
News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिए।
- मन्त्री दाहालले सो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान र पर्यटकीय क्षेत्र विकासमा सहयोग गर्ने बताए।
- सडक विभागका महानिर्देशक डा विजय जैसीले कुनै पनि ढिलासुस्ती नहोस् भनी निर्माणमा तदारुकता दिने प्रतिबद्धता व्यक्त गरे।
१५ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् ।
बिहीबार सो सडकको निरीक्षण पछि उनले काठमाडौँ जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट-चित्लाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताए ।
यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।
निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न आग्रह गरे ।
मन्त्री दाहालले विकासका संरचनाले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने धारणा राख्दै यो सडकसमेत आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौँबासीका लागि मात्र नभई पूर्वी नेपालसहित बाग्मती, मधेस र लुम्बिनीसँगको सम्पर्कका लागि पनि यो सडक महत्त्वपूर्ण रहेको बताए ।
यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक बिना अवरोध शीघ्र सम्पन्न गराउन आवश्यक रहेकामा उनले जोड दिए ।
सडक विभागका महानिर्देशक डा विजय जैसीले कुनै पनि ढिलासुस्ती हुन नदिई निर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गरे ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्काका लागि काम अघि बढिसकेको छ ।
अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडा, वुद्धिजिवी संगठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलियालगायत सहभागी थिए ।
सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि दुई प्याकेजमा ठेक्का लागि काम भइरहेको छ । यो सडक आठ दशमलव पाँच किमी काठमाडौँतर्फ पर्दछ ।
प्रतिक्रिया 4