
१० भदौ, काठमाडौं । मितेरी सहकारीको रकम अपचलनको आरोप लागेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको सोमबारको इजलासले ज्योतिबहादुर भण्डारी र उनका सहयोगी भनिएका सुवास खत्रीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अर्का प्रतिवादी सुरेश अधिकारी भने सात लाख धरौटीमा रिहा भएका छन् । उनीहरुलाई कम्बोडियाबाट पक्राउ गरेर ल्याइएको थियो ।
सहकारीकी तत्कालीन महाप्रबन्धक तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ, सहकारीका अध्यक्ष ८१ वर्षीय कुम्भराज राई, खोटाङका विजयुकुमार राई, बाग्लुङका प्रतिम अधिकारी र सिन्धुपाल्चोकका अर्जुन अरामलाई पनि प्रतिवादी बनाइए पनि उनीहरु फरार छन् ।
उनीहरुविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, अभौतिक मुद्राको कसुर, राष्ट्र बैंक अन्तर्गतको कसुर, संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
यो समूहले सहकारीको १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ । त्यसैगरी सहकारीको रकम तिर्ने भन्दै उल्टै रकम हाल्न लगाएर ३ करोड ४२ लाख ८२ हजार ४२० रुपैयाँ ठगी गरेकाले उक्त रकम बराबरको बिगो पनि माग दाबी गरिएको थियो ।
६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ९ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको पाइएको भन्दै राष्ट्र बैंकअन्तर्गतको कसुरमा पनि मुद्दा चलाइएको थियो ।
प्रतिक्रिया 4