+
+
Shares

सुदूरपश्चिममा एमाले संस्थापन बलियो, विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले २ भदौमा बसेको ८औं पूर्ण बैठकमा विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
  • बैठकमा ७ वटा समूह बनाएर विधान संशोधनबारे छलफल गरी प्राप्त सुझावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरिएको छ।
  • प्रदेश कमिटीले कार्तिक २१ गते प्रदेश प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय पनि गरेको छ।

४ भदौ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको विधान संशोधन सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

२ भदौमा धनगढीमा बसेको प्रदेश कमिटीको ८औं पूर्ण बैठकले विधान संशोधन प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले बताइन् ।

एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेको बैठकमा विधान संशोधन प्रस्तावबारे ७ वटा समूह बनाएर छलफल भएको थियो ।

ती समूहबाट प्राप्त सुझावका आधारमा विधान संशोधन प्रस्ताव सर्वसम्मत रुपले पारित गरिएको विष्टले बताइन् ।

उनकाअनुसार बैठकमा समूहगत रुपमा लिखित र मौखिक प्राप्त भएका सुझावलाई लिपिबद्ध गरेर प्रतिवेदन केन्द्रीय कमिटीमा पठाइनेछ ।

पार्टीका प्रदेश सचिव रणबहादुर चन्दले प्रतिवेदन लेखनको काम भइरहेकाले निर्धारित समयभित्रै केन्द्रीय कमिटीलाई बुझाइने बताए ।

उनकाअनुसार १० भदौभित्र विधान संशोधनबारेका सुझाव संकलन गरेर केन्द्रमा पठाउने पार्टीले सर्कुलर गरेको छ ।

सोही सर्कुलरका आधारमा २ भदौमा प्रदेश कमिटीको बैठक बसेर सुझाव संकलन गरिएको चन्दले बताए । बैठकले अगामी कार्तिक २१ गते प्रदेश प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय समेत गरेको छ ।

कतिपय ठाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन रोक्न नहुने आवाज उठेका बेला सुदूरपश्चिममा भने विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

स्रोतकाअनुसार बैठकमा एक/दुई जना प्रदेश सचिवालय सदस्यले मौखिक रुपमा पूूर्व राष्ट्रपतिलाई पार्टीको सदस्य हुनबाट रोक्न नहुने, दुई कार्यकाल र ७० वर्षे उमेरहद कायमै राख्नुपर्ने सुझाव दिने बाहेक अन्यले भने केन्द्रीय कमिटीले तयार गरेको विधान संशोधनको प्रस्ताव उचित भएको धारणा राखेका थिए ।

तर समूहगत छलफलका क्रममा भने पार्टीको विधान संशोधनको प्रस्ताव राम्रो भएकाले हुबहु पारित गर्नुपर्ने सामूहिक सुझाव दिइएको छ ।

पार्टीको विधान संशोधन प्रस्तावका सम्बन्धमा सुझाव संकलन गर्न बसेको एमाले सुदूरपश्चिमको बैठकलाई महासचिव शंकर पोखरेल, सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र केन्द्रीय लेखा आयोग अध्यक्ष पुष्प कँडेलले सम्बोधन गरेका थिए ।

बैठकमा यी बाहेक स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावल, नारदमुनी राना, निरुदेवी पाल लगायतका नेताहरुको पनि सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?