर छेउमै रहेको धारामा पानी लिन गएको थिए, ‘अस्पतालको शय्यामा पल्टिरहेका रञ्जन सम्झन्छन्, ‘चिसिक्क भएको थियो । यसो  खुट्टामा हेरेको झुन्डिरहेको सर्प देखेँ ।’

गाउँका एक वृद्धका अनुसार उक्त सर्प आँधो जातको विषालु सर्प थियो ।  अस्पताल जान तुरुन्त सल्लाह कसैले दिएन । गाउँका जान्नेसुन्ने बाजेले जडीबुटी लगाउँदा निको हुने सल्लाह दिए  ।

सर्पले डसेपछि अस्पतालमा उपचार गराउन आएका रञ्जन लामा ।

‘तर भोलिपल्ट नै फोका आउन थाले, खुट्टा सुन्नियो, भित्र गहिरो गरी पोल्न थाल्यो,’ उनी सम्झन्छन्, ‘अनि बल्ल आफैं निर्णय गर्दै अस्पताल लागेँ ।’

सर्पले डसेको ३५ घण्टापछि मात्र उनी टेकु अस्पताल आइपुगे । चिकित्सकले अवस्था हेरेपछि तत्काल एन्टीस्नेक भेनम सुरु गरे ।

रञ्जन र जमुना मात्रै होइन । वार्षिक देशभरि ९ हजारभन्दा बढी मानिस सर्पको डसाइबाट प्रभावित हुने तथ्यांक छ ।

तर स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार उक्त तथ्यांक वास्तविक संख्याभन्दा न्यून हो । किनकि सर्पदंशका अधिकांश बिरामी अस्पताल नै आइपुग्दैन ।

विषालु सर्प पहाडतिर बढ्दै छन् । जलवायु परिवर्तन, जंगल फँडानी, र तराईबाट काठ–दाउरा लैजाँदा उपत्यकासम्म विषालु सर्प छिरेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार पछिल्ला वर्षमा विषालु सर्पको डसाइ बढ्दो क्रममा छ ।

‘तीन वर्ष अघिसम्म १० प्रतिशतसम्म मात्रै विषालु सर्पले डसेको पाइएको थियो,’ महाशाखाका प्रमुख डा. चन्द्र भाल झाले भने, ‘तर अहिले अस्पताल आइपुगेका १८ प्रतिशत बिरामीलाई विषालु सर्पले डसेको पाइयो ।’

महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्पताल पुगेका ९ हजार ३४६ मध्ये ९६७ अर्थात १०.३४ प्रतिशतलाई विषालु सर्पले डसेको थियो । यसैगरी आर्थिक वर्ष २०८०/८१ मा विषालु सर्पले १८ प्रतिशतभन्दा बढीलाई डसेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति एवं सर्पदंश विशेषज्ञ डा. सञ्जीवकुमार शर्मा जलवायु परिवर्तनका कारणले विषालु सर्प पहाडतिर पनि पाइन थालेको बताउँछन् ।

डा. सञ्जीवकुमार शर्मा ।

‘तराईमा पाइने विषालु सर्पलाई पहाडतिर तापक्रम बढ्दै जाँदा बस्न सजिलो हुँदै गएको छ । जसका कारण सर्पको संख्या बढ्दै गएको छ,’ डा. शर्मा भन्छन्, ‘पहिला अभिलेख हुँदैनथ्यो । आजभोलि त्यो क्रम बढेकाले पनि विषालु सर्पले डसेको बढी देखिएको हुनसक्छ ।’

अध्ययन भन्छ – तीन हजारभन्दा बढीको मृत्यु३७ हजारभन्दा बढीलाई डस्छ

सरकारसँग भने सर्पको डसाइका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक छैन ।

युनिभर्सिटी अफ जेनेभा, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विश्व स्वास्थ्य संगठनले सन् २०२२ मा प्रकाशित एक अध्ययनले प्रत्येक वर्ष ३ हजार २२५ जनाको मृत्यु र ३७ हजार ६६१ वटासम्म सर्पदंशले (सर्पले डस्ने ) घटना हुने गरेको देखाएको छ ।

डा. शर्मा यसलाई ‘गम्भीर स्वास्थ्य चुनौती’ मान्छन् ।

‘स्नेक बाइट इपिडिमियोलोजी इन ह्युमन एन्ड डोमेस्टिक एनिमल अक्रस द तराई रिजन इन नेपाल : अ मल्टी क्लस्टर ‘‍र्यान्डम सर्भे’ मा तराईका २३ जिल्लामा १३ हजार ८७९ घरपरिवारमा बसोबास गर्ने ६३ हजार ४५४ जनालाई सहभागिता गराइएको थियो ।

सबैभन्दा बढी सर्पले खुट्टाको गोलीगाँठोमा ६२ प्रतिशत,  हात, नाडी र पाखुरामा ३९ प्रतिशत, घुँडामा ११ प्रतिशत र टाउको र घाँटीमा १ प्रतिशतलाई डस्ने गरेको छ । उक्त सर्भेले खेतबारीमा कृषिजन्य काम गर्ने ५८ प्रतिशतलाई सर्पले डस्ने गरेको देखाएको छ ।

विज्ञका अनुसार गमी मौसममा सर्प बढी बाहिर निस्कने हुँदा खेतबारीमा काम गर्दा सर्पको डसाइबाट कृषिजन्य काम गर्ने मानिस बढी प्रभावित हुने गरेका छन् । जसमध्ये एक हुन् – भक्तपुरमा अस्थायी बसोबास गर्दै आएकी धनमाया विश्वकर्मा ।

सर्पले डसेपछि अस्पतालमा उपचार गराउन आएकी भक्तपुर बस्दै आएकी धनमाया विश्वकर्मा ।

घाँसको भारी बोक्ने क्रममा कान्लामा समातेर उठ्दा उनलाई सर्पले डस्यो ।

‘खेती किसानी गर्ने हामी घाँस काट्नै प‍र्‍यो । डस्ने बित्तिकै हात भारी भयो । पोलिरहेको महसुस भयो र तुरुन्तै अस्पताल आएँ,’ धनमायाले भनिन् ।

सर्पदंशको जोखिममा रहेका नागरिकमध्ये अधिकांश गाउँघरमा बसोबास गर्ने किसान र आर्थिक रूपमा विपन्न वर्गका छन् । तर उनीहरूको समस्याप्रति नीति निर्माण तहमै पर्याप्त संवेदनशीलता नदेखिएको स्वास्थ्य विज्ञ बताउँछन् ।

डा. शर्माका अनुसार ग्रामीण भेगमा सर्पको जोखिम अत्यधिक छ । तर प्रभावकारी उपचार सुविधा छैन, त्यसको साथै राज्य पनि संवेदनशील छैन ।

‘सर्पदशंको समस्या गरिब जनतामा बढी हुन्छ । त्यही भएर होला, यसले पाउनुपर्ने महत्त्व पाएको छैन,’ डा. शर्माले भने, ‘गरिब, विपन्न वर्ग नीति निर्माताका अगाडि आफ्ना समस्या राख्न सक्दैनन् । सर्पदंशका कारण भोगिने पारिवारिक र आर्थिक पीडालाई नीतिगत तहले गम्भीर रूपमा लिएको देखिन्न ।’

घर र बाटोमै ८० प्रतिशतको मृत्यु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) का कसन्लटेन्ट फिजिसियन तथा सर्पदंश उपचार विज्ञ  डा. मिलन बज्राचार्यका अनुसार सर्पदंशसँग जोडिएका मृत्युका पछाडि समयमै अस्पतालमै नआइपुग्नु मुख्य कारण देखिन्छ ।

अहिले पनि झारफुकको पछि लाग्ने र निर्णय लिन ढिला गर्ने जस्ता कारणले गर्दा धेरै बिरामी अस्पतालसम्म आइपुग्न पाउँदैन् ।

उनी भन्छन्, ‘झन्डै ४० प्रतिशतको घरमै, ४० प्रतिशत अस्पताल ल्याउने क्रममा र २० प्रतिशत अस्पतालमा मृत्यु हुने गरेको छ ।’

त्यसमा पनि विषालु सर्पले डसेको बिरामीलाई आईसीयू, भेन्टिलेटर सहितको विशेषज्ञ सेवा आवश्यक छ । तर अधिंकाश सरकारी अस्पतालमा आईसीयू बेड नै पाउन मुस्किल हुन्छ । त्यसमाथि विषालु सर्पले डसेको उपचार गर्न एक लाखभन्दा बढी खर्च लाग्छ । गरिब, विपन्न परिवारले खर्च जुटाउँदै गर्दा घरमै मृत्यु भइसकेको हुन्छ ।

कस्ता सर्प विषालु

नेपालमा ९० प्रजातिका सर्प अभिलेख भएको पाइन्छ । जसमध्ये १७ प्रजातिका सर्प विषालु मानिन्छन् । नेपालमा करेत, कोब्रा र बाघे सर्प (रसेल्स भाइपर) बढी विषालु मानिन्छन् । यी ‘बिग थ्री’ भनेर चिनिने सर्पको डसाइले गम्भीर असर पार्छ र मृत्युको सम्भावना उच्च बनाउँछ ।

सर्पदंशबाट प्रभावित हुनेमा तराईका जिल्ला धेरै छन् । सरकारी निकायका अनुसार २६ जिल्ला अति प्रभावितभित्र पर्छन् । त्योमध्ये  २० वटा जिल्ला तराईका छन् भने चारवटा जिल्ला भित्री मधेश र पहाडमा पर्छन् ।

सर्पदंश विशेषज्ञ अनुसार सर्पले डस्नेबित्तिकै मानिस आत्तिने र डराउने धेरै हुन्छ । तर, सबै सर्पले डस्दैमा जोखिम हुँदैन । ८० प्रतिशत सर्प विष नलाग्ने हुन्छन् । २० प्रतिशत तल मात्र विषालु हुन्छन् र १० प्रतिशतलाई उपचार गर्नुपर्ने हुन्छ ।

सर्पले कसैलाई अकारण डस्दैन । जब ऊ आफूलाई खतरा महसुस गर्छ, तब मात्र डस्छ । त्यसैले सर्पदंशबाट बच्न प्राथमिक उपाय भनेकै मानिसले सचेत रहनुपर्ने कुरामा डा. शर्मा जोड दिन्छन् ।

‘सर्पले पहिला आक्रमण गर्दैन, न त उसले डेसेर अघाउँछु भनेर पनि आउँदैन,’ डा. शर्मा भन्छन्, ‘आफूलाई थ्रेटनिङ (खतरा) महसुस गर्छ, तब मात्र डिफेन्सिभ बाइट गर्छ । त्यसैले हामीले सुरक्षात्मक व्यवहार अपनाउनु आवश्यक छ ।’

उनका अनुसार नेपालमा दुई किसिमको सर्पदंश धेरै देखिन्छ  – रात र दिउँसोमा ।

सर्पले डसेपछि डोरीले कस्ने पुरानै अभ्यास अझै कायम छ, जसले शरीरको अंग नै काट्नुपर्ने अवस्था आउन सक्छ । सर्पले टोकेपछि शरीर नचलाउने, आत्तिन नदिने र तुरुन्त अस्पताल लैजाने विधि अझै प्रचार र अभ्यासमा ल्याउन सकिएको छैन ।

रातको समयमा करेतले डस्ने गर्छ । मानिस भुइँमा सुतेको अवस्थामा हात वा खुट्टा करेतसँग ठोक्किन पुग्दा डसाइ हुने गर्छ । त्यसैले राति झुल टाँगेर सुत्ने बानीले यस्तो दुर्घटना टार्न सकिन्छ ।

गोमन सर्पको डसाइ मुख्यतया दिउँसो हुन्छ । गोमन प्रायः दिनको समयमा काम गरिरहेकै बेला टोक्ने गर्छ । डा. बज्राचार्य भन्छन्, ‘त्यसैले घर वरपर सर्प लुकेर बस्न सक्ने स्थान सफा पार्नुपर्छ ।’

डा. मिलन बज्रचार्य ।

तर काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाको सन्दर्भ भने फरक छ । यहाँ देखिने सर्पदंशका अधिकांश केस हरियो पिट भाइपर (हरेउ) र माउन्टेन पिट भाइपर बाट हुन्छ ।

‘यी सर्पको विषले रगत पातलो बनाउँछ, तर ज्यान लिने खालको हुँदैन,’  डा. ब्रजाचार्य भन्छन्, ‘तर उपचारमा एन्टीस्नेक भेनम (प्रतिविष) ले काम गर्दैन । सपोर्टिभ उपचार मात्र गर्न सकिन्छ ।’

यसले शरीरका हातखुट्टामा सुनिने, फोका, र रगत जम्ने प्रणालीमा गडबडी ल्याउने गर्दछ । कहिलेकाहीँ त रगत नै चढाउनुपर्ने अवस्था आउँछ ।

हरियो पिट भाइपर डसाइले धेरैजसो मृत्यु नभएको भए पनि, दीर्घरोगी, मिर्गौला, दम वा पेटसम्बन्धी अल्सर भएका बिरामीमा गम्भीर असर देखिएको उनले बताए ।

‘यस्ता बिरामीमा जटिलता उत्पन्न भएर मृत्युका पनि केसहरू देखेका छौं,’ डा. ब्रजाचार्य भन्छन्, ‘त्यसैले यसको व्यवस्थापन अलि जटिल हुन्छ ।’

काठमाडौंमै देखिन थाले विषालु सर्पस्कुल र घरबाट रेस्क्यु

वर्षा लागेसँगै काठमाडौं उपत्याकामा पनि सर्पदंशका घटना बढेका छन् । आजभोलि टेकु अस्पतालमा दैनिक सरदर सातदेखि १० जना सर्पदंशका बिरामी आउने गरेका छन् । सन् २०२५ लागेयता ४५८ जना सर्पदशंका बिरामी अस्पताल आएको तथ्यांक छ ।

त्यस्तै प्रत्येक वर्ष सर्पदंशका केस पनि बढिरहेको तथ्यांकले देखाउँछ । सन् २०२२ मा २८३, सन् २०२३ मा ३०४ र सन् २०२४ मा ५७६ जना सर्पले डसेर टेकु पुगेका थिए ।

डा. ब्रजाचार्य विषालु सर्पको संख्यामा वृद्धि हुनुको कारणमध्ये जंगल फँडानी, शहरी बसोबास विस्तार, तराईबाट काठ र मुढाको ट्रान्सपोर्ट र जलवायु परिवर्तन रहेको औंल्याउँछन् ।

मानिसले सर्पको प्राकृतिक वासस्थानमा अतिक्रमण गर्दा यस्ता घटना बढ्दै गएको उनको विश्लेषण छ ।

सर्पले डसेपछिको घाउ ।

‘जताजतै विषालु सर्प छन्, तर हामीले जंगल फँडानी गरेर उनीहरुको वासस्थानमा घर बनाइरहेको छौं,’ डा. ब्रजाचार्य भन्छन्, ‘जसले गर्दा विषालु सर्पको डसाइ बढिरहेको छ ।’

डा. शर्माका अनुसार काठमाडौँ उपत्यकामा विगतमा पनि गोमन वा राजगोमन देखिएको इतिहास छ । ‘यस्ता विषालु सर्प जंगलमा बस्ने भएकाले भेटिन मुस्किल हुन्थ्यो,’ डा. शर्मा भन्छन्, ‘तर अहिले तराईबाट काठ र मुढाको ट्रान्सपोर्ट गर्दा भित्रिएकाले उपत्यकामा पनि विषालु सर्पको संख्या बढेको हुनसक्छ ।’

सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक,काठमाडौं उपत्यकाबाट पनि  विषालु सर्पदंशका बिरामीहरू आउने गरेको डा. ब्रजाचार्य सुनाउँछन् ।

जसको एक उदाहरण हो–  गत वर्ष सिन्धुपाल्चोकबाट कोब्रा सर्पको डसाइबाट एक बिरामी टेकु अस्पताल आइपुगेका थिए ।

‘ती बिरामीले आफूलाई डस्ने कोब्रा सर्प जिउँदै बोकेर अस्पताल ल्याएका थिए,’ त्यस दिनको घटना सुनाउँदै डा. ब्रजाचार्य भन्छन्, ‘बिरामीलाई आईसीयूमा राखेर एक दिन निगरानी गर्दा विष लागेको कुनै पनि लक्षण देखिएन । भोलिपल्ट उनलाई डिस्चार्ज गरियो ।’

पछि काठमाडौंका सर्प उद्धारकर्तालाई बोलाएर उक्त सर्पलाई नजिकैको जंगलमा छोडिएको थियो ।

सर्प उद्धारकर्ता सुवोध आचार्यका अनुसार केही वर्षयता काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रे जस्ता जिल्लामा गोमन, किङ कोब्रा जस्ता विषालु सर्प नियमित रूपमा फेला परिरहेका छन् ।

आँखाको लोती झर्नु, जिब्रो नचल्नु, घाँटी नउठ्नु जस्ता लक्षण देखिएपछि तुरुन्त अस्पताल जानु आवश्यक हुन्छ । तर धेरै अवस्थामा समयमै अस्पताल पुग्न नपाएकै कारण ८० प्रतिशतको मृत्यु घर र बाटोमै हुने गरेको छ ।

आचार्यले काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट उनले पछिल्लो तीन वर्षमा मात्रै ८० भन्दा बढी किङ कोब्रा उद्धार गरिसकेका छन् ।

किङ कोब्रा विश्वकै सबैभन्दा लामो र विषालु सर्प हो । यसले सर्प नै सिकार बनाउँछ  ।

उनका अनुसार काठमाडौंमा फेला पर्ने गोमन सर्प भने मोनोकोल्ड प्रजातिको हो, जुन कालो र खाल्डो आकारको हुन्छ । यस्ता सर्प काठमाडौंमै अनुकूल मौसम, तापक्रम तथा वासस्थान पाएपछि बसोबास गर्न थालेका हुन् । मोनोकोल्ड गोमन भन्ने सर्प तराई र पहाड दुवैमा पाइन्छ । तर तराईमा पाइने गोमन भनेको अर्को प्रजातिको हुन्छ । जसलाई स्पेक्टकल कोब्रा भन्छन्, जुन काठमाडौंमा देखिँदैन ।

‘अहिले दक्षिणकाली, काभ्रेस्थली, गोकर्ण, नागजुङमा किङ कोब्रा समेत देखिएको छ,’ उनी भन्छन्, ‘रेस्क्यु गरिएकामध्ये केही त स्कुल र घरभित्रै भेटिएका थिए ।’

काठमाडौं उपत्यकामा सर्पको टोकाइबाट अस्पताल पुग्ने घटनामध्ये सबैभन्दा बढी पिट भाइपर (हरियो र आँधो सर्प) का केस देखिन्छन् ।

‘यस्ता सर्पले टोक्दा ज्यान जाँदैन, तर उपचार नगरिए अंग कुहिने, छाला च्यातिने, हात खुट्टा झर्ने अवस्थासमेत आउन सक्छ,’ उनी भन्छन् ।

असार र साउनको मनसुन महिनामा सर्पको सक्रियता बढी हुने भएकाले खेतबारीमा घाँस काट्न जाँदा वा रातमा बाटो हिँड्दा सर्प देखिने सम्भावना धेरै हुने उनी बताउँछन् ।

कपडा वा डोरीले कसिलो बाँध्नु नै जोखिम

सर्पदंशसम्बन्धी जनचेतनाको अभाव अझै ठूलो चुनौतीका रूपमा देखिएको छ । सर्पहरूको बिगबिगी हुने समयमा पनि मानिस खाली खुट्टै खेतमा काम गरिराखेका हुन्छन् ।

सर्पले डसेपछि घरमै रोकथाम गर्ने प्रक्रिया पनि गलत छ । सर्पले टोकेको ठाउँभन्दा माथिल्लो भागलाई डोरी, कपडा वा रबरले कसिलो बाँध्नु जोखिमपूर्ण हुन्छ ।

डा. ब्रजचार्यका अनुसार विषालु सर्पले मासुमा विष छोड्ने भएकाले लिम्फ्याटिक प्रणालीमार्फत फैलन्छ । सर्पले डसेपछि मानिसले आँखा, स्नायु प्रणाली, रगत, मुटु र फोक्सोमा बढी असर गर्छ ।

‘कसिलो बाँध्दा विष फैलिन रोक्दैन, बरु रक्तसञ्चार बन्द गरेर अंग काट्नुपर्ने अवस्था ल्याउँछ,’ डा. ब्रजाचार्य भन्छन्, ‘जसमा टोकेको भाग चल्न नदिने र  जतिसक्दो चाँडो सर्पदंश उपचार केन्द्रमा लैजानुपर्छ ।’

झारफुक, आयुर्वेद वा परम्परागत उपचारका माध्यमबाट समय खेर जानु नै प्राणघातक हुनजान्छ ।

विषालु सर्पको पहिचान र लक्षण

विज्ञका विषालु सर्पले टोकेको भएता पनि सधैं पूर्ण रूपले विष नछोड्न सक्छ ।  नेपालमा पाइने विषालु सर्पहरूमध्ये करेटको डसाइ पहिचान गर्न कठिन हुने र समयमै उपचार नपाउँदा मृत्युको जोखिम बढी हुन्छ ।

किनकि करेटले टोकेको घाउ अत्यन्त सानो हुने र कहिलेकाहीँ डामसमेत नदेखिने हुँदा धेरैले यसलाई सामान्य किराले टोकेको ठानेर बेवास्ता गर्छन् ।

‘करेटले डसेको ठाउँमा कहिलेकहीँ सामान्य किराले टोकेको जस्तो सानो घाउ मात्र हुन्छ । जसले गर्दा बिरामीलाई टोकेको थाहै नहुन सक्छ,’ डा. ब्रजाचार्य भन्छन्, ‘सुरुमा वाकवाकी लाग्ने र उल्टी हुने जस्ता लक्षण देखिन सक्छन् । त्यसको केही समयपछि बिस्तारै आँखाका लोती झर्दै जान्छन् ।’

सर्पले डसेपछि सुनिएको अवस्थामा बिरामीको हात ।

यस्ता लक्षणबारे ढिलो थाहा पाउँदा र अस्पताल पुग्न ढिलाइ हुँदा करेटको टोकाइबाट हुने मृत्युदर बढी भएको उनको भनाइ छ । डा. ब्रजाचार्यका अनुसार, गोमन (कोब्रा) को डसाइमा प्रतिविष (एन्टी–भेनम) ले जति प्रभावकारी काम गर्छ । करेटको डसाइमा त्यति राम्रो काम नगर्ने हुँदा यसको उपचार पनि तुलनात्मक रूपमा जटिल र चुनौतीपूर्ण छ ।  विशेषगरी तराई क्षेत्रमा गम्भीर स्वास्थ्य चुनौती बनेको छ ।

सर्पदंशको मुख्य लक्षणहरूमा आँखाको लोती तल झर्नु, आँखाको ढकनी माथि उठाउन नसक्नु, बिरामीको होस कम हुनु, जिब्रो बाहिर निकाल्न नसक्नु र घाँटी उठाउन नसक्नु हो ।

सर्पदंशको घटनापछि सबैभन्दा पहिले आत्तिनु हुँदैन । आत्तिएपछि हातखुट्टा चलाइन्छ र झन् त्यो विष फैलिने सम्भावना बढ्छ ।

‘यस्तो अवस्थामा विष बिस्तारै माथिबाट तल फैलिँदै जान्छ । यसले प्यारालाइसिस गराउँछ जुन शरीरको माथिल्लो भागबाट सुरु भएर बिस्तारै तल फोक्सोसम्म पुग्छ,’ डा. ब्रजाचार्य भन्छन्, ‘त्यसैले जतिसक्दो चाँडो सर्पदंश केन्द्रमा लैजानुपर्छ ।’

तस्वीर र भिडियो : शंकर गिरी ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?