+
+
Shares
सार्वजनिक सुनुवाइ :

वडाध्यक्षले देखाए प्रगति, सम्झिए बाचा

वडाध्यक्षको गाडीले बिरामीसँगै शव पनि बोक्ने प्रतिबद्धता

पोखराको २६ नं. वडाध्यक्ष नरेन्द्र थापाले भने, ‘यो केटो हावा छ भनेर हल्ला पनि चलाए होलान् । वडाबासीले मत दिएर जिताउनुभयो र मैले त्यहीअनुसार पनि काम गरें, मैले आफ्नो घोषणापत्रमात्रै होइन, विपक्षी र अन्य दलको घोषणापत्रसमेतलाई आधार बनाएर योजना बनाएँ, अहिले ती अधिकांश काम सकिइसके ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते ७:०६

३० साउन, पोखरा । चुनाव जित्नुअघि जनप्रतिनिधिले गरेका बाचा र अहिले भइरहेको कामको अवस्थाबारे वडाबासीलाई बोलाएर पोखराको वडा नम्बर २६ ले प्रगति सार्वजनिक गरेको छ । निर्वाचित भएर आएपछि गरेका काम, अहिलेको योजना र अबको प्राथमिकतालाई जनप्रतिनिधिले सेवाग्राहीको कठघरामा सार्वजनिकमात्रै गरेनन्, उनीहरुका प्रश्न र गुनासाहरुसमेत लिएका हुन् ।

वडामा भएको विकास र कार्यालयबाट दिइएको सेवाप्रति नागरिकले धक फुकाएर प्रश्न गरे । वडाले दिनुपर्ने प्राथमिकतामाथि सुझाव, आफूहरुले भोगिरहेको समस्या र गुनासा आफ्ना जनप्रतिनिधिलाई राख्न पाउँदा सेवाग्राही खुसी देखिए ।

वडाबासीसामु आफ्ना बाचा र गरेको कामको फेहरिस्त सुनाएका पोखरा वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा (नरेन)ले  भौतिक तथा सामाजिक विकासका लागि साथ दिनका आग्रहमात्रै गरेनन्, सुशासनका निम्ति खबरदारी गर्नसमेत आह्वान गरेका छन् । १६ हजार ८ सय जनसंख्या रहेको वडा नम्बर २६ का १ हजार ५ सयभन्दा बढी सेवाग्राहीसामु वडाध्यक्ष थापाले आफ्नो विगत, वर्तमान र भावी योजनासमेत खुलस्त राखेका छन् ।

एउटा वडामा कुनै जनप्रतिनिधि आउँदा कतिसम्म काम गर्न सक्छन्, त्यसमा नागरिकले कसरी साथ दिन सक्छन् र विकास, निर्माण र सेवा प्रवाहलाई पारदर्शी रुपमा नागरिकसामु राख्न सक्नुपर्छ भन्ने उदाहरण पोखराको वडा नम्बर २६ देखाएको छ ।

वडाध्यक्ष थापाले नागरिकका २ दर्जनभन्दा बढी प्रश्न, गुनासा र सुझाव सुने । सेवाग्राहीले आफ्ना कुरा राख्न पाउँदा हौसला बढाए र वडाध्यक्ष थापाले पनि नागरिकका सामु आगामी प्रतिबद्धतासमेत सार्वजनिक रुपमा खुलस्त राखे ।

साविक लेखनाथ क्षेत्रको शहरी तथा ग्रामिण भूभागसमेत जोडिएर बनेको वडा नम्बर २६ का नागरिकले टोल–टोलमा आवश्यक परेको विकास र योजनासम्बन्धी माग राखे । ताल तथा सार्वजनिक सम्पत्ति संरक्षणमा जुट्न आग्रह गरे ।

भौतिक विकासमात्रै नभएर शिक्षा, स्वास्थ्य र उत्पादनलाई प्राथमिकता दिन सुझाव दिए । ग्रामिण भेगका सार्वजनिक यातायात नहुँदा भोगेको दुख सुनाए भने एम्बुलेन्स र शवबाहन नपाउँदा भोग्नुपरेको पीडासमेत राखे ।

पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका सभापतिसमेत रहेका थापाले वडा र साविकको लेखनाथ क्षेत्रलाई प्राथमिकतामा राखेका विवरणहरु पेस गरे । वडाध्यक्ष थापाले राखीडाँडा सडकमा भदौ १ गतेबाटै सार्वजनिक बस सेवा सञ्चालन गर्ने व्यवसायीसँग समझदारी गरेको बताउँदै नियमित चलाउन स्थानीयबासीसँग आग्रहसमेत गरे ।

एम्बुलेन्स र शव बहान समय नपाए आफूलाई खबर गर्न आग्रह गर्दै वडाध्यक्ष थापाले आफूले प्रयोग गर्ने निजी गाडीबाट सेवा दिने प्रतिवद्धतासमेत गरेका छन् ।

‘मेरा वडाका कुनै नागरिकको दु:खद् निधन भयो तर शव बाहन पाइएन भने त्यो दु:खमा मलाई भन्नुहोला, मेरै गाडी शवबाहनको रुपमा प्रयोग गर्नेछु । कहिलेकाहीँ भन्नेबित्तिकै एम्बुलेन्सको आवश्यकता पर्छ, त्यो बेला एम्बुलेन्स नआउन सक्छ,’ वडाबासीसामु सार्वजनिक सुनुवाइ कार्यक्रम गरेका वडाअध्यक्ष थापाले भने, ‘मेरो हाइलक्स गाडी छ, त्यो मेरो कार्यकालभरि कसैलाई अप्ठेरो पर्‍यो मलाई वा मसँग जोडिएका साथीहरुलाई जानकारी गराउनुभयो भने मेरो गाडी प्रयोग गर्ने घोषणा गर्दछु ।’

कोही दिवंगत हुँदा, कोही दुर्घटना वा आपत आइलाग्यो भने खबर गरे आफैं गाडी चलाएर वा पठाएर सेवा गर्ने थापाले प्रतिबद्धता जनाए । उनले कार्यकालभरि आफ्नो गाडी शव बाहन वा एम्बुलेन्सको रुपमा नि:शुल्क उपलब्ध गराउने घोषणा प्रचारबाजीका लागि नभइ वडाबासीको सेवाका लागि समर्पण गरेको जिकीर गरे ।

पूर्वाधार विकास समितिका सभापतिसमेत रहेका थापाले आफ्नो कार्यकालको पहिलो तीन वर्ष भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको र चालु बजेटमा कृषि उत्पादन, शिक्षा र स्वास्थ्यमा जोड दिएको बताए ।

विकास र पूर्वाधारमा मात्रै होइन, उत्पादन तथा सामाजिक क्षेत्रमा पनि लगानी गर्न केही वडाबासीले आग्रह गरेका थिए । ‘बाटो, खुला, खानेपानीलाईमात्र विकास भन्ने काम भइरहेको महसुस हामीले गरेका छौं तर पिँधमा परेका नागरिकका अधिकारलाई सुनिश्चित गर्नु पनि वडा तथा स्थानीय तहको दायित्व हो,’ परियारले भने, ‘वडाले यतातिर ध्यान दिन अनुरोध गर्दछु ।’

खास्टे, न्युरेनी र गुँदे ताललाई सहकारी तथा विभिन्न व्यक्तिले ओगटेका थिए । माओवादीबाट वडाध्यक्षका उम्मेदवारसमेत रहेका परियारले ताललाई सार्वजनिक सम्पत्तिकै रुपमा फर्काएकोमा वडाध्यक्ष थापालाई धन्यवाद दिँदै अब संरक्षणको गुरुयोजना बनाउन अनुरोधसमेत गरे । वडाध्यक्ष थापाकै नेतृत्वमा अहिले त्यसलाई हटाएर संरक्षण गर्ने काम गरिरहेका छन् ।

वडाध्यक्ष थापाले संघ, प्रदेश र पोखरा महानगरसँगसमेत समन्वय गरेर करोडौं रुपैयाँको योजना आफ्नो वडामा पुर्‍याएको विवरण वडाका सूचना अधिकारी नवराज सापकोटाले सार्वजनिक गरेका छन् ।

वडा नम्बर २६ मा मात्र २८ करोड ४४ लाख रुपैयाँको बजेट आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन भएको थियो । त्यसमा वडास्तरीय बजेट ४ करोड २१ लाख ५० हजार रुपैयाँ रहेको सापकोटाले बताए । महानगरस्तरीय बजेट पनि झण्डै साढे ४ करोडकै हाराहारीमा थियो । वडा नम्बर २६ मा मात्रै १६ करोड ५१ लाख रुपैयाँको बहुवर्षीय योजना ठेक्का लागेको छ । प्रदेश तथा संघ सरकारबाट  ३ करोड २५ लाख रुपैयाँका योजना सम्पन्न भएको सापकोटाले जानकारी दिए ।

वडाले सेवासँगै राजस्व संकलन पनि जोड दिएको छ । गत आर्थिक वर्षमा मात्रै  २ करोड ४७ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्यांक सार्वजनिक गरिएको थियो ।

चुनावका बेला ‘यो केटाले के गर्ला र !’ भन्ने लागेको पनि हुन सक्ने तर अहिले वडाबासीले दिएको साथ र सहयोगले आफूले धेरै काम गर्न सकेको उनले सुनाए । ‘यो केटो हावा छ भनेर हल्ला पनि चलाए होलान् । वडाबासीले मत दिएर जिताउनुभयो र मैले त्यहीअनुसार पनि काम गरें,’ थापाले भने, ‘मैले आफ्नो घोषणापत्रमात्रै होइन, विपक्षी र अन्य दलको घोषणापत्रसमेतलाई आधार बनाएर योजना बनाएँ, अहिले ती अधिकांश काम सकिइसके ।’

नागरिकसामु आफ्नो कुरा खुलस्त राख्दा कतिले हौसला बढाए । कतिले वडाध्यक्षलाई खबरदारीसमेत गरे र वडाध्यक्ष थापाले प्रश्न, आलोचना, खबरदारी हरदम गर्न आग्रह गर्दै नागरिकलाई विकास र सेवाप्रति आशा जगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?