
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले ओभरफ्लो भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ।
- पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सतलज नदीमा बढ्दो जलस्तरबारे चेतावनी जारी गर्दै दशौं हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जनाएको छ।
- भारतले सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै इस्लामाबादलाई सचेत गराएको यो पहिलो सार्वजनिक कूटनीतिक सम्पर्क हो।
१० भदौ, लाहोर । छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीहरूले दशौं हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।
नयाँदिल्लीले इस्लामाबादलाई सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै सचेत गराएको थियो । यो सूचना हालका महिनामा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीबीच भएको पहिलो सार्वजनिक कूटनीतिक सम्पर्क पनि हो ।
पाकिस्तानको राष्ट्रीय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले सतलज नदीमा बढ्दो जलस्तरबारे चेतावनी जारी गर्दै पञ्जाब प्रान्तका विभिन्न जिल्लाबाट जनतालाई स्थानान्तरण गरिएको जनाएको छ ।
उद्धारकर्ताहरूले मात्र कसुर जिल्लाबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा पुर्याएका छन् भने भारतीय सीमा नजिकको बहावलनगर सहरबाट ८९ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित क्षेत्रमा सारिएको छ ।
एनडिएमएले नागरिकलाई नदी, खोल्सा र तल्लो क्षेत्रहरूबाट टाढा रहन, अनावश्यक यात्रा नगर्न र मिडिया, मोबाइल सन्देश तथा आफ्नो विपद् चेतावनी एपमार्फत प्रसारित सूचनाहरूलाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ ।
भारी मनसुनी वर्षा जारी रहँदा पाकिस्तानले हालै तीव्र बाढीको चेतावनी र निकासी अभियान चलाएको हो । उत्तरपश्चिमी बुनेर जिल्लामा यसै महिना आएको आकस्मिक बाढीमा तीन सयभन्दा बढी मानिसको ज्यान गएको थियो ।
स्थानीय बासिन्दाले पूर्व चेतावनी नपाएको गुनासो गरेका थिए, तर अधिकारीहरूले आकस्मिक आरीघोप्टे पानी पर्नुका कारण बाढी अनुमान गर्न नसकिएको बताएका छन् । धेरै पीडितहरू प्राकृतिक खोल्सामा बसोबास गर्नेहरू थिए ।
जुन २६ यता पाकिस्तानमा मनसुनी वर्षाबाट निम्तिएको बाढीले आठ सयभन्दा बढीको ज्यान लिएको छ । विवादित काश्मीर क्षेत्रमा मात्रै दर्जनौँको मृत्यु भएको छ र भारत प्रशासित भागमा हजारौं विस्थापित भएका छन् ।
यसपटकको बाढी चेतावनी सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धि अन्तर्गतको स्थायी संयन्त्र (सिन्धु जल आयोग) बाट नभई प्रत्यक्ष कूटनीतिक माध्यममार्फत पठाइएको हो ।
भारतले अप्रिलमा काश्मीरमा २६ जना पर्यटक मारिएपछि उक्त आयोग स्थगित गरेको थियो । पाकिस्तानले भने यो सन्धि एकतर्फी खारेज गर्न नसकिने स्पष्ट पारेको छ ।

सिन्धु जल सन्धि विगतमा सन् १९६५ र सन् १९७१ का युद्ध र सन् १९९९ को ठूलो सीमा झडपसम्म पनि कायम रहन सफल भएको थियो । तर पर्यटक हत्यापछि भारतले सन्धि निलम्बन मात्र नगरी, कूटनीतिक सम्बन्ध पनि कटौती गरेको थियो ।
जसको परिणामस्वरूप मे महिनामा दुवै पक्षबीच मिसाइल आक्रमणसमेत भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा युद्धविराम भएपछि मात्र आक्रमण रोकिन पुगेको थियो । त्यसयता सम्बन्ध सामान्यीकरणका प्रयास देखिएको छैन ।
हालै पाकिस्तानले बारम्बार आरीघोप्टे वर्षाले ल्याउने बाढी र सामान्यभन्दा बढी वर्षा भोगिरहेको छ । देशमा मनसुनी मौसम जुलाईदेखि सेप्टेम्बरसम्म चल्छ ।
विज्ञ र मौसमविद्हरूले यस क्षेत्रमा बढ्दो वर्षालाई जलवायु परिवर्तनको असर ठहर गरेका छन् । यस वर्षको वर्षाले सन् २०२२ को विनाशकारी बाढी दोहोरिने डर पैदा गरेको छ । सन् २०२२ को विनाशकारी बाढीले देशको एक तिहाइ भूभाग डुबाएको थियो र एक हजार सात सय ३९ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4