News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा क्लिक प्रालिको आयोजनामा पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता असोज ४ गते पोखरामा हुने भएको छ।
- ६ किमी दौड विश्वशान्ति स्तुपबाट सुरु भई कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुनेछ।
- प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५० हजार नगद पुरस्कार पाउनेछन् र ४० वर्ष माथिका भेट्रानलाई पनि प्रोत्साहन पुरस्कार दिइनेछ।
२ भदौ, पोखरा । पोखरा क्लिक प्रालिको आयोजनामा हुने पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता आउने असोज ४ गते हुने भएको छ ।
पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित विश्व पर्यटन दिवसको अवसर पारेर हुन लागेको उक्त दौडको तयारी तिव्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
६ किमी दौड विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुनेछ ।
उक्त पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० वर्ष माथिका भेट्रानतर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको प्रतियोगिताका संयोजक दीननाथ बरालले जानकारी दिए ।
अघिल्लो संस्करणका तुलनामा पुरस्कार राशि दोब्बर गरिएको र दुई इभेण्ट थप गर्दै प्रोत्साहन पुरस्कार व्यवस्था गरिएको बरालले जानकारी दिए ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार पाउनेछन् । यस्तै छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार प्रदान गरिने आयोजकले जनाएको छ ।
गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ रहेको थियो ।
यसैगरी, वडास्तरीय, खुल्ला महिला र यू–१६ तर्फका विजेतालाई १५ हजार र उपविजेतालाई सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ ।
उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले अनलाइन नाम दर्ता गराउन सक्नेछन् । नाम दर्ता सोमबारदेखि खुल्ला गरिएको प्रतियोगिातका निर्देशक ओम लामाले जानकारी दिए ।
पोखरा क्लिक डट कममा यही भदौ २५ गतेसम्म इच्छुकहरुले अनलाइन नाम दर्ता गर्न सक्नेछन्
पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित ७१ पुरुष र ३३ महिला धावकले अनलाइन फाराम भरेकामा प्रतिकुल मौसमका कारण ७९ जना सहभागी भएका थिए । जसमा खुलातर्फको उपाधि एपीएफ क्लवका निरोज भट्ट क्षत्रीले जितेका थिए ।
प्रतिक्रिया 4