
News Summary
Generated by OK AI. Editorially reviewed.- पारिजातको चर्चित उपन्यास \'शिरीषको फूल\' मा आधारित नाटक गत साउन ८ गतेदेखि गैरीधारास्थित \'कान्तिपुर थिएटर\'मा मञ्चन भइरहेको छ।
- नाटकको निर्देशन पत्रीका घिमिरेले गरेकी छिन् र मुख्य भूमिकामा जीवन लुइँटेल, सनिशा भट्टराई र राज न्यौपाने छन्।
- नाटकले उपन्यासको आत्मालाई जोगाएर कथावाचन र स्मृति, सपना, डरमार्फत एक रातको कथा प्रस्तुत गरेको छ।
शिरीष फूल
भ्रमर चुम्बनमै
ओइली झर्छ ।
पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’ (२०२२) को भूमिकामा माथि उल्लिखित हाइकु संलग्न छ । जसका रचनाकार थिए– शङ्कर लामिछाने । भनिन्छ, यो हाइकुले उपन्यासको सबै मर्म बोकेको छ । एक अर्थले यो पनि शिरीषको फूलमाथिको रचनात्मक सिर्जना थियो ।
उपन्यास निस्केको ६० वर्ष भइसकेको छ । यो अवधिमा उपन्यासलाई आधार बनाएर धेरैले रचनात्मक काम गरिसकेका छन् । यही नाममा फिल्म बनेको छ । नाटक बनेको छ । चित्रकला त कतिकति ।
हालै गैरीधारास्थित ‘कान्तिपुर थिएटर’मा यही उपन्यासमा आधारित नाटक चलिरहेको छ । गत साउन ८ गतेदेखि मञ्चन भइरहेको यो नाटक यस महिनाभर हेर्न पाइने छ ।
सोही एकेडेमीकी छात्र पत्रीका घिमिरेको लेखन र निर्देशनमा यो नाटक बनेको हो । नाटकको शीर्ष भूमिकामा जीवन लुइँटेल, सनिशा भट्टराई र राज न्यौपाने छन् । भनिहालौं, पत्रीका, जीवन र सनिशाको यो डेब्यू नाटक हो ।
त्यसमा पनि यो नाटकबाट जीवनको करियरमा ‘दोस्रो इनिङ्स’ सुरु भएको बताइएको छ । कारण ‘पूर्वमिस्टर नेपाल’ समेत रहेका उनी ७ वर्षपछि अभिनयमा फर्किएका हुन् ।
यता सनिशाको हकमा पनि त्यस्तै अनुभव छ । मञ्चमा उभिँदा उनले सपनाजस्तै लाग्ने यसअघि बताएकी छिन् । राज नाटकमा देखिँदै आएका थिएटर कलाकार हुन् ।
निर्देशक र मुख्य कलाकारहरू नयाँ रहेको अवस्थामा कस्तो बनेको छ त नाटक ? शिरीषको फूलको आत्मालाई नाटकले कति बोकेको छ ? उपन्यासलाई कत्तिको जीवन्तता दिएको छ ? उपन्यास र नाटकमा के अन्तर छ ?
करिब एक घण्टा लामो नाटकमा निर्देशक पत्रीकाले हामीलाई एक रातको कथा देखाएकी छिन् । जहाँ सुयोगवीर (जीवन) को कोठामा शिवराज (राज) आउँछन् । रक्सी खाँदै गफगाफ गर्छन् । त्यो बीचमा उनीहरूले सकम्बरी (सनिशा) को रहस्मयमृत्यु, दोस्रो विश्वयुद्ध, सैनिक जीवन, प्रेम आदिबारे गफगाफ गर्छन् ।
यो कुरालाई देखाउन निर्देशक पत्रीकाले सानो सेट छानेकी छिन् । झट्ट हेर्दा सेट ठूलो लाग्दैन । तर ती सारा कुरा भन्न सकेकी छिन्, जुन प्रशंसायोग्य काम छ ।
त्यसमा पत्रीकाले एउटा उपाय अपनाएकी छिन्-जुन हो कथावाचन । सम्भवत: नाटकलाई जुन तरिकाले उनले कथावाचन गरेकी छिन्, त्यो नहुँदो हो त सेटमा अझ काम गर्नु पर्थ्यो ।
नाटकको कथा भन्न उनले सुयोगवीरको डरलाई प्रयोग गरेकी छिन् । जसै सपनामा सकम्बरी देखा पर्छिन् अथवा शिवराजले सकम्बरीको कुरा गर्छन् । कथा सोही अनुसार देखाइन्छ । यसरी स्मृति, सपना र डरहरूमार्फत यो नाटकमा शिरीषको फूल देखाइएको छ ।
यो नाटकको कथा भन्ने शैली रोचक छ । अगाडि र पछाडि गर्दै (ब्याक एण्ड फोर्थ) कथा भनिएको छ । एक रातको कथालाई पनि विगतमा पुर्याएर राम्रोसँग प्रस्तुत गरिएको छ । यसमार्फत दर्शकले पात्रको मनोदशालाई राम्रोसँग देख्न सक्छन् । त्यसमा पात्रको मतिभ्रम तथा अपराधबोधले ठूलो भूमिका खेलेको छ ।
त्यस्तै मञ्च सानो भए पनि त्यहाँ छायाँको राम्रो प्रयोग गरिएको छ । जुन कुरा एकदमै कलात्मक देखिन्छ । सम्भवत: कम लगानी भएर हुन सक्छ, मञ्च भव्य देखिँदैन । यसका साथै पात्रहरूको अभिनय त्यति जोडदार छैन । सायद मञ्चमा नयाँ हुनु र धेरैपछि अभिनयमा फिर्ता हुनु यसका कारण हुन सक्छन् ।
पात्रहरूको स्वर बनावटी देखिन्छ । चिच्याए पनि त्यसमा चिच्च्याहट महसुस गर्न सकिँदैन । वेदना महसुस हुँदैन । क्लेश सुनिन्छ । वाक्यहरू पनि जबरजस्त राखेको जस्तो भान हुन्छ । कतिपय अवस्थामा प्रकाशको काममा पनि प्राविधिकहरू चुकेको देखिन्छ ।
यति हुँदाहुँदै पनि २५ को आसपास हिँडिरहेकी नवनिर्देशकले उपन्यासको आत्मालाई नै भने जोगाएर राखेकी छिन् । कथालाई अन्याय गरेकी छैनन् । उनमा निर्देशकीय गुण देखिन्छ ।
उपन्यासमा पारिजातले युद्धको मनोवैज्ञानिक असर, जीवनको निरर्थकता र प्रेमको जटिलतालाई सूक्ष्म रूपमा देखाएकी छिन् । सकम्बरी सहित अन्य नारी पात्रहरूको मनोविज्ञानलाई देखाएकी छिन् । उपन्यासमा सकम्बरीलाई प्रेम र त्यागको बिम्बको रूपमा देखाइएको छ ।
उपन्यासमा सकम्बरीले सुयोगवीरलाई एकोहोरो प्रेम गर्छिन् । उनको प्रेम निःस्वार्थ र गहिरो छ । उनले सुयोगवीरको उदासीनता र एक्लोपनलाई बुझ्छिन् । र, भावनात्मक रूपमा सहारा दिने प्रयास गर्छिन् । उनको प्रेम कुनै शारीरिक चाहना वा स्वार्थमा आधारित नभई केवल सुयोगवीरको भलोमा केन्द्रित हुन्छ ।
यसरी उनी सुयोगवीरको दुःख बुझ्ने, उनलाई सान्त्वना दिने र उनको जीवनमा खुसी ल्याउने प्रयास गर्ने पात्रको रूपमा उभिएकी छन् । तर सुयोगवीरले चुम्बन गरेको दिनदेखि उपन्यासमा उनी हराएकी छिन् ।
पछि उनको दाइ शिवराजले सुयोगवीरलाई अचानक सकम्बरीको मृत्यु भएको जानकारी गराउँछ । एक हिसाबले कुनै प्रेमिका र अरू बहिनीहरूलाई भन्दा बढी शिवराजले सकम्बरीलाई प्रेम गरेको पनि देखाइएको छ ।
तर सकम्बरीको मृत्यु उपन्यासमा रहस्यमयी छ ।
यता नाटकमा ‘क्रियटिभ लिबर्टी’ लिएर निर्देशक पत्रीकाले सकम्बरीको मृत्यु ‘यसरी भएको भनेर हिन्ट’ दिएकी छिन् । उक्त दृश्यमा शिवराज र सुयोगवीर दुवैसँगै हुन्छन् ।
के हो त्यो हिन्ट, त्यसपछि शिवराज र सुयोगवीरबीच के हुन्छ ।
यो उत्तर चैं थिएटरमै गएर नाटक हेरेपछि थाहा हुन्छ । यदि नाटक हेर्न जाँदै हुनुहुन्छ भने कम्तीमा उपन्यासको सारांश कथा थाहा पाएर जाँदा राम्रो । थाहा नपाउँदा कथामा अलि कनेक्ट हुन सक्नुहुन्न कि ?
प्रतिक्रिया 4