+
+
Shares

हुलाकी सडककाे ६ किलाेमिटर : प्रदेश र संघमा अनशनको चेतावनीपछि ४ दिनभित्र काम गर्ने सहमति

काममा अझै उल्झन

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार निर्माण व्यवसायीले आजको मितिले ४ दिन भित्र जनशक्ती परिचालन गर्ने सहमति छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ साउन २७ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ कटहरी रामचोक–हाटखोलासम्म ६ किलोमिटर हुलाकी सडकको काम ४ दिन भित्र सुरु गर्ने सहमति भएको छ।
  • सडक निर्माणमा आवश्यक जनशक्ति र उपकरण ४ दिनभित्र परिचालित गर्ने र १५ दिनभित्र काम नभए ठेक्का तोडिने निर्णय भएको छ।
  • बिजुली पोल र खानेपानी पाइप व्यवस्थापनका लागि बजेट अभावले आयोजनाको काम लम्बिने योजना कार्यालय प्रमुख युवराज पोखरेलले बताए।

२७ साउन, विराटनगर । हुलाकी सडकको मोरङ कटहरी रामचोक–हाटखोलासम्म ६ किलाेमिटर खण्डकाे काम ४ दिन भित्र सुरु गर्ने सहमति भएकाे छ ।

कोशी प्रदेशसभा र संघीय संसदमा सांसदको अनशन बस्ने चेतावनी पछि ठेकेदार कम्पनी ४ दिन भित्र काम सुरु गर्न सहमत भएको हो । सहमति अनुसार काम नभए १५ दिन भित्र ठेक्का तोडिनेछ ।

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार निर्माण व्यवसायीले आजको मितिले ४ दिन भित्र जनशक्ती परिचालन गर्ने सहमति छ ।

सहमति अनुसार तत्काल २ वटा रोलर, २ वटा ग्रेडर, ७ देखी १० वटा टिपरसहित कामदार खटाउनेछन् । सहमति नभए १५ दिन भित्र ठेक्का सम्झौता नविकरण नहुने उनले बताए ।

आइतबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै प्रदेश सांसद भीम पराजुलीले तत्काल काम सुरु नगरे प्रदेशसभा परिसरमा आमरण अनशन बस्ने घोषणा गरेका थिए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले सभामुखबाट रुलिङ नभए अनशन बस्ने घोषणा गरेका थिए । ‘हुलाकी सडक अन्तर्गतको कटहरी खण्ड १० वर्ष हुन लागिसक्यो अझै बन्न सकेको छैन ।

त्यहाँको जनताहरूको अहिले सडकमा धान रोपाइ चलिरहेको छ । यस्तो परिस्थितिमा सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्‍यो’ शून्य समयमा सांसद मोदीले भने,‘होइन भने सभामुख महोदय, म तपाईंको अगाडि अनशन बस्छु । जबसम्म मेरो कुराको सुनुवाई हुँदैन तबसम्म अनशन बस्छु ।’

केही दिनअघि मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले संसदबाटै तत्काल सडक निर्माणको काम सुरु गर्न माग गरेका थिए ।

दुई सांसदको अनशन बस्ने घोषणापछि मंगलबार नै सडक विभागमा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, योगेन्द्र मण्डल र ठेकेदार प्रतिनिधिको उपस्थीतिमा बैठक बसेको थियो । बैठकमा चार वटा सहमति भएकाे छ ।

‘निर्माण व्यवसायीले आजको मितिले ४ दिनभित्र आवश्यक जनशक्ति, यन्त्र उपकरण (२ वटा रोलर, २ वटा ग्रेडर, ७ देखी १० वटा टिपर)सहित साइटमा परिचालित भई निर्माण कार्यको सुरुवात गर्ने,’ निर्णयमा भनिएको छ,‘आजको १५ दिन भित्रमाबीचको बाटो सहज रुपमा २ तर्फी गाडी संचालन हुने गरि निर्माण कार्य गर्ने, निर्माण व्यवसायीले तत्कालै एक महिनाको कार्यको माइल स्टोनसहितको संशोधित कार्य तालिका तयार गरि योजना कार्यालयमा ३ दिन भित्र पेश गर्ने र सो बमोजिमको कार्यप्रगतिको योजना कार्यालयले निरन्तर अनुगमन गर्ने, १५ दिन भित्रमा माथि उल्लेख भएवमोजिमको कार्य सम्पन्न नभएमा ठेक्का सम्झौता अन्त्य गर्ने ।’

म्याद थप्ने तयारी

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये कटहरीको रामचोकदेखि हाटखोलासम्म ६ किलोमिटर काम ६ वर्षदेखि अतिसुस्त गतिमा छ । निर्माण सुरु भएको ६ वर्षसम्म यो सडकको जम्मा आर्थिक प्रगति २३ प्रतिशत छ । भौतिक पनि सोही बराबर छ ।

२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्राली हेटौडाले ७७ करोडमा निर्माणको ठेक्का लिएको थियो । ठेकेदारले काम नगरेका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण हिँड्न नसक्ने अवस्था छ ।

यो आयोजनाको थप गरिएको म्याद गत जेठ ३० गते सकिएको छ । निर्माण कम्पनीले पुन २ वर्षको समय माग गर्दै निवेदन दिएको थियो ।

हुलाकी सडक आयोजनाले भने १ वर्ष समय थपका लागि लेखेर पठाएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बताए । उनका अनुसार सम्झौता नविकरण भएकाे छैन । सहमति अनुसार काम नभए सम्झौता रद्द हुनेछ ।

पाेल सार्न बजेट पुगेन

६ किलोमिटर खण्डको मुख्य ठेकेदार श्रेष्ठ कन्ट्रक्सन कम्पनी भएपनि निर्माण क्षेत्रमा यो कम्पनी देखिएको छैन । सुरुमा भुपाल श्रेष्ठले पेटी ठेकेदारको रूपमा काम गरेका थिए ।

पछिल्लो ६ महिनायता अभिषेक गिरीले पेटी ठेकेदारको रुपमा काम गरिरहेका छन् । गिरीका अनुसार आयोजनाको काम अघि बढाउनका लागि बिजुलीको पोल र खानेपानीको पाइप व्यवस्थापनका लागि बजेट पर्याप्त छैन ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, इटहरीका सूचना अधिकारी उपेन्द्र दासका अनुसार पछिल्लो स्टमेट अनुसार बिजुली पोल र खानेपानी पाइपसहित अन्य कामका लागि ६ करोड लागत स्टमेट आएकाे छ। तर आयोजनाले याे कामका लागि २ करोड मात्रै छुट्याेकाे छ । उनका अनुसार स्टमेट अनुसारकाे बजेट माग गरेपनि प्रस्ताव स्वीकृत भएन ।

विजुलीको पोल सार्नका लागि बजेट व्यवस्थापन नभएका कारण आयोजनाको काम लम्बिने निश्चित छ । ‘विद्युत प्राधिकरणकै बजेटमा सार्ने कुरा पनि भइरहेको छ, तर यसका लागि टेन्डर प्रक्रियामा जाँदा समय लाग्छ,’ योजना प्रमुख पोखरेलले भने,‘ अरु विकल्पमा पनि छलफल भइरहेको छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?