+
+
Shares

सरकारको ढुकुटी ४ खर्ब २ अर्बले घाटामा

राष्ट्र बैंकका अनुसार यस आवमा तीन वटै तहका सरकारको एकीकृत वित्त स्थिति १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँले बचतमा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८१/८२ मा सरकारको वित्त ४ खर्ब २ अर्ब ४२ करोड रुपैयाँ घाटामा रहेको छ।
  • तीन तहका सरकारको एकीकृत वित्त स्थिति १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँले बचतमा छ।
  • सरकारले गत आवमा ३ खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण र १ खर्ब २५ अर्ब ४० करोड वाह्य ऋण लिएको छ।

८ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ सरकारको ढुकुटी (वित्त) ४ खर्ब २ अर्ब रुपैयाँले घाटामा रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार यस आवमा सरकारको ढुकुटी ४ खर्ब २ अर्ब ४२ करोडले घाटामा रहेको छ ।

अघिल्लो आव २०८०/८१ मा सरकारी वित्त ३ खर्ब ७९ अर्ब ३८ करोडले घाटामा थियो । गत आव सरकारले गत आवमा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो ।

राष्ट्र बैंकका अनुसार यस आवमा तीन वटै तहका सरकारको एकीकृत वित्त स्थिति १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँले बचतमा छ । यसबाट केन्द्र सरकारबाट हस्तान्तरण हुने रकम तल्ला सरकारमा गएर थुप्रिने तर खर्च नहुने समस्या दोहोरिएको देखिन्छ ।

गत आव सरकारको कुल खर्च १५ खर्ब २३ अर्ब ११ करोड रहेको छ । यसमध्ये चालु खर्च ९ खर्ब ८० अर्ब ३८ करोड र पूँजीगत खर्च २ खर्ब २२ अर्ब ६८ करोड छ । वित्तीय व्यवस्थातर्फको खर्च ३ खर्ब २० अर्ब ५ करोड छ ।

यस आव राजस्व परिचालन भने ११ खर्ब ८९ अर्ब ८२ करोड रहेको छ । जसमा प्रदेश र स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत उल्लेख छ । उठेको राजस्वमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८८ करोड र गैरकर राजस्व १ खर्ब २० अर्ब ९४ करोड छ ।

वित्त घाटा पूर्ति गर्न सरकारले गत आव ३ खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण परिचालन गरेको छ । वाह्य ऋण भने १ खर्ब २५ अर्ब ४० करोड लिएको छ । यस आवमा आन्तरिक ऋण भुक्तानी भने २ खर्ब ४३ अर्ब ९१ करोड बराबर भएको छ ।

असार मसान्तसम्म सरकारको कुल बक्यौता ऋण २६ खर्ब ६९ अर्ब ६५ करोड रहेको छ । यसमा वाह्य ऋण १४ खर्ब १ अर्ब ४२ करोड र आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड छ । यो कुल गार्हस्थ उत्पादनको तुलनामा ४३.७१ प्रतिशत हो । अघिल्लो वर्षसम्म नेपाल सरकारका खातामा १ खर्ब ३० अर्ब ७३ करोड मौज्दात रहेको देखिन्छ । जुन स्थानीय र प्रदेश सरकारका खातामा रहेको समेत रकम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?