+
+
Shares

अध्ययन बिदा दुरुपयोग : प्राध्यापकबाट पैसा फिर्ता गराउन हेल्प डेस्क स्थापना

त्रिविका उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा हेल्क डेस्क स्थापना गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १४:२०
उपप्राध्यापक डा. जीवन काफ्ले

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापक र कर्मचारीबाट रकम फिर्ता गराउन हेल्प डेस्क स्थापना गरेको छ।
  • अध्ययन बिदा लिएर नफर्किएका १९१ र अध्ययन पूरा नगरेका २०७ गरी ३९८ जना प्राध्यापकबाट २ अर्ब बढी रकम फिर्ता लिनुपर्ने छ।
  • त्रिविले अध्ययन बिदामा बसेकाले तलब फिर्ता नगरेमा १० प्रतिशत ब्याजसहित रकम फिर्ता गर्नुपर्ने नियम बनाएको छ।

२९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापक र कर्मचारीबाट रकम फिर्ता गराउन  हेल्प डेस्क स्थापना गरेको छ ।

त्रिविको कार्यकारी परिषद्ले बुधबार हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो । त्रिविका उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा हेल्क डेस्क स्थापना गरिएको हो । यसअघि अध्ययन बिदा लिएर गएका प्राध्यापक विदेशमै लुक्ने गरेको समाचार प्रकाशित भएपछि खोजबिन गर्न काफ्लेकै संयोजकत्वमा खोजबिन समिति बनाइएको थियो ।

समितिले खोजबिन गरी प्रतिवेदन बुझाइ सकेको छ । उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्न हेल्क डेस्क स्थापना गरिएको हो । उपकुलपति प्रा.डा दीपक अर्यालका अनुसार मापदण्ड पनि बनाइएको छ ।

‘तीन वर्ष बिदामा बसेको छ भने कति तलब खाएको छ त्यो सम्बन्धित क्याम्पसले दिएको विवरण अनुसार १० प्रतिशत ब्याज जोडेर फिर्ता गर्नुपर्छ । चक्रिय ब्याज भने लाग्दैन,’ उपकुलपति अर्यालले भने, ‘यदि फर्केर तीन वर्ष काम गरेको छ भने फिर्ता गर्नुपर्दैन ।’

अध्ययन बिदा सकिएपछि राजीनामा स्वीकृति गराएको छ भने राजीनामा स्वीकृत गरेको मितिसम्म्को मात्र पैसा फिर्ता लिने निर्णय पनि त्रिविले गरेको छ ।

त्रिविका प्राध्यपकले ५ वर्षसम्मको अध्ययन बिदा पाउने नियम छ । त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।

त्रिविका शिक्षक कर्मचारी नफर्किएमा वा अध्ययन पूरा गर्न नसकेमा बिदामा बस्दा खाएको तलब–भत्ता फिर्ता गर्ने भनी शिक्षकले कबुलियत गरेका हुन्छन् । खाइपाइ आएको तलब–भत्ता फिर्ता नगरेमा जायजेथाबाट असुल गर्नु भनी ३ जना साक्षी राखेर कबुलियत समेत गरिएको हुन्छ ।

बिदाको दुरुपोयोग गरेका शिक्षक र्काचारी धमाधम पैसा फिर्ता गर्न आइरहेका छन् । ‘त्रिविमा सम्पर्क गरेर पैसा बोकेर फिर्ता गर्न आइरहनु भएको छ । ५०–६० जनाले सम्पर्क गरिरहनु भएको छ,’ उपकुलपति अर्यालले भने ।

अध्ययन बिदा लिएको तर अध्ययन पूरा नगरेकाको हकमा सिनेटबाट कानुन बनाउने निर्णय पनि कार्यकारीले गरेको छ ।

‘अध्ययन बिदा लिएको तर पूरा नगरेकाको हकमा सिनेटबाट कानुन बनाउने निर्णय भएको छ,’ उपकुलपति अर्यालले भने । अध्ययन बिदाको दुरुपयोग गर्नेबाट रकम असुल उपर गर्ने त्रिविले जनाएको छ ।

अध्ययनमा गएर नफर्किने र अध्ययन पूरा नगर्ने शिक्षक कर्मचारीलाई गत २९ असारमा त्रिविले ब्याजसहित रकम फिर्ता गर्न ३५ दिनको अल्टिमेटम दिएको थियो । यो अवधिमा ५ जनाले रकम फिर्ता गरेका छन् । ५ जनाबाट १ करोड ६७ लाख बढी रकम उठेको छ ।

नफर्किएका र अध्ययन पूरा नगरेका शिक्षक कर्मचारीबाट २ अर्ब बढी रकम त्रिविले उठाउनु पर्ने छ । त्यसका लागि त्रिविले हेल्प डेस्क स्थापना गरेको हो । अध्ययन बिदामा गएर नफर्किने र अध्ययन पूरा नगर्ने दुबैको अनुसन्धान पनि यही डेस्कबाट हुनेछ । बिदामा रहेकाले उतैबाट रकम फिर्ता गर्न पाउने सुविधा पनि त्रिविले दिने भएको छ ।

यसरी फिर्ता आएको रकम निवृत्तिभरण कोषमा राख्ने त्रिविले जनाएको छ ।  बिदाको दुरुपयोग गर्नेमा मानविकी तथा सामाजिकशास्त्र संकायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना छन् ।

त्यसैगरी, वन विज्ञान अध्ययन संस्थानमा २८ जना, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा ९ जना, शिक्षाशास्त्र संकायमा ९ जना, व्यवस्थापन संकायमा १९ जना र कानुन संकायमा १ जना प्राध्यापक रहेका छन् । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ जना प्राध्यापक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?