
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली मौलिकता र परम्परामा आधारित फिल्म ‘रत्यौली’ निर्माण हुन लागेको छ।
- मुस्कान ढकालले सांस्कृतिक र पारिवारिक कथामा आधारित फिल्म निर्देशन गर्न लागेका छन्।
- फिल्मको छायांकन तिहारपछि सुरु हुने र कलाकार छनोट तथा प्राविधिक तयारी अघि बढिरहेको छ।
काठमाडौं । नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’ निर्माण हुने भएको छ । विवाह संस्कारको विशेष पक्षको रुपमा रहेको लोकगायन ‘रत्यौली’ संस्कृतिबाट प्रेरित भई फिल्मको नामाकरण गरिएको हो ।
रञ्जन रन्जन रिजालको प्रस्तुति रहने यो फिल्मबाट उनी निर्माणमा अघि बढ्न लागेका हुन् । २०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौं भिडियोमा अभिनय गरेका छन् ।
‘नाइँ नभन्नु ल ३’ र ‘समर लभ’जस्ता सफल फिल्म निर्देशन गरेका मुस्कान ढकालले यस फिल्मलाई निर्देशन गर्दैछन् । ढकालले यसपटक सांस्कृतिक र पारिवारिक कथामा आधारित फिल्म निर्देशन गर्न लागेका हुन् ।
ढकाल ६ वर्षपछि फिल्म निर्देशनमा फर्किन लागेका हुन् । उनको पछिल्लो निर्देशकीय फिल्म समरलभ सन् २०१९ फेब्रुअरीमा रिलिज भएको थियो ।
नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई नोयन्द्र धिताल, विजयकुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण गर्न लागिएको हो । छायांकन तिहार लगत्तै सुरु हुनेछ ।
कलाकार छनोट र प्राविधिक तयारी अघि बढिरहेको निर्माण टिमले जनाएको छ । प्रस्तुतकर्ता रन्जन रिजाल भन्छन्, ‘नेपाली दर्शकले मौलिक परिवेश, भाषा र मौलिक कथावस्तुमा बनेका सिनेमा बढी रुचाउँछन् । त्यसैले हामीले पनि दर्शकको चाहना अनुसार सिनेमाको विषयवस्तु र प्रस्तुति तयार गर्न थालेका हौं ।’
निर्देशक ढकालका अनुसार अहिले छायांकन लोकेसन र कलाकार फाइनल गर्ने कार्य सुरु भएको छ ।
प्रतिक्रिया 4