
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी सहकारी ऐन २०७४ विपरीत दोहोरो पदमा रहँदा बैंकको सञ्चालक समिति अयोग्य भएको छ।
- एमाले नेतृ अमृता सुब्बा सहकारी ठगीमा आरोपित रहँदा पनि बैंकको सञ्चालक समितिमा कायमै रहेको पाइएको छ।
- नेपाल राष्ट्र बैंकले गत वर्ष सहकारी बैंक सञ्चालक समिति सदस्य संख्या घटाएको भए पनि हाल ९ सदस्य रहेका छन् र दोहोरो पदमा बसेकामा कारबाही हुने बताएको छ।
११ भदौ, काडमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिका अधिकांश सदस्य मात्रै होइन, अध्यक्ष महेन्द्रकुमार गिरी नै कानुन विपरीत पदमा रहेको खुलेको छ ।
यसअघिका अध्यक्ष केबी उप्रेतीलाई योग्यता नै नपुग्ने र फर्जी कागज पेश गरेर अध्यक्ष भएको भन्दै नेपाल राष्ट्र बैंकले हटाइदिएपछि बैंकले गिरीलाई अध्यक्ष नियुक्त गरेको थियो । तर, त्यसरी नियुक्त भएका गिरीको अध्यक्ष पद पनि कानुन विपरीत देखिएको छ ।
सहकारी ऐन न २०७४ विपरीत दोहोरो पदमा रहेसँगै सञ्चालक समिति नै अयोग्य भएको हो ।
सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ५ अनुसार कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । त्यसैगरी सोही ऐनको दफा ४४ को ‘ग’ ले पनि अर्को सहकारी संस्थाको सञ्चालक रहेको अवस्थामा आफ्नो पदमा बहाल रहन नपाउने व्यवस्था छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरी हाल सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, विर्तामोडका प्रमुख कार्यकारी छन् । सहारा बचतको वेबसाइटमा समेत गिरीलाई प्रमुख कार्यकारी भनेर राखिएको छ ।
कार्यकारी प्रमुख भनेको व्यवहारिक रुपमा सहकारीमा सञ्चालक समितिमै रहने पद हो भने कामका हिसाबले यस्तो पदमा बस्ने व्यक्ति सञ्चालकभन्दा पनि शक्तिशाली हुन्छ । तर, सहकारी ऐनमा सञ्चालक भन्ने शब्द प्रयोग गरेको कुरालाई ‘लुपहोल’का रुपमा प्रयोग गरी गिरी सहकारी बैंकको अध्यक्षका रुपमा काम गरिरहेका छन् ।
अर्कातिर, सहकारी ठगीमा आरोपित एमाले नेतृ अमृता सुब्बा पनि बैंकको सञ्चालक समितिमा कायमै रहेको पाइएको छ । सुब्बा इटहरीको महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रहेको सहकारीको वेबसाइटमा देखिन्छ ।
अर्कातिर, सुब्बा अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगीमा आरोपित महिला हुन् । उक्त सहकारीबाट सुब्बाले अर्कै नामबाट ऋण लिएको पाइएको छ ।
उनले मोरङको सुन्दर हरैंचा स्थायी घर भई इटहरी–४ बस्ने विष्णुमाया नामबाट सो सहकारीबाट २१ लाख ५५ हजार रुपैयाँ ऋण लिएको देखिएको प्रहरीले जनाएको छ ।
उक्त सहकारीमा सुब्बाको तीन लाख ८२ हजार २ सय २९ रुपैयाँ व्याज र पाँच हजार चार सय १० रुपैयाँ बचत रहेको छ । सो सहकारीमा सुब्बाको नाममा ८३ हजार पाँच सय रुपैयाँ बराबरको सेयर छ ।
बैंकमा यसभन्दा अघि अन्य ५ जना सञ्चालक सहकारी ऐन २०७४ विपरीत आफ्नो पदमा बस्दै आएको विषयमा अनलाइनखबरले समाचार लेखिसकेको छ ।
अहिले अध्यक्ष र अर्की एक सदस्य पनि ऐन विपरीत बैंकको सञ्चालक पदमा रहेको पाइएको हो । गत वर्ष मात्रै नेपाल राष्ट्र बैंकले सहकारी बैंक सञ्चालक समितिमा हस्तक्षेप गरेर १३ सदस्यबाट घटाइ ७ मा सीमित गरेको थियो ।
तर पनि बैंकको सञ्चालक समितिमा ९ जना सदस्य छन् । हाल बैंकका सञ्चालक समितिका सदस्यहरू निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेल, सदस्यहरू विश्वनाथ मण्डल, अमृता सुब्बा, पार्वती थापा मगर, विजया धिताल र कालीबहादुर महतरा छन् ।
केन्द्रीय बैंकले हस्तक्षेप गरेको एक वर्ष नपुग्दै सञ्चालक समितिमा भएका ७ सञ्चालक ऐन विपरीत पदमा बसेका हुन् । सहकारी ऐन २०७४ अनुसार एक व्यक्ति एकै पटक दुई संस्थाको सञ्चालक रहन मिल्दैन ।
तर, सहकारी बैंकका अधिकांश एकै समयमा दुई संस्थाको सञ्चालक छन् । विभिन्न सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष तथा सदस्य नै सहकारी बैंक सञ्चालक छन् ।
दुईपटक अध्यक्ष परिवर्तन हुँदासम्म पनि पोखरेलले निवर्तमान अध्यक्षकै रूपमा सञ्चालक समितिमा बस्ने र त्यहाँबाट सुविधा बुझ्ने गरिरहेका छन् । उनी पनि स्टार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पनि हुन् ।
सहकारी बैंक सञ्चालक समिति सदस्यमा विश्वनाथ मण्डल राजविराजको जनज्योति कृषि सहकारी संस्थाको अध्यक्ष, हुन भने पार्वती थापा मगर काठमाडौंको नमो स्तुति बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुन् ।
अर्का सञ्चालक विजया धिताल पनि बाँकेस्थित युनिटी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुन् । ती अधिकारीका अनुसार अर्का सञ्चालक कालीबहादुर महतरा पनि कालिकोटको हिमचुली कृषि सहकारी संस्थाको अध्यक्ष छन् ।
सहकारी बैंकमा संस्थागत सुशासनको समस्या तथा बेथिति बढेपछि राष्ट्र बैंकले हस्तक्षेप पनि बढाउँदै लगेको छ । केन्द्रीय बैंकले गत वर्षमात्र सञ्चालक समिति सदस्य संख्या कटौती गरेको थियो ।
यो वर्ष पनि केन्द्रीय बैंकले सहकारी बैंक निरीक्षण गरिरहेको छ । निरीक्षण्का क्रममा काुन विपरीत भएका काम कारबाही सुधार हुने केन्द्रीय बैंकका अधिकारी बताउँछन् ।
अहिले बैंकमा रहेका सञ्चालक दोहोरो पदमा छन् भने त्यस उपर पनि आवश्यक कारबाही हुने केन्द्रीय बैंकका अधिकारीको भनाइ छ ।
प्रतिक्रिया 4