
२५ साउन, धनगढी । कैलाली कारागारमा भएको झडपका क्रममा घाइते भएका अर्का एक जना कैदीलाई पनि रेफर गर्ने तयारी गरिएको छ ।
नसाको समस्या भएका एक कैदीलाई रेफर गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनका अनुसार, ती बिरामी कैदीलाई काठमाडौं वा नेपालगञ्ज कहाँ रेफर गर्ने भन्नेबारे छलफल भइरहेको छ । उनी सेति प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्पतालमा उपचाररत छन् ।
‘नसामा समस्या भएका अर्का एक कैदीलाई रेफर गर्न लागिएको हो । तर, काठमाडौं वा नेपालगञ्ज कहाँ पठाउने सल्लाह हुँदैछ,’ जोशीले भने ।
उनलाई स्काई हेलिकप्टरबाट नभइ सामान्य जहाजबाटै उपचारका लागि कैलालीबाट पठाइने पनि उनले जानकारी दिए ।
यसअघि हिजो साँझ गम्भीर घाइते एक कैदीलाई नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइएको थियो ।
अहिले कैदीबन्दीको संख्या यकिन गर्नका लागि गणना गर्ने कार्य भइरहेको छ ।
शनिबारमात्रै कारागारको जिम्मेवारी सम्हालेका जेलर जालन्धर भुसालले प्रत्येक कैदीलाई बोलाएर संख्या गणना गर्न थालेका हुन् ।
कारागार स्रोतका अनुसार, अहिले धमाधम कैदीबन्दीको संख्या यकिन गर्ने काम भइरहेको छ ।
कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् ।
घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन । सो क्रममा आइतबार दिउँसो २ बजेपछि कैदीबन्दीको संख्या यकिन गर्नका लागि प्रशासन सक्रिय भएको हो ।
भित्रको स्थिति तनावग्रस्त भएपछि कैदीबन्दीका आफन्तहरू कारागार परिसरमा पुगेर सोधखोज गरिरहेका छन् ।
कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् ।
कारागार भित्रको अवस्थाबारे तथ्यगत विवरण सार्वजनिक हुन सकेको छैन ।
१५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँ राख्दा कैलाली कारागारमा पटकपटक तनाव हुँदै आएको छ ।
प्रतिक्रिया 4