
News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत २६ वर्षीया रुवीकुमारी साह भएको प्रहरीले जनाएको छ।
- मृतक रुवीकुमारी साहको घर भारतको मुजफ्फरपुर रहेको र उनका एक छोरा छन्।
- प्रहरीले हत्या गरेर शव सुटकेसमा राखेर फालेको आशंका गरेको छ।
८ भदौ, जनकपुरधाम । रौतहटमा बन्द सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।
मृतक रौटहटको माधव नारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।
‘प्रारम्भिक अनुसन्धानमा उनी रुवीकुमारी साह रहेको खुलेको छ । उनका आफन्तहरु आएका छन् । मृतकको घर भारतको मुजफ्फरपुर हो । थप कुराहरु बुझ्ने काम हुँदैछ’ डिएसपी कार्कीले भने ।
उनका अनुसार मृतक रुवीका एक छोरा छन् । एक महिनादेखि माधवपट्टीमा उनी डेरा गरी बस्दै आएकी थिइन् । उनको हत्या गरेर शव सुटकेसमा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ ।
शनिबार राति साढे १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका ९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । शंकास्पद लागेर प्रहरीले रातभर रुँगेर बसेको थियो ।
आज बिहान सुटकेस खोलेर हेर्दा त्यसभित्र सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।
प्रतिक्रिया 4