+
+
Shares

किसानको खेतबाट कसले पार्छ ट्रान्सफर्मर गायब ?

ट्रान्सफर्मरभित्र हुने तामाको तार १२०० रुपैयाँ प्रति किलोमा बिक्री हुन्छ र चोरीमा संलग्न पक्राउ पर्ने संख्या ज्यादै कम हुने हुँदा यो क्रम रोकिएको छैन ।

गौरव पोखरेल शैलेन्द्र महतो गौरव पोखरेल, शैलेन्द्र महतो
२०८२ साउन २१ गते २२:२९

२१ साउन, काठमाडौं/जनकपुर । खडेरीले मधेश आक्रान्त भएका बेला पर्साको जगरनाथपुर गाउँपालिका–३, जमुनियामा डिप बोरिङका लागि जोडिएको ५० केभीको विद्युत् ट्रान्सफर्मर एकाएक गायब भयो ।

स्थानीय एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेपछि गाउँले एकठाउँ भेला भएका थिए । तर, सिंगो जमुनिया शोकमा रहेको समय चोरीमा गर्ने नियत भएकाहरूका लागि भने अवसर बन्यो ।

‘गाउँका सबैजना मरिमराउ भएको ठाउँमा जम्मा गएका थिए, भोलिपल्ट हेर्दा मुख्य सडक छेऊमै भएको ट्रान्सफर्मर गायब छ,’ वडाध्यक्ष सुभाषकुमार यादव भन्छन्, ‘सबै एकैठाउँमा भएका बेला उनीहरूले लाइन काटेर चोरी गरेछन् ।’

यादवका अनुसार, स्थानीयवासीले थाहा पाउँदा त्यहाँ ट्रान्सफर्मरको खोक्रो बट्टा मात्र बाँकी थियो । ‘भित्र भएको तामाको तारजति सबै निकालेछन्, क्वाइल केही बाँकी राखेनन्,’ उनले भने, ‘तामा निकालेर बाँकी सामान चाहिँ त्यही छाडेर हिँडेको पाइएको थियो ।’

यो घटनाको पृष्ठभूमि हेर्दा चोरीमा संलग्न व्यक्ति विद्युत् सम्बन्धी राम्रो प्राविधिक ज्ञान भएको हुनसक्ने देखिन्छ ।

२०८१ कात्तिक अन्तिममा भएको यो घटना गाउँको पहिलो ट्रान्फर्मर चोरी थिएन ।

वडाध्यक्ष यादवका अनुसार, डेढ वर्षअघि सिचाइँका लागि उपभोक्ता समितिको पहलमा धान खेतमा राखिएको ट्रान्सफर्मर पनि उस्तै शैलीमा गायब पारिएको थियो ।

‘त्यो घटनामा चाहिँ वरिपरि घरहरू नभएको ठाउँमा भएको थियो, विशुद्ध कृषि प्रयोजनले राखिएको ट्रान्सफर्मर थियो,’ उनले अनलाइनखबरसँग सुनाए, ‘प्रहरीलाई समेत खबर गरियो, तर कुनै पत्तो नलागेपछि नयाँ जडान गर्‍यौं ।’

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चर्तुवेदीका अनुसार, विद्युत् ट्रान्सफर्मर चोरीका घटना प्रदेशका अधिकांश जिल्लामा रिपोर्ट भएका छन् ।

‘तराईमा खेतहरू टाढा हुने र आसपासमा मान्छेको बसाइ पनि नहुने हुँदा त्यहाँ राखिएका ट्रान्सफर्मरहरू रातको समयमा चोरी हुने गरेको देखिन्छन्,’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) चतुर्वेदी भन्छन्, ‘राति भएको घटनाको बिहान सूचना आउँछ, त्यतिञ्जेल भागेर कोही पारितिर पुगिसकेका हुन्छन्, कोही अर्को प्रदेशतिर जाने गरेको देखिन्छ ।’

तराईमा खेतहरू टाढा हुने र आसपासमा मान्छेको बसाइ पनि नहुने हुँदा त्यहाँ राखिएका ट्रान्सफर्मरहरू रातको समयमा चोरी हुने गरेको देखिन्छन् – उमा चर्तुवेदी, मधेश प्रहरी प्रमुख

प्रहरी युनिटसम्म पुगेको सूचनाका आधारमा मधेश प्रदेशमा आर्थिक वर्ष ०८१/८२ मा २७, ०८०/८१ मा १३ र ०७९/८० मा ५ वटा ट्रान्सफर्मर चोरी भएको छ ।

मधेशलाई प्रदेश सरकारले विपद् संकटग्रस्त घोषणा गरेपछि विभिन्न जिल्लामा स्थलगत अध्ययनका लागि गएको कार्यदलले पछिल्लो वर्ष मात्र ५० वटा ट्रान्सफर्मर चोरी भएको भन्दै मुख्यसचिव एकनारायण अर्याललाई केहीअघि प्रतिवेदन बुझाएको थियो ।

ट्रान्सफर्मर चोरी हुँदा मधेशमा खनिएका ३ सय डिप बोरिङ समेत प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको कार्यदलले प्रतिवेदनमा उल्लेख गरेको थियो । प्रहरी रेकर्डले पनि अधिकांश चोरीका घटना कृषिलाई लक्षित गरेर ट्रान्सफर्मर राखिएका स्थानमा भएको देखाउँछ ।

कतिसम्म भएको छ भने डिप बोरिङ सञ्चालनका लागि जडान गर्न ठिक्क पारेर राखेको ट्रान्सफर्मर समेत गायब पारिएको छ ।

धनुषाको बटेश्वर गाउँपालिका–३ का रामचन्द्र शाहको खेतमा पोल गाडेर ट्रान्सफर्मर राखिएको थियो । विद्युत् प्रवाह हुने गरी तार जडान गर्न मात्र बाँकी थियो । तर, गएको १० साउनमा ट्रान्सफर्मर चोरी भएको स्थानीय बताउँछन् ।

स्थानीयले यसबारे प्रहरीलाई जानकारी त गराए, तर संलग्नहरू पक्राउ परेका छैनन् ।

गाउँपालिकाले पाँच वर्षअघि त्यहाँ बोरिङ गाडेको भए पनि सञ्चालनमा आउन सकेको थिएन । यसपाली खडेरीका कारण घर बनाएर सञ्चालनमा ल्याउन तीब्रता दिइएको थियो । तर, सञ्चालनको अन्तिम तयारीमा रहेका बेला चोरीको घटना भएको थियो ।

ट्रान्सफर्मरको बढ्दो चोरी नेपाल विद्युत् प्राधिकरणका लागि समेत टाउको दुखाइको विषय बन्दै आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगर सखुवाका प्रमुख प्रविनकुमार मिश्र चोरी बढेपछि यसको सुरक्षाका लागि सिचाइँमा प्रयोग भएका ट्रान्सफर्मरलाई वेल्डिङ गर्न थालिएको बताउँछन् ।

‘गाउँमा वेल्डिङ गर्नुबाहेक अरु विकल्प नै भएन,’ उनले भने, ‘वेल्डिङ भएकोमध्ये पनि एउटा चोरीको प्रयास भएको थियो, तर उनीहरू सफल भएनन् ।’

विद्युत् प्राधिकरण मधेश प्रदेशका प्रमुख शम्भु कुशियत यादव चाहिँ प्रदेशमा हालसम्म ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्ति पक्राउ नपरेको बताउँछन् । ‘अहिले यो समस्या एकदमै बढेपछि प्रहरी प्रशासनसँग समन्वय गरेर सामान कसरी बरामद गर्न सकिन्छ, कसरी यसमा संलग्न गिरोहसम्म पुग्न सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ उनी भन्छन्, ‘पछिल्लो पटक यो समस्या धेरै देखिएको हो ।’

प्रहरी भने आफूहरूले यो विषयलाई प्राथमिकता दिएर आरोपीलाई समात्ने प्रयास गरिरहेको बताउँछ । मधेशका प्रहरी प्रमुख चतुर्वेदीले तत्काल सूचना नआउँदा आरोपीसम्म पुग्न गाह्रो हुने गरेको उल्लेख गर्दै भन्छन्, ‘यद्यपि, अहिले निगरानी बढाइएको छ ।’

चोरीको समस्या बढेपछि यसलाई हल गर्न मधेश प्रहरीले वेग्लै किमिसले अनुसन्धान गरिरहेको र चाँडै नतिजा देखिने उनी बताउँछन् ।

धनुषाको बटेश्वर गाउँपालिका–३ मा डिप बोरिङ सञ्चालनका लागि जडान गर्न ठिक्क पारेर राखेको ट्रान्सफर्मर समेत गायब पारिएको छ ।

ट्रान्सफर्मर चोरीको समस्या कोशी प्रदेशमा पनि छ । प्रहरी अधिकृतहरूका अनुसार, खासगरी भारतसँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा यो समस्या बढी छ ।

भारतको बिहारसँग सीमा जोडिने क्षेत्र नजिक झापाको कन्काई नगरपालिका–५, चप्रामारीमा २०८० कात्तिक अन्तिम साता ११ हजार भोल्टको विद्युत् लाइनको ट्रान्सफर्मर नै चोरी भएको थियो ।

स्थानीयका अनुसार, उनीहरूले विद्युत्को लाइन काटेर रातको समयमा ट्रान्सफर्मर निकालेका थिए । झापा, मोरङ र सुनसरीका अन्य स्थानमा समेत ट्रान्सफर्मर चोरीका थुप्रै घटनाहरू भएका छन् ।

तर, हालै कोशी प्रदेश प्रहरी कार्यालयले चाहिँ ट्रान्सफर्मर चोरीमा संलग्न ७ जनालाई समातेको छ । प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीका अनुसार, चोरीको सामान खरिद गरेको आरोपमा समेत ५ जना पक्राउ परेका छन् ।

‘पक्राउ परेका व्यक्तिहरूबाट विभिन्न परिमाणमा तामाको तार समेत बरामद भएको छ,’ डीआईजी कार्कीले भने, ‘साथमा चोरी गर्न प्रयोग भएका विभिन्न सामानहरू समेत उनीहरूको साथमा फेला पारेका छौं ।’

प्रहरीले बरामद गरेको ट्रान्सफर्मरभित्रको तामाको तार ।

तराईमा विद्युत् ट्रान्सफर्मर चोरीको घटना बढेपछि आफूहरूले विशेष अभियान नै चलाएर यसमा संलग्नलाई समातेको उनी बताउँछन् । प्रहरीले चोरीमा संलग्न व्यक्तिबाट विभिन्न किसिमका डायल रेन्च, पिलास, पेचकस, ह्याक्सो ब्लेड, खन्ती, ब्याट्रीसहितको इलेक्ट्रिक ग्रण्डर, पिकअप गाडी लगायत बरामद गरेको छ ।

‘उनीहरू मोरङ, सुनसरी र झापाका विभिन्न स्थानमा भएको ट्रान्सफर्मर चोरीका घटनामा संलग्न थिए,’ कार्कीले थपे । प्रहरीका अनुसार, तामाको तार कम्तिमा १२०० रुपैयाँ प्रति किलोमा बिक्री हुने गरेको छ । त्यही कारण यसको चोरी हुने गरेको अधिकृतहरू बताउँछन् ।

कोशी प्रदेश प्रहरीले यसमा संलग्नहरू समात्न सीसी टिभीमार्फत निगरानीसँगै चोरिएका सामान खरिद बिक्री हुनसक्ने सम्भावित कवाडी पसल, भाँडा पसल र तामा उद्योगहरुमा निगरानी गरेको थियो । त्यसका साथै कतिपय शंकास्पद स्थानमा खनतलासी समेत गरिएको अधिकृतहरू बताउँछन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?