+
+
Shares

एमाले बैठक स्थगन : कारण प्राविधिक कि राजनीतिक ?

पार्टी संस्थापन पक्षले केन्द्रीय कमिटी बैठक सार्न गरेको तर्कमा इतर पक्षका नेताहरु सहमत छैनन् । ‘केन्द्रीय कमिटी बैठक सार्दा गरिएका तीन वटै तर्क प्राविधिक हुन् । प्राविधिक कारणले बैठक अनिश्चित गरियो भन्ने विश्वास गर्न सकिँदैन’, संस्थापन इतरका एक नेता भन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते २०:४७
फाइल तस्वीर

१० भदौ, काठमाडौं । नेकपा एमालेले दोस्रो विधान महाधिवेशनको नारा तय गरेको छ । राजनीतिक प्रतिवेदन लेखिरहेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नारा टुंग्याएका हुन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘विधान महाधिवेशनका लागि तयार हुँदै गरेको राजनीतिक प्रतिवेदनमा यो नारा टुंगो लगाइएको छ’, उनले भने ।

विधान महाधिवेशनको नारा टुंगो लगाएका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक भने निर्धारित मितिमा नबस्ने निर्णय पनि लिएका छन् । यसअघि १३ भदौमा केन्द्रीय कमिटी बैठक बस्ने सूचना सार्वजनिक भएको थियो ।

तर पूर्वनिर्धारित मितिमा बैठक नबस्ने अर्को सूचना आज सार्वजनिक भएको छ । आवश्यक तयार पूरा नभएकाले बैठक स्थगित गर्नुपरेको स्थायी समिति सदस्य गौतम बताउँछन् । उनका अनुसार केन्द्रीय समिति बैठक स्थगित गरिनुमा तीन कारण छन् ।

‘सबै सदस्यसँग विधान संशोधन मस्यौदामा सुझाव मागिएको छ । धमाधम सुझावहरु आइरहेका छन्’ गौतम भन्छन्, ‘आएका सुझावहरुलाई कति स्वीकार्ने, कति अस्वीकार गर्ने भन्ने हेर्नलाई पनि समय लाग्ने भयो । बैठक स्थगित गर्नुको यो पहिलो कारण हो ।’

बैठक स्थगित गर्नुको अर्को कारण अरु प्रतिवेदनहरु पनि तयार नहुनु रहेको उनी बताउँछन् । ‘राजनीतिक प्रतिवेदनलाई फाइनल टच गर्नुपर्नेछ । महासचिवले तयार पारेको संगठनात्मक प्रतिवेदन अध्यक्षले हेर्न बाँकी छ’, गौतम भन्छन्, ‘अरु आयोगको प्रतिवेदन पनि तयार भइसकेको छैन ।’ विधान महाधिवेशनमा अनुशासन आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र लेखा परीक्षण आयोगको पनि प्रतिवेदन प्रस्तुत हुन्छ । यी आयोगहरुले पनि प्रतिवेदन तयार पार्न बाँकी भएकाले निर्धारित मितिमा बैठक बस्न नसकिने निर्णय ओलीले लिएका हुन् ।

नेकपा एमाले – Online Khabar

विधान महाधिवेशनमै प्रस्तुत हुने मस्यौदा टुंग्याउने केन्द्रीय कमिटी बैठक स्थगित गर्नुपर्ने तेस्रो कारण भने प्रधानमन्त्री ओलीको चीन भ्रमण भनिएको छ । १४ भदौमा चीन भ्रमणमा निस्कनुपर्ने, र १३ भदौको संसद् बैठकमा यसबारे जानकारी गराउन प्रधानमन्त्रीले समय लिनुपर्ने भएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय लिइएको छ ।

तर पार्टी संस्थापन पक्षले केन्द्रीय कमिटी बैठक सार्न गरेको तर्कमा इतर पक्षका नेताहरु सहमत छैनन् । ‘केन्द्रीय कमिटी बैठक सार्दा गरिएका तीन वटै तर्क प्राविधिक हुन् । प्राविधिक कारणले बैठक अनिश्चित गरियो भन्ने विश्वास गर्न सकिँदैन’, संस्थापन इतरका एक नेता भन्छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा खुलेका ती नेताका बुझाइमा केन्द्रीय कमिटी बैठक राजनीतिक सुझबुझका साथ स्थगित गरिएको हो । ‘पार्टीभित्र जस्तो परिस्थिति सिर्जना भएको छ । पार्टी नेतृत्व जसरी अगाडि बढेको छ । यस्ता कुरालाई पृष्ठभूमि मानेर हेर्ने हो भने बैठक स्थगित गरिनुमा प्राविधिक भन्दा राजनीतिक कारण बढी देखिन्छ’, उनी भन्छन् ।

स्रोतका अनुसार अनिश्चित भनिएको केन्द्रीय कमिटी बैठक १९ भदौमा बोलाइने सम्भावना छ । ‘अध्यक्षको व्यस्तता, प्रतिवेदनहरुमाथि गर्नुपर्ने काम लगायत कारणले विधान महाधिवेशनको अघिल्लो दिनतिर मात्र केन्द्रीय कमिटी बस्ने सम्भावना छ’ स्रोत भन्छ ।

२० भदौदेखि ललितपुरको गोदावरीमा सुरू एमालेको दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ । अघिल्लो दिन संभवतः गोदावरीमै केन्द्रीय कमिटी बैठक बस्ने र सबै प्रतिवेदनहरु अनुमोदन गर्ने योजना नेताहरुले बनाएका छन् ।

एमाले विधान महाधिवेशन : तस्वीरमा हेर्नुस् गोदावरीको चहलपहल – Online Khabar
फाइल तस्वीर

सम्भावित यस्तो कार्यतालिकालाई भण्डारी पक्षका नेताहरुले भने षडयन्त्र भनेका छन् । ‘संगठनात्मक अराजकता देखियो । कमिटी प्रणालीलाई बेवास्ता गरियो । कुन कमिटीको साहरा लिने, त्यसैअनुसार बैठक बोलाउने गरियो’, स्थायी कमिटी सदस्य कर्ण थापा भन्छन् ।

पार्टीभित्र फरक मत आउने सम्भावना देखेर तोकिएकै बैठक पनि स्थगित गरिनु संगठनात्मक अराजकता भएको उनी बताउँछन् । ‘स्वतन्त्र बहसलाई समाप्त पार्नेतिर नेतृत्व अगाडि बढेको देखियो’, थापा भन्छन् ।

संस्थापन इतरले यस्तो आरोप लगाउनुमा भने उनीहरुको तयारी प्रभावित हुनु पनि हो । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने, राजनीतिमा आउन रोक लगाउने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने जस्ता निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक प्रस्ताव लैजाने तयारी गरिरहेका छन् ।

उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टीभित्र आफूले नोट अफ डिसेन्टमाथि छलफल चलाउन माग राखेर केन्द्रीय मूख्यालयमा निवेदन नै दिएका छन् । ६ साउनको केन्द्रीय कमिटी बैठकबाट विद्या भण्डारीबारे गरिएको निर्णयप्रति असहमति जनाउँदै ज्ञवाली र पाण्डेले सचिवालय बैठक राख्न माग राखेका थिए ।

तर माग बमोजिम सचिवालय, स्थायी कमिटी अथवा पोलिटब्यूरो बैठक राखिएन । ओली निकट नेताहरुका अनुसार अब केन्द्रीय कमिटी बाहेक अरु कुनैपनि बैठक बस्ने सम्भावना छैन । शीर्ष नेताहरु मात्र रहेको उपल्लो कमिटीको बैठक नराख्ने बुझेका संस्थापन इतर नेताहरुले केन्द्रीय कमिटी बैठकमै फरक मत अगाडि बढाउने तयारी गरेका थिए ।

‘वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक प्रस्ताव लैजाने तयारी गर्नुभएको छ । केन्द्रीय कमिटीमा जाने उक्त प्रस्तावलाई समर्थन जनाउन नेतृत्व र प्रतिनिधिहरुलाई अपिल गर्ने योजना छ’, भण्डारी निकट अर्का नेता भन्छन् । अर्थात् १३ भदौमा बस्ने बैठकमा फरक मत राख्ने र विधान महाधिवेशनका प्रतिनिधिहरुलाई समर्थनको अपिल गर्ने तयारी थियो ।

तर यस्तो तयारी बुझेका ओलीले केन्द्रीय कमिटी बैठक स्थगित गरिएको सूचना पठाए । कतिपय नेताहरुले विधान महाधिवेशनको अघिल्लो दिन मात्र केन्द्रीय कमिटी बस्दा प्रतिवेदन छपाइमै समस्या पर्ने तर्क गरेका छन् । तर प्रचार विभाग प्रमुख गौतम कुनै समस्या आउन नदिइने बताउँछन् । ‘छपाईमा कुनै समस्या हुँदैन । एकदुई घण्टामै चार÷पाँच हजारप्रति छपाइ हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?