
३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । रविलाई कारागार सरुवा गरेर ल्याउनका लागि रुपन्देही कारागारबाट विमानस्थल लगिसकिएको छ ।
उनलाई गौतमबुद्ध विमानस्थलबाट बुद्ध एअरको जहाजमार्फत काठमाडौं ल्याइँदै छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।
उनलाई कारागार व्यवस्थापन विभागको निर्णय अनुसार आज नख्खु ल्याउन लागिएको हो ।
उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिएपनि गृह प्रशासनले रोकेको थियो ।
कारागार सरुवा रोकेपछि रास्वपा ले संसदमै विरोध जनाएको थियो । रवि पत्नी निकिता पौडेलले अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थासम्म पुग्ने बताएकी थिइन् ।
यस्तै मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको र बसाई असहज भएको बताएपछि सरकारमाथि दबाब परेको थियो ।
सोही अनुसार लामिछानेलाई काठमाडौं सार्न तयार भएको हो ।
रविलाई कारागार स्थानान्तरण गर्ने भएपछि भैरहवा कारागार अगाडि रास्वपा नेता कार्यकर्ताको भीड लागेको थियो ।
उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।
प्रतिक्रिया 4