
२ भदौ, विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा धेरै छलफल गर्नु आवश्यक नरहेको बताएकी छन् ।
विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ । म पनि आलोचनाभन्दा मुक्त छैन । कोही पनि छैन । यस विषयमा धेरै छलफल गर्नु आवश्यक छैन ।’
राजतन्त्र र गणतन्त्र फरक व्यवस्था भएको भन्दै उनले अगाडि भनिन्, ‘राजा व्यक्ति हो । राष्ट्रपति एउटा पद हो । आवधिक हुन्छ । जो सुकै जनताको छोरा निर्वाचित भएर राष्ट्रपति बन्न सक्छन् । उनीहरू कार्यकाल सकिएपछि आफ्नो काममा फर्कन सक्छन् ।’
पूर्वराष्ट्रपति भण्डारीले पार्टीले कुनै भूमिका नदिए पनि आफू एमालेको संगठित सदस्य भएको बताइन् ।
एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा भण्डारीले गरे पनि पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरिसकेको छ ।
पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको उनको दाबी छ ।
‘४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको, विराटनगरमै मैले शपथ खाएको हुँ, मोरङ जिल्लामै,’ उनले भनिन् ।
पार्टीको निर्णयपछि आफू राष्ट्रपति बनेको भन्दै उनले कार्यकाल सकिएपछि पुनः पार्टीको राजनीतिमा फर्किएको दोहोर्याइन् ।
‘हिजो पनि म नेकपा एमाले भएरै राष्ट्रपति निर्वाचित भएको हुँ, पार्टीले निर्णय गरेर पठाएको हो र आज पनि म एमालेमै छु,’ उनले भनिन्, ‘कुनै कुरामा कसैले विवाद उठायो होला, पार्टीको औपचारिक कुरा के छ, मलाई थाहा भएन । म केन्द्रमा छैन ।’
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासँगको भेटमा सामान्य छलफल भएको उनले बताइन् ।
‘उहाँ पनि मोरङकै हो, हामी पनि त्यहीँ जन्मे–हुर्केको हो । भेटको कुरालाई यस्तो ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ,’ उनले भनिन् ,‘देशका समस्याबारे केन्द्रीय नेताहरूले छलफल गर्नु राम्रो कुरा हो ।’
पूर्वराष्ट्रपति भण्डारीले तत्काल बाम एकताको बलियो आधार नदेखेको बताइन् । तर, असम्भव भने नभएको उनको भनाइ छ ।
प्रतिक्रिया 4