+
+
Shares

दाउन्ने एग्रो फार्म सवा ८ करोड नाफामा, आईपीओ निकाल्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १२:५७

२६ साउन, चितवन । पोल्ट्रीजन्य उत्पादन गर्दै आएको दाउन्ने एग्रो फार्म लिमिटेडले गत वर्ष ८ करोड १५ लाख ९० हजार रुपैयाँ नाफा गर्न सफल भएको छ ।

सो फार्मले गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड ४६ लाख ९० हजार ८७६ रूपैयाँ बराबरको पोल्ट्री उत्पादन बिक्री गरेको छ । अघिल्लो आर्थिक बर्ष२०८०/०८१ माफार्मले १ अर्ब २१ करोड ४२ लाख १९ हजार ७०१ रूपैयाँ बराबरको बिक्री गरेको थियो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको फार्ममा चार लाख कुखुरा छन् । निकट भविष्यमै कुखुराको संख्या ६ लाख पुर्‍याउने लक्ष्य रहेको फार्मका अध्यक्ष विनोद पोखरेलले बताए । २०७४ मा स्थापना भएको यस कम्पनीले सुरुमा एक लाख कुखुरा पालेको थियो ।

कम्पनीले गत आर्थिक वर्ष नाफा कमाएसँगै प्रतिशेयर आम्दानी १८.३७ रूपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा प्रतिशेयर ३.६४ रूपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष प्रतिशेयर आम्दानी बढाएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ करोड ६३ लाख ४७ हजार ८९७ रूपैयाँ नाफा गरेको थियो । सो वर्ष कम्पनीको चुक्ता पूँजी २७ करोड रूपैयाँ रहेकोमा गत आर्थिक वर्षमा बढेर ५० करोड पुगेको छ ।

कूल सम्पत्ति १ अर्ब ६६ करोड ९२ लाख ५४ हजार १७९ पुगेको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा कूल सम्पत्ति १ अर्ब ४० करोड ८९ लाख ३८ हजार १२ थियो ।

दाउन्नेको फार्ममा जर्मन र मलेसियाबाट आयात गरिएका स्वचालित, अत्याधुनिक उपकरण प्रयोग गरेर कुखुरा पालन गरिएको छ ।

दाउन्ने एग्रो फार्म लिमिटेड र यसका सहायक कम्पनीले लेयर्स कुखुराको अण्डा, कुखुरा, क्रेट, मल उत्पादन गरेर बिक्री गर्दै आएका छन् । कम्पनीले गत आर्थिक वर्षमा ५ लाख २९ हजार २५० पेटी (११ करोड ११ लाख ४२ हजार पाँच सय वटा) अण्डा उत्पादन गरी बिक्री गरेको थियो । अत्याधुनिक तवरबाट कुखुरा पालन गरिएकाले अण्डा उत्पादनको प्रतिशत उच्च रहेको अध्यक्ष पोखरेलले बताए ।

आईपीओ जारी गर्ने तयारी

कम्पनीको आठौं वार्षिक साधारण सभाले प्रारम्भिक सार्वजनिक आह्वान (आईपीओ) मा जाने सम्बन्धी प्रस्ताव सर्वसम्मत अनुमोदन गरेको अध्यक्ष पोखरेलले बताए । उनकाअनुसार यसका लागि सबै कानुनी प्रक्रियाहरू पूरा भएको छ । कम्पनीले १२ करोड ५० लाख रूपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ ।

शेयर निष्कासनका लागि सिटीजन्स् क्यापिटलसँग सम्झौता भएको अध्यक्ष पोखरेलले बताए । दाउन्ने एग्रो फार्म लिमिटेडलाई सार्वजनिक कम्पनीका रूपमा स्थापित गर्ने योजना अनुसार आईपीओ जारी गर्न लागिएको अध्यक्ष पोखरेलले बताए ।

साधारणसभामा कम्पनीका सञ्चालक रघुनाथ भट्ट, हेमराज बडाल, विज्ञहरू चिकित्सकहरू डा. अनन्त दाहाल, डा. आशिष पोखरेल, वित्तीय सल्लाहकार ऋषिराम चालिसे, आध्यान्त फण्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेल, शेयरधनीका तर्फबाट माधव प्रसाद अर्यालले पोल्ट्री व्यवसायको अवस्थाको बारे जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?