
३ भदौ, गुल्मी । गुल्मी जिल्लामा लगातारको वर्षा र पहिरोका कारण सडक अवरोधको समस्या बढेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन महिनाको एक महिनाको अवधिमा जिल्लाका पाँच वटा मुख्य सडकहरु जम्मा ३८ पटकसम्म अवरुद्ध भएका छन् । सडक अवरोधका कारण २१२ घण्टासम्म सवारीसाधन चल्न नसकेको बताइएको छ ।
प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी अवरोध रुद्रावेणी-वामीटक्सार सडक खण्डमा भएको हो । यो सडक मात्र साउन महिनाभरि १७ पटक पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
यो सडकको डहरे खोलामा पक्की पुल अभावले अवरुद्ध हुने गरेको छ । बारम्बारको अवरोधले यात्रु, व्यापारी र स्थानीय बासिन्दालाई ठूलो सास्ती भएको छ ।
त्यस्तै कालिगण्डकी करिडोर, जुन राष्ट्रिय गौरवको आयोजनामार्फत निर्माणाधीन छ । साउन महिनामा १३ पटक अवरुद्ध भएको छ ।
अन्य तीन सडकहरू रिडी–तम्घास, रिडी-खज्याङ, र पनाहा-धुर्कोट-जैसिथोक सडक पनि पहिरोका कारण प्रभावित भएका छन् ।
रिडी-तम्घास सडक ५ पटक, रिडी-खज्याङ २ पटक, र पनाहा-धुर्कोट-जैसिथोक सडक १ पटक पहिरोले अवरुद्ध भएको प्रहरी कार्यालयको विवरणमा उल्लेख छ ।
सडक अवरुद्ध भएपछि प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र सडक डिभिजन कार्यालयबीच समन्वय गरेर सडक सुचारु गर्ने कार्य हुँदै आएको प्रहरीले जाएको छ ।
प्रतिक्रिया 4