
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सहकारी बैंकका ५ जना सञ्चालक सदस्य सहकारी ऐन २०७४ विपरीत एउटै समयमा दुई संस्थाको सञ्चालक पदमा बसेको पाइएको छ।
- नेपाल राष्ट्र बैंकले गत वर्ष सहकारी बैंक सञ्चालक समितिको सदस्य संख्या १३ बाट ७ मा घटाएको थियो।
- केन्द्रीय बैंकको स्थलगत निरीक्षणपछि सहकारी बैंकमा ऐन विपरीत सञ्चालकहरूको समस्या सुधार गरिने राष्ट्र बैंकका अधिकारीले बताए।
६ भदौ, काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अधिकांश सञ्चालक कानुन विपरीत पदमा बसेको पाइएको छ । बैंकका ५ जना सञ्चालक सदस्य सहकारी ऐन २०७४ विपरीत आफ्नो पदमा बसेको खुलेको हो । गत वर्ष मात्रै नेपाल राष्ट्र बैंकले सहकारी बैंक सञ्चालक समितिमा हस्तक्षेप गरेर १३ सदस्यबाट घटाइ ७ मा सीमित गरेको थियो ।
केन्द्रीय बैंकले हस्तक्षेप गरेको एक वर्ष नपुग्दै सञ्चालक समितिमा भएका ५ सञ्चालक ऐन विपरीत पदमा बसेको पाइएको हो । सहकारी ऐन २०७४ अनुसार एक व्यक्ति एकै पटक दुई संस्थाको सञ्चालक रहन सक्दैन । तर, सहकारी बैंकका अधिकांश सञ्चालक एउटै समयमा दुई संस्थाको सञ्चालकमा छन् । विभिन्न सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष तथा सदस्य नै सहकारी बैंक सञ्चालक छन् ।
सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ५ अनुसार कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । त्यसैगरी सोही ऐनको दफा ४४ को ‘ग’ ले पनि अर्को सहकारी संस्थाको सञ्चालक रहेको अवस्थामा आफ्नो पदमा बहाल रहन नपाउने व्यवस्था छ ।
ऐनको उक्त व्यवस्था विपरीत सञ्चालक रहनेमा निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेल, सदस्यहरू विश्वनाथ मण्डल, पार्वती थापा मगर, विजया धिताल र कालीबहादुर महतरा छन् ।
निर्वतमान अध्यक्ष पोखरेल दुई अध्यक्ष परिवर्तन हुँदासम्म पनि निर्वातमान अध्यक्षकै रूपमा सञ्चालक समितिमा छन् । त्यसैगरी उनी स्टार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पनि हुन् ।
सहकारी बैंक सञ्चालक समिति सदस्यमा विश्वनाथ मण्डल राजविराजको जनज्योति कृषि सहकारी संस्थाको सञ्चालक समितिमा छन् । त्यस्तै बैंकका अर्का सञ्चालक पार्वती थापा मगर काठमाडौंको नमो स्तुति बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिमा छिन् ।
त्यसैगरी अर्का सञ्चालक विजया धिताल पनि बाँकेस्थित युनिटी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा रहेको सहकारी बैंकका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार अर्का सञ्चालक कालीबहादुर महतरा पनि कालिकोटको हिमचुली कृषि सहकारी संस्थाको सञ्चालक समितिमा रहेका व्यक्ति हुन् ।
सहकारी बैंकमा संस्थागत सुशासनको समस्या तथा बेथिति बढेपछि राष्ट्र बैंकले हस्तक्षेप पनि बढाउँदै लगेको छ । केन्द्रीय बैंकले गत वर्षमात्र सञ्चालक समिति सदस्य संख्या कटौती गरेको थियो । यो वर्ष पनि केन्द्रीय बैंकले सहकारी बैंक निरीक्षण गरिरहेको छ ।
केन्द्रीय बैंकको स्थलगत निरीक्षण करिब सकिए पनि रिपोर्ट आउन अझै समय लाग्ने राष्ट्र बैंकका एक अधिकारीले बताए । सहकारी बैंक सञ्चालक समितिमा ऐन विपरीत व्यक्तिहरूलाई पनि निरीक्षण क्रममा सुधार गरिने ती अधिकारीले बताए ।
‘निरीक्षण टोलीले प्रतिवेदन तयार गरेपछि बैंकसँग सोधपुछपछि प्रतिवेदनलाई अन्तिम रूप दिइन्छ,’ उनले भने, ‘अहिले देखिएको समस्या पनि सोही प्रक्रियामा सुधार गर्न निर्देशन दिने तथा सुधार गर्ने काम हुन्छ ।’
ती अधिकारीका अनुसार आगामी महिनासम्म सहकारी बैंक निरीक्षणको प्रतिवेदन आउने छ ।
रमेशप्रसाद पोखरेल सधैं निर्वतमान अध्यक्ष
राष्ट्रिय सहकारी बैंकमा रमेशप्रसाद पोखरेल पछि दुई अध्यक्ष परिवर्तन भइसकेको अवस्था छ । तर, पनि पोखरेलले बैंकको निवर्तमान अध्यक्षका रूपमा सेवा सुविधा लिँदै आएका छन् ।
सहकारी बैंक स्रोतका अनुसार उनी अहिले पनि बैंकको निवर्तमान अध्यक्ष नै छन् । पोखरेल निर्वतमान अध्यक्ष रहेको केबी उप्रेती अध्यक्ष हुँदा हो । उप्रेती बैंकको अध्यक्षबाट बर्खास्तीमा परी नयाँ अध्यक्ष आएको अवस्था छ ।
हाल बैंकको अध्यक्षमा महेन्द्रकुमार गिरी छन् । तर, पनि पोखरेल भने निवर्तमान अध्यक्षकै रूपमा पदमा बहाल रहेको बैंक स्रोतले जानकारी दियो ।
यस सन्दर्भमा केन्द्रीय बैंकका एक अधिकारीसँग प्रश्न गर्दा स्थलगत निरीक्षणपछि यस्ता समस्या सबै सुधार हुने दाबी गरे ।
प्रतिक्रिया 4