+
+
Shares

बझाङ जति सुन्दर छ, त्यति नै सुन्दर यहाँका मान्छेको भावना

हेर्दै आँङ सिरिङ हुने भीर, डरलाग्दा खोंच र चट्टानी बाटो पार गर्दै पार्थी क्षेत्रमा उक्लियौँ । चारैतिर हिमाल नै हिमाल । भुइँभरी फूलै फूलको तन्ना, साँच्चै त्यो बेला लाग्थ्यो, म स्वर्गको कुनै कुनामा विचरण गरिरहेको छु ।

दुर्गाप्रशाद भट्ट दुर्गाप्रशाद भट्ट
२०८२ साउन १७ गते १३:३०

ओहो ! एक वर्ष पनि कति छिटो सकिएको ? गत वर्ष असार अन्तिम तिर जिम्मेवारी बहनको सिलिसलामा बझाङ पुगेको हिजोजस्तै लाग्छ । खै किन हो ? त्यो बेला बझाङ जानु पर्दा सुरुमा मेरा खुट्टा गह्रुगां भएका थिए । मन भारी भएको थियो ।

उसो त सुदूरपश्चिम म जन्मेहुर्केको ठाउँ हो । यस क्षेत्रमा जागिरे भएर धेरै कम समय बिताएको छु । तर पनि एक्कासी बझाङ सरुवा मेरो मनले स्वीकार्न सकेको थिएन । बझाङ मलाई थोरै अपायक हुन्छ भनेर संगठन प्रमुखमा जाहेर गरे पनि ‘अहिले जाऊ पछि हेरौँला’ भन्ने आदेश भए पछि ‘हवस् हजुर भन्दै मन नलागी नलागी चैनपुरतर्फ लागेको थिएँ

एक वर्ष पुग्यो । अब छिट्टै बझाङ छोड्नु पर्नेछ । अहिले मेरो मनोदशा ठिक उल्टो चलिरहेको छ । यहाँबाट जाने दिन नजिकिंदै गर्दा मन हतास छ । पिरोलिएको छ । यहाँको भू–धरातल, संस्कृति, प्रकृति र जनजीवनमा भिज्दै गएपछि मलाई लाग्न थालेको छ-बझाङ नआएको भए मैले जीवनमा धेरै कुरा छुटाउने रहेछु ।

बझाङको सौर्न्दय र बझाङीको मायामा यसरी रमाएँछु कि, पूरा वर्ष बितेको पत्तै भएन । जिम्मेवारीले नथिचेको कहाँ हो र ? हावा लाग्दा पनि अवरुद्ध हुने यहाँको जयपृथ्वी राजमार्ग । कमजोर भौगोलिक बनावटका कारण पटक-पटक आउने बाढी र पहिरो । प्रायः भइरहने आगलागीका घटना र अन्य जिम्मेवारीसँगै सुरक्षा ड्यूटी ।

‘नदुखेको कपाल पनि दुख्छ फौजमा कहिलेकाहीँ । यहाँको सुन्दरताले हरेक चुनौतीहरूलाई ओझेलमा पार्‍यो ।

दिनभरको तनाव थकान मेट्न सेतीको कलकल नै काफी छ यहाँ । खै के जादु छ ? थाहा छैन । थकित ज्यान लिएर जब म नौरा ब्यारेकको डिलमा पुग्छु । साइपालबाट आउने चिसो हावा अनि गोलाई र देवल जिउलोको बीचमा बगिरहेको सेतीको संगीतमय सुसाइले एकै पटक मलाई भेट्न आइपुग्छन् । त्यस क्षण मेरा थकान र तनाव छिनमै
हराइ जान्छन् । मन र शरिर चंगा भैहाल्छ ।

प्रहरीको जागिर, परिआउँदा २४ सै घण्टा जागै हुनुपर्छ । वास्तवमा बझाङमा पनि त्यस्तै भयो । जयपृथ्वी नगरपालिकाको कैलाश र पिखेतको जङ्गलमा आगलागी हुँदा हामी १० मिनेट मात्र ढिला भएको भए पूरै गाउँ ध्वस्त हुने थियो ।

सात वटा छोरी जन्माएर छोराको आशामा आठौ गर्भका बेला रगत नपाएर तड्पिरहेकी सुत्केरीलाई रगत दिई ज्यान बचाएका बेला उहाँले रुदै फोन गरेर धन्यवाद दिएको कुराले अहिले पनि भावुक बनाउँछ ।

डरलाग्दा खोंच र चट्टानी बाटो पार गर्दै पार्थी क्षेत्रमा उक्लियौँ । चारैतिर हिमाल नै हिमाल । भुइँभरी फुलै फुलको तन्ना, साँच्चै त्यो बेला लाग्थ्यो, म स्वर्गको कुनै कुनामा विचरण गरिरहेको छु

अविरल वर्षापछिको पहिरोले अवरुद्ध भएको बाटो दिनभर लगाएर खुलाएपछि रोकिएका सयौं यात्रुको थकित अनुहारमा देखिएको खुसीका सम्झनाहरू मनभरी छन् ।

खाली समय स्कुल तथा कलेजहरूमा विपद् अनुशिक्षण कक्षाहरू चलाउदै गर्दा विद्यार्थी र शिक्षकसँग अनुभव साट्ने अवसर मिल्यो । नौलो विषयमा जान्न इच्छुक विद्यार्थीका मायालु अनि जिज्ञासु चेहराहरू मेरो बझाङ बसाइका सुन्दर सम्झनाहरू हुन् ।

कार्यक्षेत्रमा खटिदा त्यँहाको भुगोल अनि स्थानीयलाई चिन्नु, बुझ्नु अनि सहकार्य गर्नु मेरो मौलिक स्वभाव हो । यस अर्थमा म ब्यारेकमा कम अनि फिल्डमा बढी खटिन रुचाउने सिपाही हुँ । कामको सिलसिलामा बझाङका १२ वटै स्थानीय तहको भ्रमण गर्ने मौका मिल्यो । त्यहाँका सुन्दर दृष्य र आत्मीय भावनाका धनी स्थानीयहरूले गरेको आतिथ्यताको मिठो छाप अमीट छ ।

यस दौरान गरिएका केही भम्रणहरू चर्चा गर्न लायक छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइकेल सर, जिल्ला वन कार्यालयका प्रमुख शम्भु तिवारी सहितको त्यो भम्रणका दौरान बडीमालिका क्षेत्रका मनोहर सुन्दर दृष्यहरू मस्तिष्कको हार्डडिस्कमा ‘लाइफ टाइम मेमोरी’का रुपमा सुरक्षित छन् ।

कार्तिक तिर वर्षा कम भएपछि हाम्रो गुल्मको वार्षिक उत्सव भव्यताका साथ मनाउने अवसर मिल्यो । बैद्यनाथ बाहिनी अत्तरियाबाट पाल्नु भएका एसएसपी उद्धव कुमार न्यौपाने, प्रमुख जिल्ला अधिकारी, जिल्लाका पालिका प्रमुख, स्थानीय भद्रभलाद्मी र सकल दर्जाले भरिएको स्टेजमा राष्ट्रिय धुनमा कम्मर मर्काई मर्काई नाचेका पलहरू कम्ता रमाइला छैनन् ।

दशै तिहारको माहोल । बझाङमा मेला पर्वको ओईरो । हप्ता भरी चल्ने यी मेलाहरूमा सुरक्षा सतर्कता । जिल्लामा आए देखी कतै पनि अप्रिय घटना सामना गर्नु परेन । मैले यसलाई सुर्मा देवीको कृपा ठानें ।

सुर्माको मुख्य थलो सुर्मा सरोवरमा गएर देवीलाई धन्यवाद दिनु पर्छ भन्ने मनले पटक-पटक भनिरह्यो । ‘तर कसरी पुग्ने त्यहाँ ? सुर्मा क्षेत्रका मान्छे भेट्दा मेरो पहिलो जिज्ञासा यही हुन्थ्यो । ‘ठाउँ त निकै नै रमाइलो छ । तर त्यहाँ पुग्न बाटो निकै कठिन छ सर’ प्रायले यस्तै भन्थे । मेरो मन खिस्रिक्क हुन्थ्यो । तर अठोट थियो-जति सुकै गाह्रो भए एक पटक पुग्नैपर्छ ।

आखिर त्यो सपना पनि साकार भयो । भर्खरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले सुर्मा जाने तयारी गरौं भन्दा मेरो हर्षको सीमा भएन । २०८२ साल जेष्ठ ३ गते कैलाश सरको नेतृत्वमा करिव २० जनाको टोली सुर्मा सरोवरको यात्रामा निस्कियौं । यार्चा संकलनको समयमा त्यहाँ हुने गतिविधि अनुगमन गर्ने हाम्रो उद्देश्य थियो ।

हेर्दै आँङ सिरिङ हुने भीर, डरलाग्दा खोंच र चट्टानी बाटो पार गर्दै पार्थी क्षेत्रमा उक्लियौँ । चारैतिर हिमाल नै हिमाल । भुइँभरी फूलै फूलको तन्ना, साँच्चै त्यो बेला लाग्थ्यो, म स्वर्गको कुनै कुनामा विचरण गरिरहेको छु ।

चाँदेशिखर हिमालको नजिकै हिउँ नै हिउँले ढाकिएको खतरनाक बाटो देखेर हाम्रो टोलीको होस उडेको थियो । भोकै, हिउँपानी पिउँदै, देउती भञ्जाङको मान्छे नै उडाउला जस्तो हिमाली हुरी छिचोल्दै ढटेली पुग्दा हामीले एउटा जोखिमपूर्ण यात्रा सम्पन्न गरेको खुसीयाली मनायौं । हिमालको यात्रा गर्दा मनमा हिमाल आरोहीहरूप्रति साँचो सम्मान जागेर आयो । जे होस कठिनाइका बीच हाम्रो यात्रा जीवनभरको लागि मिठो सम्झना बन्यो ।

बझाङ बसाइका दौरान जुरेको अर्को अवसर हो खप्तड यात्रा । बझाङका पूर्वप्रमुख जिल्ला अधिकारी तथा साहित्यकार विश्वमित्र कुइँकेल सर कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको जिल्ला स्तरीय कार्यक्रम लिएर अछाम पुग्न भएको रहेछ । त्यसको भोलिपल्ट उहाँको कार्यक्रम बाजुरा र त्यसपछि बझाङमा थियो । बाजुराको कार्यक्रमपछि साँझ मकहाँ बस्ने गरी निमन्त्रणा गरेँ । भोलिपल्ट कुइँकेल सरको टोली थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रोकाया सरको निम्तामा गंगा दशहरा पर्वमा थलाराको बाटो हुँदै खप्तड जाने कुरा भयो ।

सुन्दर हरियाली, जंगल भरी पाकेका काफल र त्रिखुला (चुत्रो) खाँदै, रमाउँदै हिड्यौँ । खासै चल्तीमा नरहेको भएपनि यो बाटो खप्तड पुग्न एकदम सजिलो अनि छोटो रहेछ । करिब ४ घण्टाको हिँडाइपछि सुन्दर अनि मनोरम मैदानी ठाँउमा माइथानको भव्य मन्दिर रहेको छ । मन्दिर पुग्दा दिउँसोको १२ बजेको हुनुपर्छ । पेटमा मुसा दगुर्न थालेका थिए । हामीसँग खानेकुरा केही थिएन । थलारा गाउँपालिकाका अध्यक्षज्यूको बन्दोवस्ती राम्रै रहेछ । हामीलाई तातो तरकारी, रोटी, दही अघाउने गरी खुवाएको त्यो क्षण सम्झिँदा घरमा आमाको हातले खुवाएको याद आयो ।

त्यसपछि लगातार बाटोमा पर्ने गोठमा दही, मोही खाँदै रमाउदै ३/४ घण्टाको हिँडाइपछि हामीलाई खप्तड पुयौँ । बाटोमा पर्ने विशाल अनि रमणीय पाटनहरू नियाल्दै खप्तड स्वामीको कुटी, बाबा धाम दर्शन गरेर त्रिवेणीतर्फ लाग्यौँ ।

हामी त्रिवेणी धाममा पुग्दासम्म मान्छेको चहलपहल बढिसकेको रहेछ। हरिया पाटनमा मिठाई र जलेवीका पसलमा मान्छेको घुइँचो थियो। त्यहाँको रौनक हेर्नलायक थियो । त्यसदिन नेपाली सेनाको व्यारेकमा रात काट्यौँ । भोलिपल्ट बिहानै त्रिवेणीमा नुहाएर खप्तडछान्नाको दारुगाउँको बाटो हुँदै चैनपुर पुग्यौं । खप्तड यात्राले मेरो बझाङ स्मृतिको खातामा एउटा सुन्दर अध्याय थपिदियो ।

बझाङको बसाई सकिनै लाग्दा मनमा एउटा कुरा खडकिरहेको थियो । सीमा अनुगमन अर्थात साइपाल सम्मको यात्रा । अहिले सशस्त्र प्रहरी बलको मुख्य काम विपद् र सीमामा केन्द्रित भएकाले पनि एक पल्ट उरै भञ्ज्याङमा रहेको चीन नेपाल सीमासम्म पुग्नुपर्छ भन्ने सोचेको थिएँ ।

अन्ततः २०८२ जेष्ठ ०६ गते त्यो मौका पनि जुरीहाल्यो । प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी, नेपाली सेनाका मेजर रमेश बानियाँसहित हाम्रो टोली उरै भञ्ज्याङको यात्राका लागि अगाडि बढ्यो । चैनपुरबाट करिब दुई घण्टा गाडीको यात्रा गरी तलकोटको कुवा पुग्यौं । त्यहाँ खाना खाइयो ।

त्यो ठाउँबाट लगातार चार दिनको हिँडाइपछि मात्रै उरै भञ्ज्याङ पुगिनेरहेछ ।

प्रमुख जिल्ला अधिकारी सहित उत्तरी सीमासम्म पुग्ने हाम्रो टोली पहिलो रहेछ । करिब आठ दिनसम्म लगातारको हिँडाइले यो यात्रा सम्पन्न भएको थियो

पहिलो रात धलौन बसेर भोलिपल्ट बिहान साइपाल गाउँपालिकाका प्रमुख मानवीर बोहरा, उपप्रमुख डोल्मा तामाङ्गको आथित्यतासहित काँडा पुगियो । उहाँहरूले गरेको मिठो स्वागत, मिठो खाना अनि सुन्दर काँडा सधै सम्झनामा रहिरहने छ । त्यसपछि धुली बास बसियो । धुलीबाट इमल्दार हुँदै नयाँ भन्ने ठाँउमा बास बसियो । चौथो दिन थाकेर हैरान हुँदै साँझ ६ बजे उरै भञ्ज्याङको आधार लाइन कांलङ्गा पुग्दा ठूलै युद्ध जितेको भान भयो ।

भोलिपल्ट बिहान ३ बजे उठेर समुद्री सतहदेखि ५२०० मिटर उचाइको उरै भञ्ज्याङतर्फ सोझिँदा धेरैको मनमा लेक लाग्ने डर थियो । भञ्ज्याङ हिउँले ढाकेर सेताम्य भएको थियो । करिब एक घण्टा पिल्लर नं. २ सँगै रहेर फोटो खिचाएपछि टोली कांलङ्गा पुग्यो । प्रमुख जिल्ला अधिकारी सहित उत्तरी सीमासम्म पुग्ने हाम्रो टोली पहिलो रहेछ । करिब आठ दिनसम्म लगातारको हिँडाइले यो यात्रा सम्पन्न भएको थियो ।

यात्रा अवधिमा पाएको त्यो न्यानो माया र आथित्यका लागि सम्पूर्ण साइपालबासीप्रति आभारी छु । धुलीमा पेमा दिदीहरूले रुँदै गरेको बिदाइ सम्झिँदा म अझै पनि भावुक हुन्छु । साँच्चै, बझाङ जति सुन्दर छ । त्यो भन्दा सुन्दर यहाँका मानिसहरूको भावना रहेछ ।

मनकारी बझाङीलाई प्रकृतिले पनि धेरै कुरा दिएको छ जस्तो लाग्छ । बझाङ आफैँमा विशाल छ, सेती नदीका किनारमा सुन्दर, समतल खेतीयोग्य फाँट रेगम ज्युलो, जुझि ज्युलोदेखि लिएर उच्च साईपाल हिमाल, उरै भञ्याङ, भुस्वर्ग खप्तड, सुर्मा सरोबर, विशाल अनि सुन्दर पाटन । यहाँका अमूल्य जडीबुटीको भण्डार । वास्तवमा बझाङ प्रकृतिको वरदान नै रहेछ । जलस्रोतको धनी यो जिल्ला हाइड्रोको हब हुँदैछ ।

बझाङको बसाइले धेरै कुरा सिकाएको छ । बझाङीमाझ एउटा देउडा चर्चित छ ‘क्या राम्रो शिलदेवी थान चैनपुरका बजार, साई सम्झेल्ली एकै चोटी म दिनको हजार’। गीतले भने जस्तै बझाङले कतिपटक सम्झिएला भन्न सक्दिन तर मेरो मनले यहाँको बसाइ हजार पटक सम्झिनेछ।

(लेखक भट्ट ससस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षक पदमा कार्यरत छन्)

सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?