
४ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले अराजकता, अनियमितताहरूलाई सरकारले प्राथमिकता दिन नसक्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिको बैठकमा बुधबार हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल भएको थियो ।
छलफलमा भाग लिँदै उनले सरकारमा बसेपछि एउटा सर्वाङ्गिण दृष्टिकोण राख्न जरुरी रहेको भनाइ राखे ।
‘सरकारमा भएपछि, सरकारमा बसेपछि एउटा सर्वाङ्गिण दृष्टिकोण राख्नुपर्छ । हामीले वायुसेवा पनि हामीले नै चलाउनुपर्ने हो,’ सांसद साउदले भने, ‘यसलाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व नेपाल सरकारको हो । यो कुरोलाई ध्यानमा हामीले राखेनौँ भने एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति भयो ।’
वायुसेवालाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व सरकारको भएको बताउँदै उनले यसलाई ध्यान नदिए एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति रहेको बताए ।
‘प्रमोट गर्नेकुरामा सरकारले के सरलीकरण गर्ने बाटो दिनसक्छ त्यसमा सरकारको दृष्टि हुनुपर्छ । अराजकता, अनियमितताहरुलाई हामीले प्राथमिकता दिन सक्दैनौं,’ उनले समिति बैठकमा भने, ‘नेपालमा धेरै दुर्घटना भइरहेका छन्, उड्डयन होस् वा अरु संस्थाहरु तिनीहरुलाई कुनै रुपमा नस्वीकारेको कारण पनि समस्या छ ।’
प्रतिक्रिया 4