+
+
Shares

मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १६:३२

१८ साउन, काठमाडौं । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनीस्थित ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो ।

तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दुर्घटनामा परेका ५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा गोरखाको शहीद लखन गाउँपालिका–६ की ४० वर्षीया सुनु थापा, ४३ वर्षीया सिता थापा, २८ वर्षीया मिना थापा र गोरखा नगरपालिका–९ का ५४ वर्षीय सुनबहादुर गुरुङ रहेका छन् । दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–१ की ७ वर्षीया खुशी रामदाम पनि घाइते भएकी छन् ।

घाइतेमध्ये सुनु थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आँबुखैरेनी अस्पतालमा समान्य उपचार पश्चात उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ । अन्यको अवस्था भने सामान्य रहेको र आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रहरी निरीक्षक अधिकारीले अनलाइनखबरसँग भने, ‘गोरखाबाट चितवनको नारायणगढ तर्फ जाने क्रममा ऐना पहरामा ड्राइभरले बस साइड लगाएर रोकेका रहेछन् । केही यात्रुहरू बसबाट ओर्लेर फोटो खिच्न थालेछन् । केही बसभित्र नै बसेका रहेछन् । सहचालकले बसमा ओट लगाउन बिर्सेका कारण बस अचानक गुडेर मर्स्याङ्दीमा खस्न पुगेको भन्ने छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।’

मर्स्याङ्दी नदी किनारमा अगाडिको भाग भासिएको अवस्थामा बस खसेकोले थप यात्रु परेको छ कि भन्ने आशंकामा उद्धारको प्रयास भइरहेको उनले बताए ।

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार बस मर्स्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा छ । यात्रुहरूको उद्धार कार्य जारी रहेको र बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।

यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्स्याङ्‍दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?