+
+
Shares

डेंगु स्थायी महामारी : रोकथामको एक मात्र उपाय ‘खोज र नष्ट’ अभियान

हामीले डेंगुका जटिलताले मानिसको मृत्यु हुने अवस्था अनुभव गरिसकेका छौँ। यसले जिका र चिकेनगुनिया जस्ता अन्य रोग ल्याउने जोखिम पनि रहन्छ भन्ने कुरा विदेशका उदाहरणहरूले देखाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते २१:२०

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सन् २००० को दशकदेखि नेपालमा देखिन थाल्यो । सुरुमा यो रोग तराईमा मात्र सीमित भए पनि सन् २०१८ पछि पहाडी क्षेत्रमा समेत फैलियो र २०१९ मा त पहाडमा ठूलो प्रकोपकै रूपमा देखा पर्‍यो ।

प्रत्येक वर्ष प्रायः भदौ, असोज र कात्तिकमा डेंगु संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको देखिन्छ । देशका ७७ जिल्लामै डेंगु संक्रमित देखिएका छन् । तर हिमालमा देखिएको संक्रमण त्यहाँकै लामखुट्टेबाट भएको हो वा अन्यत्रबाट आयातित हो भन्नेबारे स्पष्ट प्रमाण भने छैन ।

डेंगुबाट बच्ने सबैभन्दा महत्वपूर्ण उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । त्यसका लागि साँझ–बिहान बाहिर ननिस्कनु, पूरा शरीर ढाक्ने लुगा लगाउनु, झ्याल–ढोकामा जाली हाल्नु, झुलमा सुत्नु र धुप वा अन्य कीटनाशक प्रयोग गर्नु प्रभावकारी उपाय हुन् । साथै सामुदायिक तहमा लामखुट्टे वृद्धि हुने स्थानलाई नष्ट गर्नु आवश्यक छ ।

विशेषगरी टायर, गमलाका प्लेट, प्लास्टिक बोतल वा अन्य कृत्रिम कन्टेनरमा जमेको पानी लामखुट्टे प्रजननका लागि उपयुक्त हुन्छ । यस्ता स्थानलाई निष्क्रिय बनाउने कामलाई यस वर्षदेखि ‘लार्भा नष्ट गर्ने अभियान’ को रूपमा सञ्चालन गरिएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सन् २००० को दशकदेखि नेपालमा देखा पर्यो । सुरुमा तराईमा मात्र सीमित डेंगु सन् २०१८ पछि पहाडी क्षेत्रमा फैलियो र २०१९ मा ठूलो प्रकोपको रूपमा देखिएको छ ।

नेपालमा यो रोग स्थायी रूपमा स्थापित भइसकेको छ र यहाँको तापक्रम तथा आर्द्रताले पनि लामखुट्टेको वृद्धि–विकासलाई सहयोग गरेको छ । त्यसैले हरेक वर्ष प्रकोप बढ्दै गएको छ ।

नेपालमा डेंगुका सबै चार प्रकारका भाइरस (सेरोटाइप) प्रमाणित भइसकेका छन् । एकभन्दा बढी पटक संक्रमण हुँदा जटिल अवस्था जस्तै: प्लाज्मा लिकेज, रक्तश्राव, अन्द्रा वा अंगमा असर हुने र मृत्यु दर बढ्ने सम्भावना रहन्छ ।

यही कारणले ‘खोज र नष्ट गर’ अभियान अत्यावश्यक भएको हो । यसले लामखुट्टे वृद्धि हुने स्थान पहिचान गरी निष्क्रिय पार्ने मात्र होइन, समुदायलाई सचेत बनाउने लक्ष्य राखेको छ । किनभने, एडिस एजिप्टी प्रजातिको लामखुट्टेले अन्य रोग जिका र चिकेनगुनिया पनि सार्छ ।

ब्राजिलमा सन् २०१४ मा जिका प्रकोप हुँदा जन्मजात विकृति (माइक्रोसेफाली) भएका बालबालिका जन्मिएका थिए । त्यस्तै, २०१६ मा चिकेनगुनिया महामारी आयो, जसले लामो समयसम्म जोर्नी दुख्ने समस्या निम्त्यायो । भारतको महाराष्ट्रमा अहिले पनि चिकेनगुनियाको प्रकोप भइरहेको छ । चाडबाडमा मानिसहरूको आवतजावत बढ्ने भएकाले नेपालमा पनि संक्रमण फैलन सक्ने जोखिम रहन्छ ।

त्यसैले नेपालमा डेंगु, चिकेनगुनिया र जिका रोग फैलन सक्ने सम्भावना उच्च छ । संसारभर आवतजावत बढ्दै जाँदा एल्लो फिभरजस्ता अन्य रोगहरूको पनि जोखिम थपिन सक्छ ।

खोज र नष्ट गर अभियान

अभियानको मुख्य उद्देश्य जनतालाई लामखुट्टे प्रजननस्थलको पहिचान र नियन्त्रणबारे सचेत गराउनु हो । समुदायले आफैं पनि यस्ता स्थान नष्ट गर्ने व्यवहार अपनाउन जरुरी छ । यसरी मात्रै हरेक वर्ष दोहोरिने डेंगुको प्रकोपलाई न्यूनीकरण गर्न सकिन्छ ।

डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले पारेको अण्डा अर्को वर्ष वयस्क लामखुट्टे हुँदा त्यसले डेंगु सार्न सक्छ । त्यसैले हामी प्रत्येक वर्ष जोखिममा छौँ । आउँदो पुस्ता पनि सधैँ जोखिममा रहने अवस्था रहन्छ । त्यसै कारण नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले यो अभियान सुरु गरेको हो ।

डा. अनुप बास्तोला

यसमा पनि दुईटा पक्ष छन् । घरवरिपरि सरसफाइ मात्र गरेर डेंगुबाट जोगिन सकिन्छ भन्ने अवस्था छैन । किनकि, कार्यालयको वरिपरि पनि पानी जम्ने र त्यहाँ पनि लामखुट्टेको वृद्धि विकास हुने स्थानहरू रहन्छन् । सँगसँगै समुदायमा पनि यो बृहत् रूपमा जानुपर्छ भनेर कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपालमा डेंगु स्थायी रूपमा स्थापित भइसकेको छ। यहाँको तापक्रम र आर्द्रता लामखुट्टेको वृद्धि–विकासमा सहयोगी छ । नेपालमा डेंगुका सबै चार प्रकारका भाइरस (सेरोटाइप) प्रमाणित भइसकेका छन् । एकभन्दा बढी पटक संक्रमण हुँदा जटिल अवस्था, प्लाज्मा लिकेज, रक्तश्राव, आन्द्रा वा अंगमा असर र मृत्युको जोखिम बढ्छ ।

लामखुट्टेको वृद्धि विकास हुने ठाउँ भनेको पानी जमेको ठाउँ हो । वर्षाको कारणले पानी जमेको ठाउँमा मुख्यतः टायरहरू, गमलाका प्लेटहरू र फालेका कन्टेनरहरूमा यसको वृद्धि विकास हुनसक्ने अवस्था रहन्छ । लामखुट्टे हुर्किन चाहिने तापक्रम मुख्यतः २८ देखि ३२ डिग्री सेन्टिग्रेड हो ।

अहिले यसको अर्को प्रजाति एडिज एल्बोपिक्टस १६ डिग्री सेन्टिग्रेडभन्दा तलको तापक्रममा पनि विभिन्न युरोपियन देशहरूमा पाइएको छ जसले डेंगु संक्रमण गराइरहेको छ । मुख्यतः अहिलेको हाम्रो तापक्रम र आर्द्रताले यसलाई वृद्धि विकास गर्न एकदमै मद्दत गर्छ ।

यो लामखुट्टे विशेषगरी मानिसहरूसँग बस्न रुचाउँछ । घरभित्र पर्दामुनि अँध्यारो ठाउँमा, अलिकति छायामुनि र टेबलमुनि बस्न रुचाउँछ । यसले मुख्यतः घाम झुल्कने समय र घाम अस्ताउने समयको केही घण्टा अगाडि पछाडि टोक्ने गर्छ ।

डेंगुका लक्षण

१० हजार व्यक्ति समुदायमा संक्रमित भएमा १ हजार जतिलाई डेंगुका लक्षणहरू देखिन्छन् । यसमध्ये ५०० जनालाई साधारण भाइरल फ्लु जस्ता लक्षण देखिन्छन्, जसलाई हड्डी भाँचिएको ज्वरो वा ब्रेक बोन फिभर भनिन्छ ।

डेंगु भएका व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, आँखाका गेडी दुख्ने, मांसपेसी दुख्ने, घुँडा दुख्ने, पिँडौला करकर खाने र ढाड दुख्ने जस्ता लक्षण देखिन्छन् । केही व्यक्तिमा शरीरमा राता दानाहरू पनि देखा पर्छन् ।

डेंगु संक्रमण भएका व्यक्तिमा ज्वरो घटेको अवस्थादेखि ७२ घण्टासम्म क्रिटिकल फेज हुन्छ, जसमा जटिलतामा जाने सम्भावना रहन्छ ।

खतरनाक लक्षण

घरमा आराम गरेर उपचार गराइरहेका डेंगु बिरामीमा यदि एक्कासि पेट दुख्यो, तारतार बान्ता हुन थाल्यो, गिजाबाट रगत बग्यो, सास फेर्न गाह्रो भयो, पेट सुनिएको जस्तो भयो, खुट्टाहरू सुनिएको जस्तो भयो, उठ्नै नसकेको वा लखतरान परेको अवस्था देखियो भने तुरुन्त अस्पतालमा गएर चिकित्सकसँग भर्ना भएर उपचार गराउनुपर्छ । अन्यथा ५–७ दिनमा ज्वरो घटेर गएपछि मानिसहरू आफैं ठीक भएर जान्छन् ।

डेंगुका मिथ र वास्तविकता

डेंगु संक्रमणमा प्लेटलेट घट्छ भने मेवाको पात खायो भने ठिक हुन्छ भन्ने मिथ छ । तर यसले खासै केही प्रभाव पार्दैन । त्यसैगरी प्लेटलेट घटेको अवस्थामा प्लेटलेट चढायो भने प्लेटलेट बढ्छ भन्ने धारणा पनि अहिलेसम्मका अध्ययन अनुसन्धान र रिभ्यु आर्टिकलहरूले पुष्टि गरेको छैन ।

डेंगु भाइरल ज्वरो भएको कारण एन्टिबायोटिकको प्रयोग गर्नु हुँदैन । अन्य ब्याक्टेरियाको इन्फेक्सन भएको अवस्थामा मात्र चिकित्सकले रगतको परीक्षण गरेर पत्ता लगाएपछि एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ । जथाभावी एन्टिबायोटिकको प्रयोग वा प्लेटलेट घट्यो भनेर आत्तिनु उचित होइन किनकि डेंगु रोगको एक प्राकृतिक प्रक्रिया हो जुन आफैं समाधान भएर जान्छ ।

भविष्यका पुस्ताको सुरक्षा

डेंगु रोग स्थापित भइसकेको अवस्थामा अहिलेको पुस्ता संक्रमित भयौँ, अब अर्को पुस्तालाई हुँदैन भन्ने सोच्नु गलत छ ।

डेंगु संक्रमण अब आउने पुस्तालाई पनि सधैँ भइरहन सक्ने भएकाले लामखुट्टेको वृद्धि विकास रोक्ने तरिका के हो ? लामखुट्टेले कसरी वृद्धि विकास र प्रजनन कसरी हुन्छ ? ती कुराहरू हामीले बालबच्चालाई सिकाउँदा नयाँ पुस्ताहरूलाई जोगाउन सकिन्छ ।

बालबालिका, वृद्धहरू, मुख्यतः दीर्घ रोगीमा डेंगु संक्रमणको जटिलता बढी हुन्छ । त्यसैले आउने पुस्ता जोगाउन खोज र नष्ट अभियान चलाउनुपर्छ र लामखुट्टेको वृद्धि विकास तथा प्रजनन हुने कृत्रिम स्थानहरूको बारेमा जानकारी आम नागरिक र बच्चाहरूलाई शिक्षा दिन जरुरी छ ।

समुदायिक सहभागिताको आवश्यकता

खोज र नष्ट गर्दा समुदायको सहभागिता आवश्यक छ । छिमेकमा रहेका अन्य स्थानहरूमा सरसफाइ भएन र त्यसलाई निष्क्रिय गर्न सकिएन भने लामखुट्टे १०० देखि ३०० मिटरसम्म उड्न सक्छ । छिमेकमा रहेको लामखुट्टेले तपाईंलाई टोकेर डेंगु हुनसक्छ । त्यसैले यसमा बृहत जनसहभागिता जरुरी छ ।

कार्यालयको सरसफाइसँगसँगै समुदायको सहभागितामा, मुख्यतः स्थानीय सरकारहरू र वडाध्यक्षबाट प्रत्येक घर, त्यहाँ रहेका फोहोर फाल्ने ठाउँ अथवा अव्यवस्थित ठाउँहरू अथवा कन्टेनर जम्मा हुने ठाउँहरूको बारेमा जानकारी लिनुपर्छ ।

समुदायलाई बृहत् रूपमा सहभागिता गराएर लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान हप्ताको एक दिन चलाउनुपर्छ ।

लामखुट्टे १२ दिनमा नै विकसित हुन सक्ने भएकाले प्रत्येक हप्ता स्थानीय नेता र वडाध्यक्ष लगायत अन्य व्यक्तित्वहरूको सहभागितामा अभियान चलाउँदा डेंगु संक्रमितको संख्या घटाउन सकिन्छ ।

लामखुट्टे नियन्त्रणका चुनौती

अघिल्ला वर्षहरूको अनुभवले लामखुट्टेको लार्भा नष्ट गर्न जतिसुकै अभियानहरू चलाए पनि डेंगुका बिरामीको संख्या घटाउनमा अपेक्षित सफलता हासिल हुन सकेको छैन । यसका दुई मुख्य कारण छन् । पहिलो, आम सर्वसाधारणको व्यापक सहभागिता जुटाउन नसकेको अवस्था । दोस्रो, केही कन्टेनरहरू सफा गरे पनि अन्य स्थानमा लामखुट्टेको प्रजनन भइरहनु ।

हाल कौशी खेतीको प्रचलनसँगै यसका गमलाका प्लेटहरूमा पानी जमिरहेको हुन्छ । यी प्लेटहरूमा भएका लार्भालाई चिन्न नसक्दा वा सफा गर्न नसकेको कारणले लामखुट्टेको वृद्धि विकास भइरहेको छ ।

हाल कौशी खेतीको प्रचलनसँगै यसका गमलाका प्लेटहरूमा पानी जमिरहेको हुन्छ । यी प्लेटहरूमा भएका लार्भालाई चिन्न नसक्दा वा सफा गर्न नसकेको कारणले लामखुट्टेको वृद्धि विकास भइरहेको छ ।

त्यसैगरी टायर संकलन केन्द्रहरू लामखुट्टेको प्रजनन स्थान बनेका छन् । विशेषगरी राजधानी लगायत शहरी क्षेत्रहरूमा यस्ता स्थानहरू व्यवस्थित रूपमा फैलिएका छन् । यी समस्याको समाधानका लागि त्यस्ता स्थानहरूलाई पहिचान गरेर निष्क्रिय गर्न जरुरी छ ।

लामखुट्टे नष्ट गर्ने अभियान

समुदायमा उडिरहेका लामखुट्टेलाई निष्क्रिय पार्न फगिङ पनि गर्न सकिन्छ । तर हामी फगिङलाई पहिलो विकल्पको रूपमा लिँदैनौं । हाम्रो मुख्य उद्देश्य र लागत प्रभावकारिताका दृष्टिकोणले हेर्दा हाम्रो अवस्थामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान नै सबैभन्दा मुख्य उपाय हो । यसले लामखुट्टेको पूरै वृद्धि विकासलाई रोक्छ ।

फगिङ गरेर वयस्क लामखुट्टेलाई मात्र मारेर, बाहिर भएका अण्डा, लार्भा, प्युपा र त्यसबाट विकसित हुने लामखुट्टेलाई भने नष्ट गर्न सकिँदैन । त्यसैले हामीले लामखुट्टेको प्रजनन स्थललाई नै निष्क्रिय पार्नुपर्छ र त्यसपछि बाँकी रहेका वयस्क लामखुट्टेका लागि फगिङ गर्न सकिन्छ ।

यो लामखुट्टे इन्डोफेगिक प्रकारको हो, जसले घरभित्र छिरेर टोक्ने गर्छ । त्यसकारण अन्य उपायको तुलनामा खोज र नष्ट गर्ने अभियान प्रभावकारी उपाय हो । यसले पूर्ण रूपमा निवारण गर्न त गाह्रो छ, तर लामखुट्टेको वृद्धि विकास घटाएर डेंगु बिरामीहरूको संख्या र जोखिमलाई न्यूनीकरण गरी मृत्यु दरलाई पनि घटाउन सकिन्छ ।

साउनमा सुरु भएको सचेतना र लार्भा नष्ट अभियान अर्को तीन–चार महिनासम्म लगातार चलाइनेछ । यसलाई प्रभावकारी बनाउने उद्देश्यले आम नागरिकले लामखुट्टेको लार्भा के हो ? यसलाई कसरी नष्ट गर्न सकिन्छ ? डेंगु सार्ने लामखुट्टे किन घर वरिपरि फैलिरहेको छ भन्ने बुझ्नुपर्छ ।

कार्यालयमा सरसफाइ मात्र पुग्दैन, छिमेकीको पनि सफा हुनुपर्छ । कार्यालयमा आठ घण्टा बिताउने भएकाले त्यहाँको जोखिम पनि न्यूनीकरण गर्नुपर्छ । समुदायमा व्यापक रूपमा लामखुट्टेको बासस्थान र वृद्धि विकास हुने कृत्रिम स्थानहरूको पहिचान गराउनुपर्छ ।

पम्प्लेटहरू स्कुलमा पुर्याएर विद्यार्थीको गृहकार्यमार्फत घर–घरमा पुर्याउन सकिन्छ । अभिभावकले अध्ययन गरेर यो अभियानको आवश्यकता महसुस गर्नुपर्छ । यो अभियान नेपालका लागि अत्यन्त आवश्यक भएको छ र नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले यसलाई प्राथमिकता दिएको छ । आफ्नो, बच्चाहरूको र आउने पुस्ताका लागि यो शिक्षा अपरिहार्य छ ।

हामीले कोराना महामारीका बेला देख्यौँ, कोरोनाका बिरामी धेरै हुँदा अन्य बिरामीले उपचार पाउन सकेनन् । धेरै शल्यक्रिया पछि सार्नुपर्‍यो । त्यसैगरी डेंगुको प्रकोप घटाउन सकियो भने अन्य सेवामा पर्ने असर पनि कम हुन्छ । यसले आर्थिक, स्वास्थ्य, सामाजिक सबै क्षेत्रमा ठूलो फाइदा पुर्‍याउँछ ।

तर, डेंगु सामान्य रोग मात्र होइन । एउटै व्यक्तिलाई दोस्रो पटक संक्रमण भयो भने अवस्था गम्भीर हुनसक्छ । आन्द्रामा रक्तस्राव वा शरीरमा प्लाज्मा लिकेज भएर रक्तचाप घट्दा मृत्यु नै हुन्छ ।

विशेषगरी बच्चा, बृद्ध, दीर्घरोग भएका (जस्तै मधुमेह, उच्च रक्तचाप) व्यक्तिहरू बढी जोखिममा हुन्छन् । त्यसैले जोगाउन सक्ने एउटा मुख्य उपाय भनेकै लामखुट्टेको वृद्धि विकास रोक्नु हो ।

हामीले डेंगुका जटिलताले मानिसको मृत्यु भएको अनुभव गरिसकेका छौँ । यसले जिका र चिकेनगुनिया जस्ता अरू रोग ल्याउने खतरा पनि छ भन्ने कुरा बाहिरका उदाहरणले देखाएका छन् । त्यसैले यसलाई रोक्न सामुदायिक तहमै सबैको सहभागिता अनिवार्य छ ।

थोरै समय सामूहिक मिहिनेत गरेर प्रकोप घटाउन सकिन्छ र भविष्यका पुस्ता, वृद्ध, युवा सबैलाई सुरक्षित राख्न सकिन्छ ।

(डा. बास्तोलासँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित ।)

फोटो/भिडियो : चन्द्र आले

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?