+
+
Shares

अहिले धेरैले किन आफ्ना कुरा सामाजिक सञ्जालमा पोस्ट गर्दैनन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गत वर्षको तुलनामा कम पोस्ट गर्न थालेका छन् र निजी सन्देशमार्फत सीमित समूहमा संवाद बढ्दै गएको छ।
  • विशेषगरी 'जेन-जी' पुस्तामा सामाजिक सञ्जालमा सार्वजनिक जीवन साझा गर्ने प्रवृत्ति घटेको छ र प्लेटफर्महरू अब दर्शक केन्द्रित बनेका छन्।
  • सामाजिक सञ्जाल कम्पनीहरूले विज्ञापनदातालाई मुख्य ग्राहक मान्दै एआईले बनाएको कन्टेन्ट बढाउँदै छन् र सामाजिक सञ्जाल टेलिभिजन जस्तो बन्ने खतरा देखिएको छ।

एक समय थियो, जब हामीले बिहानको नास्ता, साथीहरूसँगको घुमफिर वा आफ्ना भावना समेत सार्वजनिक रूपमा सामाजिक सञ्जालमा बाँड्थ्यौं । तर अहिले त्यो प्रवृत्ति क्रमशः हराउँदै गएको छ । मानिसहरू अब कम पोस्ट गर्छन्, कम सेयर गर्छन्, र अझ व्यक्तिगत रुपमा सीमित वृतभित्र सन्देश आदान–प्रदानमा रमाउन थालेका छन् ।

नयाँ अध्ययन र समाजशास्त्रीहरूको विश्लेषणले यस्तै देखाउँछ । हामी ‘पोस्टिङ जिरो’ भन्ने युगतर्फ अघि बढिरहेका छौं, जहाँ साझा गर्नुको सट्टा चुप लाग्ने प्रवृत्ति हाबी हुँदैछ । नयाँ सर्वेक्षणअनुसार करिब एक तिहाइ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गत वर्षको तुलनामा अहिले कम पोस्ट गर्न थालेका छन् ।

हिजो पोस्ट गर्ने माध्यम जस्तो देखिने प्लेटफर्महरू आज हेर्ने प्लेटफर्ममा रूपान्तरण भएका छन् । प्रयोगकर्ता सिर्जनाकर्ता होइन, अब दर्शक बन्दै गएका छन् । निजी जीवन अब सार्वजनिक रूपमा देखाउने भन्दा पनि निजी रूपमा बाँड्ने चाहना बढ्दो छ । यो प्रवृत्ति विशेषगरी ‘जेन-जी’ पुस्तामा बढी छ ।

न्यूयोर्क टाइम्स पत्रिकामा हालै प्रकाशित एउटा आलेखमा लेखक काइल चायकाले समाज अब ‘पोस्टिङ जिरो’तर्फ उन्मुख भएको संकेत गरेका छन् । ‘अहिले यस्तो अवस्था आयो । जहाँ सामान्य व्यक्तिहरूलाई आफ्नो जीवन अनलाइनमा साझा गर्नु मूल्यवान कुरा होइन जस्तो अनुभव भइरहेको छ, ’उनी भन्छन्, ‘मैले पनि आफ्नै सामाजिक सञ्जाल फिडमा यस्तो घट्दो प्रवृत्ति अनुभव गरिरहेकी छु ।’

पहिले सामाजिक सञ्जाल मेरो सामाजिक जीवनको अपूर्ण झल्कोजस्तो लाग्थ्यो – तर अहिले त्यो ‘कन्टेन्ट’ले भरिएको भित्ता जस्तो लाग्न थालेको छ, ‘उनी अघि भन्छन् । यसो हुनुमा प्लेटफर्महरू परिवर्तन हुनु पनि हो । टिकटक र इन्स्ट्राग्रामले ठाडो भिडियोलाई रिल्समार्फत हेर्ने सुविधा दिएका छन् । युवा जमात त्यतै केन्द्रित छ ।

जब सामाजिक सञ्जाल नै कम सामाजिकजस्तो हुन थालेको छ । त्यसो हुँदा हाम्रो डिजिटल जीवनमा के हुन्छ, त ? यसै सेरोफेरोमा रहेर बीबीसी संवाददात्ता क्याटी के र लेखक काइल चायकाबीच भएको संवादको सम्पादित अंश ।

क्याटी के  : म मेरो सामाजिक सञ्जाल हेर्छु, त्यहाँ भरिभराउ विज्ञापन र सुन्दर घरका तस्बिरहरू देखिन्छन् । तर साथीहरूको पोस्ट अन्तिम पटक कहिले देखेँ याद नै भएन । अहिले पहिलेको जस्तो हरेक व्यक्तिगत कुराको पोस्ट भएको देखिँदैन । त्यसले यस्ता प्लेटफर्महरूको भविष्यका लागि के अर्थ राख्छ ?

काइल चायका  : मलाई लाग्छ, सामाजिक सञ्जाल अब पहिले जस्तो ‘सामाजिक’ रहेन । अहिले यो बढी उपभोगमूलक, अत्यधिक व्यवसायीकृत कन्टेन्ट हेर्ने माध्यम भएको छ । यो अब जीवनशैली देखाउने र त्यसको चाहना जगाउने विषयमा केन्द्रित छ । न कि तपाईं वरिपरि के हुँदैछ ? तपाईंको साथीभाइ र परिवारसँग तपाईंको सम्बन्ध कस्तो छ ?  मेरो विचारमा यही कारणले सामाजिक सञ्जालको वास्तविक उद्देश्य हराउँदै गएको छ ।

यदि यी प्लेटफर्महरूमा मानिसहरूको सामान्य जीवनसँग जोडिएका विषय खासै सेयर हुँदैनन् । सामान्य प्रयोगकर्ताले पोस्ट गर्न खासै चाहँदैनन् भने सामाजिक सञ्जाल अन्ततः टेलिभिजन जस्तै बन्न पुग्छ ।

अनि हामीकहाँ बाँकी के रहन्छ भने-ब्रान्डको विज्ञापन, फास्ट फेशन, महँगो घरहरू, होटलका प्रचार । जुन पहिलाको जस्तो स्वाभाविक, विविध र जीवन्त कन्टेन्ट होइन ।

क्याटी के : यी सामाजिक सञ्जाल कम्पनीहरूका अगुवाले मानिसलाई तान्न जटिल एल्गोरिदम (कम्प्युटरमा अल्गोरिदम भनेको कुनै काम कसरी गर्ने भन्ने निर्देशहरूको सेट हो, जुन कम्प्युटरले पालना गर्छ। बनाएका छन् ) उनीहरूको यसप्रति प्रतिक्रिया के छ ?

काइल चायका : मलाई लाग्छ, तिनीहरूको मुख्य ग्राहक त विज्ञापनदाताहरू नै हुन् । जबसम्म हामी प्रयोगकर्ताहरू जस्तोसुकै रूपमा भए पनि इन्गेज भइराखेका छौँ, तबसम्म तिनीहरूको व्यापार मोडल चलिरहन्छ ।

मलाई लाग्छ, उनीहरूले अब मानिसले बनाएको कन्टेन्टलाई क्रमशः एआईले बनाएको कन्टेन्टले प्रतिस्थापन गर्छ भनी दाउ लगाइरहेका छन् । तपाईंले देख्न सक्नुहुन्छ -(फेसबुक÷इन्स्टाग्रामको कम्पनी)ले पहिलेभन्दा अझ बढी कम्प्युटरले बनाएको कन्टेन्टतर्फ फिडहरू धकेलिरहेको छ ।

यस्तो कन्टेन्ट अनन्त, सस्तो त हो । तर मेरो नजरमा यसमा खासै कुनै अर्थ हुँदैन ।

क्याटी के : सामाजिक सञ्जालमा साथीहरू कहाँ घुम्न गएका छन् वा बिहान नास्तामा के खाएका छन् भनेर हेर्नेको संख्यामा उल्लेखनीय गिरावट आउनसक्छ ?

काइल चायका : मलाई लाग्छ ढिलो तर निश्चित रूपमा यो क्रम घट्दैछ । मैले हालैको एउटा अध्ययन पढेको थिएँ जसमा पहिला सक्रिय रहनेहरू टिकटकमा कमै पोस्ट गरिरहेका छन् ।

अहिले हाम्रो व्यक्तिगत आदन-प्रदान सिधै मेसेजमार्फत हुन थालेको छ ।  हामीलाई वास्तवमै एउटा अनलाइन सामाजिक सञ्जाल चाहिन्छ । तर अहिले भएका सामाजिक सञ्जालहरूले त्यो भूमिका खेल्न चाहँदैनन्।

त्यो आवश्यकतालाई पूरा गर्न नयाँ एपहरू आउन सक्छन् । सायद ह्वाटस् एपको विस्तार गरिएको संस्करण वा तपाईंका सबै साथीहरूको ग्रुप च्याटहरू राम्रोसँग व्यवस्थापन गर्ने प्रणाली जस्तो । मलाई लाग्छ हामी अहिले अनलाइनमा अझ गोप्य र आत्मीय किसिमले जोडिनेतिर गइरहेका छौं ।

क्याटी के : आजकालका बच्चाहरूलाई गोपनीयताको मतलब छैन र उनीहरू जुनसुकै कुरा अनलाइन राख्न तयार छन् भन्ने हाम्रो पुस्तामा एउटा धारणा थियो । तर अब मलाई लाग्दैछ हामी गलत थियौं । उनीहरूले त्यो सार्वजनिक संसारको स्वाद चाखे र अहिले भन्छन्, ‘सिंगो संसारलाई बिहान के खाएँ भनेर भन्नुको साटो मलाई मेरा ग्रुपहरू अझ आत्मीय र सीमित रहुन् भन्ने चाहिन्छ ।’

काइल चायका : मलाई लाग्छ, हामीले २०१० को दशकमा अनलाइनमा आफ्नो निजी जीवन सार्वजनिक रूपमा प्रसारण गर्दा के–कस्ता नराम्रा नतिजा आउँछन् भन्ने कुरा सिक्यौं । सार्वजनिक लज्जित कसरी भइन्छ ? भन्ने थाहा पायौँ । भाइरल रूपमा हुने अपमानजनक घटनाहरूमा देख्न सकिन्थ्यो ।

मलाई लाग्छ सामाजिक सञ्जालको सामाजिक कन्ट्रयाक फेरिएको छ । सुरुमा तपाईंले केही पोस्ट गर्नुभयो भने ठूलो दर्शक वर्ग पाउने कन्ट्रयाक थियो । यदि पछि पूरै जीवन त्यही बनिदिन्छ । त्यसैले, जबसम्म तपाईं प्रभावशाली ( बन्न खोज्दै हुनुहुन्न वा इन्टरनेटमै पेशागत रूपमा पोस्ट गर्ने होइन भने अब त्यो सम्झौता खासै आकर्षक देखिँदैन ।

पोस्ट गर्दा हुने फाइदा भन्दा नोक्सान धेरै छन् । त्यसैले सिधै आफ्ना साथीहरूलाई मेसेज गर्नु नै राम्रो ।

क्याटी के : तपाईंले देख्नु भएको ‘पोस्टिङ जिरो’ साँच्चिकै ठूलो लहर बन्दै गएको हो भने के यसले युवापुस्तामा फोन र उपकरणहरूको लत तोड्न सजिलो बनाउँछ जस्तो लाग्छ ?

काइल चायका : राम्रो प्रश्न हो । मलाई लाग्छ हामीले सामाजिक सञ्जालको शिखर पार गरिसकेका छौं । तर त्यसले २४ घण्टा चल्ने डिजिटल कुराकानी हटाउँदैन । त्यो कुराकानी अब सार्वजनिक प्लेटफर्महरूबाट हटेर ग्रुप च्याटहरू, डायरेक्ट मेसेज र स्न्याप च्याट जस्ता क्षणिक माध्यमहरूमा सर्दैछ ।

फोनको लत लगाउने क्षमता अझै पनि छ । ध्यान भंग गराउने क्षमता पनि उस्तै छ । मलाई लाग्छ सार्वजनिक ठाउँबाट हटेकाले थोरै राम्रो भएको छ । किनकि अब हामी पूरै संसारमा एकाएक भाइरल भएर बेइज्जत हुने जोखिमबाट केही हदसम्म टाढा भएका छौं । तर हामी अझै पनि सारा दिन एक-अर्कालाई मेसेज गरिरहेकै छौं । हामी अझै पनि मीमहरू हेर्दैछौं । अझै पनि फिडहरूले ध्यान तानिरहेकै छन् ।

क्याटी के : पाँच वर्षपछि हामी हाम्रा फोनहरूमा के हेर्दै हुनेछौं ? सामाजिक सञ्जालको पक्षसँग हाम्रो अन्तरक्रिया कति फरक हुनेछ ?

काइल चायका : मलाई लाग्छ त्यो झनै टेलिभिजन जस्तो हुनेछ । अहिलेको प्रवृत्ति हेर्दा, सबै कुराहरू धेरै व्यावसायिक बन्दै गएका छन् । धेरैजसो सामग्री हामी हेरेर बस्ने दर्शक बन्दैछौं । अहिले नै युटयुब, टिकटक र नेटफिल्क्स सबै मिलेर अडियो, भिडियो, अनि एल्गोरिद्मिक फिडहरूको एउटा विचित्र संयोजन जस्तो बनिरहेका छन् ।

मेरो अनुमानले के भन्छ भने सामाजिक कुराकानी अब मेसेजहरूमा सीमित हुनेछ, वा अझ धेरै वास्तविक जीवनमै सर्नेछ । मलाई लाग्छ सामाजिक सञ्जालको शिखरपछि हामी फेरि प्रत्यक्ष भेटघाटतर्फ फर्कन चाहिरहेका छौं । यसले हामीलाई वास्तविक जीवनको साझेदारीको महत्व सम्झाइरहेको छ । त्यसले मलाई थोरै आशावादी बनाएको छ ।

क्याटी के : के तपाईंलाई लाग्छ हामी ‘पोस्टिङ जिरो’ संसारमा पुग्नेछौं । जहाँ तपाईं र मजस्ता मानिसहरूले पनि अब पोस्ट गर्ने बानी नै छाड्नेछौं ?

कायल चायका : हो । र त्यो अपेक्षा गरिएभन्दा चाँडै आउँदैछ । किनभने अहिले पोस्ट गर्नका लागि कुनै प्रेरणा छैन । सेल्फी वा नास्ता खाइरहेका कुरामा अरुलाई चासो छैन भने किन पोस्ट गर्ने ?

सायद सामाजिक सञ्जाल एउटा अपवाद थियो, वा भुलभुलैया । सबैले आफ्नो निजी जीवन सार्वजनिक रूपमा बाँड्नु पर्छ भन्ने सोच सुरु देखि नै त्रुटिपूर्ण थियो । र अहिले हामी बिस्तारै त्यसबाट ब्यूझिएका छौं । त्यसले ल्याएको क्षति देख्दै र हाम्रा बानीहरू परिवर्तन गर्दै अघि बढिरहेका छौं ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?