
News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यस वर्ष दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताएका छन्।
- मन्त्री दाहालले यात्रुको भिडभाड हुने बेलामा भाडा नबढाउन यातायात व्यवसायीलाई आग्रह गरेको बताए।
- निर्माणाधिन सडक आयोजनाहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको उनले खुलाएका छन्।
१ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यस वर्षको दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताएका छन् ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आइतबारको बैठकमा मन्त्री दाहालले यस्तो बताएका हुन् ।
इन्धनको मूल्य अनुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन् भन्ने उद्देश्यले यस वर्ष भाडा नबढाउने योजना रहेको उनको भनाइ छ ।
उनले यात्रुको भिडभाड चाडपर्वको बेलामा भाडा नबढाउन यातायात व्यवसायीलाई आग्रह गरेको पनि बताए ।
उनले यातायात व्यवसायीसँग छलफलमार्फत् सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताए ।
उनले प्रदेशस्तरमा रहेका सडक आयोजनाहरू प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको बताए ।
‘तपाईंहरूलाई के विश्वास दिलाउन चाहान्छु भने यो वर्षको दशैं र तिहारमा भाडा बढाउने योजना छैन । हामीले यातायात व्यवसायीसँग पनि भनेका छौं । मान्छेको भिडभाड हुने बेलामा भाडा बढाउने काम नगरौं । बरु यातायात व्यवसायीलाई केही पीर मर्का परेको छ भने यातायात व्यवसायीसँग बसेर छलफल गर्ने भनेका छौं,’ उनले भने ।
निर्माणाधिन सडकका सम्बन्धमा ज्यालादारी कामदारसहित प्रदेश सरकारलाई सडक आयोजनाको जिम्मा दिने तयारी भइरहेको मन्त्री दाहालको भनाइ छ ।
प्रतिक्रिया 4