
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले इन्दिरा राना मगरको संस्थाले नेपाल बाल मन्दिरबाट लगिएका बालबालिकाको विवरण माग्दै पत्राचार गरेको छ।
- सत्ता गठबन्धनले उपसभामुखबाट रानालाई हटाउने तयारी गरिरहेको बेला बाल मन्दिरबाट लगिएका बालबालिका फिर्ता नआएको विषय उठेको थियो।
- पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समितिले बाल संगठन र बालमन्दिरका अनियमितताबारे प्रतिवेदन तयार पारेको छ।
१० भदौ, काठमाडौं । उपसभामुख बन्नुअघि इन्दिरा राना मगरले सञ्चालन गरेको बन्दी सहायता नेपाललाई नेपाल बाल मन्दिरबाट लगिएका बालबालिकाको विवरण माग्दै प्रहरीले पत्राचार गरेको छ ।
प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले बन्दी सहायता विवरणलाई विवरण माग्दै पत्राचार गरेको ब्यूरोका एसपी नरेन्द्र कुवँरले पुष्टि गरे । ‘पत्र गएको हो, तर जवाफ आएको छ/छैन लगायतका विषयमा मलाई जानकारी छैन,’ उनले भने ।
सत्ता गठबन्धनले रानालाई उपसभामुखबाट हटाउने तयारी गरिरहेका बेला बाल मन्दिरबाट उनको संस्थाले लगेको बालबालिका फिर्ता नआएको विषय उठेको थियो । त्यसपछि प्रहरीले समेत चासो देखाएको थियो ।
यसअघि काठमाडौंस्थित अमेरिकी दूतावासलाई भिसाको मिति माग्दै पत्र लेखेको विषयलाई लिएर रानामाथि प्रश्न उठेको थियो ।
२०७७ मा नेपाल बाल संगठनका पदाधिकारी बालकृष्ण डंगोल* बेलायती नागरिक डोना स्मिथलाई अवैधरुपमा बच्चा दिएको आरोपमा पक्राउ परेका थिए । त्यसपछि नेपाल बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे छानबिन गर्न पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।
त्यसको प्रतिवेदनमा उल्लेखित बयानमा बाल संगठनको लामो समय नेतृत्व गरेकी रीता सिंह वैद्यले ‘इन्दिरा रानाको संस्थाले बाल संगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चा दिनुस्, म राख्छु’ भनेको उल्लेख छ ।
समितिमा बालबालिकासम्बन्धी विज्ञतर्फबाट मिलन धरेल, विमला ज्ञवाली, गृहमन्त्रालयका सहसचिवस्तरीय प्रतिनिधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बालबालिका हेर्ने महाशाखा प्रमुख सदस्य सचिव थिए ।
उनले बयानमा भनेकी छन्:
‘बालगृहमा आश्रित बालबालिकालाई अन्य बाल गृहमा लैजाने विषयमा विशेषत: जेलको बच्चाहरूलाई सारेको भन्ने थाहा छ । इन्दिरा रानाको संस्थाले बालसंगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चाहरू दिनुस् म राख्नु भनेकोले ३ जना कि ५ जना बच्चाहरू पठाएको हो । मैले पनि उहाँको संस्थामा हेरेँ । राम्रो सुविधा रहेछ । अनि पठाएको हो । छात्रवृत्तिसहित खुशी घर संस्थालाई (एडप्सन रोकिएको बेला) हामीसँग पैसा नभएर गाह्रो भएका बेला बच्चाहरू पठाएको हो । मलाई पछि जानकारुी आयो । त्यहाँ राम्रो सुविधा थियो, विदेशीहरूको राम्रो सहयोग थियो । पछि मैले ल्याउँछौं पनि भनेको हो । बच्चाहरू नै आउन मानेनन् ।’
(*भूल सुधार : यसअघि प्रस्तुत समाचारमा बालकृष्ण डंगोलको नाम हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ -सम्पादक)
प्रतिक्रिया 4