
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउन दुईतिहाइ मत जुटाउने प्रयास गरिरहेका छन्।
- प्रतिनिधिसभा नियमावलीको नियम २१० अनुसार उपसभामुखलाई पद अनुकूल आचरण नगरेको भए एक चौथाइ सदस्यको प्रस्ताव र दुई तिहाइ बहुमतबाट हटाउन सकिन्छ।
- प्रतिनिधिसभामा २७४ सदस्य रहेका छन् र उपसभामुख हटाउन १८३ सांसदको समर्थन आवश्यक छ, कांग्रेस र एमालेसँग १६७ सांसद मात्र छन्।
३ भदौ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् । यसका निम्ति आवश्यक दुईतिहाइ मत जुटाउने प्रयास जारी रहेको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ ।
यो नियम अनुसार कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधिसभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ । २७५ सदस्यीय सभामा एक चौथाइ भनेको ६९ जना सांसद हो ।
तर, पदबाट हटाउनका लागि भने सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतबाट पारित हुनुपर्छ ।
हाल प्रतिनिधिसभामा २७४ जना बहाल रहेका छन् । रुपन्देही ३ बाट निर्वाचित सांसद दीपक बोहराको निधन भएकाले उक्त स्थान रिक्त छ ।
यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुईतिहाइ (१८२.६६) अर्थात्, १८३ जना सांसद आवश्यक पर्छ ।

नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ । कांग्रेस र एमालेलाई उपसभामुख हटाउने हो भने थप १६ जना सांसद आवश्यक पर्छ ।
सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४ जना सांसद छन् । नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् ।
प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् ।
जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको १, आजपाको १ र स्वतन्त्र २ जना रहेका छन् ।
प्रतिक्रिया 4