+
+
Shares

गाजामा इजरायली सेनाको आक्रमणमा परी ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १६:२५

९ भदौ, काठमाडौं । गाजामा इजारायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित  कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई सोमबार इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ ।

गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् ।

समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको छ । मृतक बाँकी तीन जना पत्रकार अल जजिरा, एसोसिएट प्रेस(एपी) र एनबीसीमा कार्यरत रहेको खुलेको छ ।

हमासले सञ्चालन गरिरहेको नागरिक सुरक्षा समितिका अनुसार सुरुवाती आक्रमणमा कयौं मानिस मारिएका थिए । त्यसपछि उद्धारका लागि पुगेको टोलीमाथि पुन: इजरायली सेनाले आक्रमण गर्दा थप मानिसको मृत्यु भयो ।

इजरायली सेना र प्रधानमन्त्री कार्यालयले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनापछि सार्वजनिक भएका भिडियो फुटेजमा गाजाको दक्षिणी क्षेत्रको मुख्य नासेर अस्पतालमा धुँवा उडिरहेको देखिन्छ । समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरापर्सन हुसाम अल–मसरीको मृत्यु पुष्टि गरेको छ ।

मृत्यु हुने अन्य पत्रकारमा अल जजिरामा कार्यरत मोहम्मद सलामा, एपीमा कार्यरत मरियम अबू दग्गा र अमेरिकी टेलिभिजन एनबीसीमा कार्यरत फोटोग्राफर मोअज अबु तहा रहेका छन् ।

घटनास्थलमा फेला परेको सोमबारको आक्रमणमा मारिएका रोयटर्समा कार्यरत क्यामेरा पर्सन हुसाम अल–मसरीले प्रयोग गर्दै क्यामेरासहितका उपकरण । तस्वीर : हतेम खालेद/रोयटर्स

रोयटर्समै काम गर्दै आएका फोटो पत्रकार हतेम खालेद आक्रमणमा परेर घाइते भएका छन् । उनी अस्पतालमा भएको दोस्रो आक्रमणमा परेर घाइते भएका अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

दुई हप्ताअघि मात्रै पनि गाजा सिटीको अल–शिफा अस्पताल नजिकै इजरायली सेनाले गरेको आक्रमणमा परेर ६ जना पत्रकारको मृत्यु भएको थियो ।  जसमा ४ जना अल जजिरामा कार्यरत पत्रकार थिए ।

संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन भनेको छ ।

यसअघिको घटनामा इजरायली सेनाले अल जजिराका  रिपोर्टर अनस अल–शरीफमाथि गाजामा सक्रिय विद्रोही समूह हमाससँग जोडिएको आरोप लगाएर निसाना बनाएको थियो ।

पत्रकारहरूको संरक्षण र हितमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था सीपीजेले आफूले लगाएका आरोपमा इजरायलले प्रमाण पेश गर्न नसकेको प्रतिक्रिया दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?