
News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेला जारी छ, जसमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको घुसकाण्डपछि गरिएको अनुशासन कारबाही अनुमोदन गरिने छ।
- रञ्जिता श्रेष्ठ चौधरीले स्पष्टीकरण नदिएपछि अनुशासन समितिले उनलाई अध्यक्ष पदबाट हटाएको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ।
- रञ्जिताले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन्, तर पार्टीभित्रै विरोध भएपछि विवाद उत्पन्न भएको छ।
१४ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेला मध्य बानेश्वरमा जारी छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि राष्ट्रिय भेला बोलाइएको हो । भेलामा रञ्जिता भने उपस्थित छैनिन् ।
रञ्जितलाई अनुशासन समितिले गरेको कारबाहीलाई राष्ट्रिय भेलाबाट अनुमोदन गराउने तयारी छ ।
राष्ट्रिय भेलामा रञ्जितालाई गरिएको अनुशासनको कारबाही र पदीय जिम्मेवारी तोक्ने लगायत एजेण्डा छन् । बैठकमा केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद लगायत सहभागी छन् ।
घुसकाण्डमा मुछिएपछि रञ्जिताले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । तर त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो ।
रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले निर्वाचन आयोगलाई दिएको छ । रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो ।
अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने एक नेताले जानकारी दिए ।
डगौरा संयोजकत्वको नाउपा अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन् ।
प्रतिक्रिया 4