News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी लाभाजले वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि दुई विदेशी खेलाडी अनुबन्ध गर्दै टिमलाई पूर्णता दिएको छ ।
- लुम्बिनीले रसियन केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई अनुबन्धन गरेको हो ।
- राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की प्लेअर रहेको लुम्बिनीले जानकी केसीलाई ट्यालेन्ट हन्टबाट अनुबन्ध गरिसकेको छ ।
१० भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ । लुम्बिनी लाभाजले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै रसियन केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई टिममा अनुबन्धन गरेको जनाएको हो ।
प्रतियोगिताको नयाँ टिमको रुपमा रहेको लुम्बिनी लाभाजले आफ्नो टोलीलाई थप बलियो बनाउन रसिया र किर्गिस्तानबाट खेलाडी थप गरेको हो । दुई विदेशी खेलाडी अनुबन्ध गरेपछि लुम्बिनी टिम पनि पूर्ण भएको छ । यसअघि नै एक विदेशी खेलाडी अनुबन्ध गरिसकेको लुम्बिनीले ट्यालेन्ट हन्टबाट पनि खेलाडी अनुबन्ध गरिसकेको छ ।
रसियन केसेनीया रुसी राष्ट्रिय लिगमा लामो अनुभव बटुलेकी कुशल आउटसाइड हिटर हुन् । उनको शक्तिशाली स्पाइक, बलियो ब्लकिङ र स्थिर डिफेन्सले टोलीलाई महत्वपूर्ण लाभ पुग्ने विश्वास गरिएको छ ।
यस्तै किर्गिस्तानको राष्ट्रिय टोलीकी सदस्य भइसकेकी कुलोभा पनि आउटसाइड हिटर पोजिसनमा खेल्छिन् । उनको प्रभावशाली प्रहार गर्ने क्षमता र निरन्तर ऊर्जा भर्ने शैलीले टोलीलाई थप गतिशीलता दिने विश्वास टिमले लिएको छ ।
लुम्बिनी लाभाजले पहिलो विदेशी खेलाडीको रुपमा रसियाकी ब्लकर भेरोनिका जुवरेभालाई सार्वजनीक गरिसकेको छ । तीन विदेशी खेलाडीको आगमनले टिम बलियो बनेको विश्वास क्लबले गरेको छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई मार्की खेलाडी बनाएको लुम्बिनी लाभाजले अक्सनमार्फत राष्ट्रिय टिमकै सदस्य कामना विष्ट र शान्तिकला तामाङ, यू-२० टिमबाट खेलिसकेका अलिसा मानन्धर,अनुसा चौधरी र जेनिशा विश्वकर्मा, अनी रोमा महतो र रिकजना माझीलाई टोलीमा समावेश गरेको थियो । लुम्बिनीले ट्यालेन्ट हन्टबाट जानकी केसीलाई अनुबन्धन गरिसकेको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको उत्कृष्ट संयोजनले लुम्बिनी लाभाज यस सिजनको लिगमा एक शक्तिशाली टोलीका रूपमा प्रस्तुत हुने टिमको अपेक्षा छ ।
दोस्रो सिजनको प्रतियोगितामा उच्चस्तरीय प्रतिस्पर्धा र आकर्षक खेल प्रदर्शनका साथै नेपाली महिला खेलाडीको सशक्तीकरण र भलिबल खेलको लोकप्रियता बढाउन योगदान पुर्याउने लक्ष्य लुम्बिनी लाभाजले राखेको छ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिको दोस्रो संस्करण यही भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ ।
प्रतिक्रिया 4