+
+
Shares
अन्तर्वार्ता : कभर स्टोरी :

‘भुटानी जेलमा रहेका राजबन्दीहरूको नि:शर्त रिहाइ हुनुपर्छ’

पछिल्लो पटक जब जेलमा रहनुभएकाहरुले आफूहरुको पक्षमा कुनै संगठन, अभियान नभएका कारणले निराश भएर हामी यहीं सड्ने स्थितिमा पुग्यौं भन्दै पत्र पठाउनुभयो, त्यसपछि एकजुट हुने क्रम शुरु भएको थियो । पहिले भुटानी शरणार्थीको मानवअधिकारका समग्र विषयमा अभियान चलाइरहेका थियौं भने त्यसपछि छुट्टै अभियान बनाएर खोजबिन थाल्यौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १३ गते १३:१५

हाल नेदरल्याण्डको हेगमा रहेका पूर्वभुटानी शरणार्थी अगुवा राम कार्कीले जेलमा रहेका भुटानी राजबन्दी रिहाइका लागि अभियान चलाइरहेका छन् । सन् २०१९ मा पीडितहरूले पठाएको पत्र पाएपछि यही विषयमा मात्र केन्द्रित भएर अभियान चलाइरहेका उनले अझै भुटानका जेलमा रहेका ३२ जना भुटानी राजबन्दीको परिवारसँग निरन्तर सम्पर्क गरिरहेका छन् । उनीहरूलाई छुटाउन अन्तर्राष्ट्रिय पहल गरिरहेका छन् । प्रस्तुत छ, उनीसँग भुटानको कारागारमा रहेका राजबन्दीबारे अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानी:

भुटानमा तीन दशकदेखि थुनामा रहेका भुटानी राजबन्दीको पक्षमा कहिलेदेखि अभियान चलाउन थाल्नुभयो ?

म आफैं सन् १९९० मा आफ्नो देश भुटान छाडेर निर्वासित भएको मान्छे हुँ । देश छाडेर भारत हुँदै झापाको शरणार्थी शिविरमा आउँदा पनि म हाम्रा अधिकारको विषयमा आवाज उठाइराख्थें । सन् १९९१ देखि झापाको शरणार्थी शिविरमा बसेको थिएँ ।

पछि संयुक्त राष्ट्रसंघको यो शरणार्थी आयोगले मलाई छात्रवृत्ति दिएर अध्ययनका लागि म सेन्ट जोसेफ कलेजमा स्नातक पढ्न गएँ । सन् १९९६ मा अध्ययन सकेर म फेरि झापामा भुटानी शरणार्थीकै मुद्दामा आवाज उठाउन थालें ।

केही समय काठमाडौंमा विभिन्न बोर्डिङ स्कूलमा पनि पढाएँ । त्यही बीचमा झापामा कतिपयले भुटानमा रहेका बन्दीबारे आवाज उठाउँथे । तर, ठ्याक्कै कति छन् के छन् भन्ने केही विवरण थिएन ।

राजबन्दीको विषयमा झापामा रहेका केही संगठनले आवाज पनि उठाइरहेका थिए । पहिले ड्रुक नेशनल कंग्रेसदेखि अरू पार्टीले समेत आवाज उठाइरहेका थिए । पछि सन् २००८ को आन्दोलनमा पनि साथीहरुलाई पक्राउ गरेको छ भन्ने मलाई थाहा थियो ।

यद्यपि, त्यतिञ्जेल भुटानी जेलमा कति छन् भन्ने यकिन विवरण थिएन । तर, सन् २०१९ मा एउटा यस्तो चिठी प्राप्त भयो, त्यसपछि मैले भुटानका राजबन्दी रिहाइको विषयमा अभियान नै चलाएँ । हस्तलिखित दुई पाने चिठीमा प्रिय राम कार्की सर भन्दै जेलमा रहेका बन्दीहरूबारे भनिएको थियो ।

अभियानले कसरी भुटानका जेलमा रहेका बन्दीहरूको विवरण संकलन गर्‍यो ?

धेरैजसो परिवारका साथीहरू सामाजिक सञ्जाल मार्फत नै जोडिनुभएको थियो । अन्तर्राष्ट्रिय रेडक्रसले कोभिड महामारीभन्दा अगाडिको समयमा परिवारका व्यक्तिहरूलाई चिठी र प्रत्यक्ष रूपमा कुराकानी गराएको थियो ।

तर, पछिल्लो पटक जब जेलमा रहनुभएकाहरुले आफूहरुको पक्षमा कुनै संगठन, अभियान नभएका कारणले निराश भएर हामी यहीं सड्ने स्थितिमा पुग्यौं भन्दै पत्र पठाउनुभयो, त्यसपछि एकजुट हुने क्रम सुरु भएको थियो । पहिले भुटानी शरणार्थीको मानवअधिकारका समग्र विषयमा अभियान चलाइरहेका थियौं भने त्यसपछि छुट्टै अभियान बनाएर खोजबिन थाल्यौं ।

पछि परिवारलाई सामाजिक सञ्जाल मार्फत जोड्नेदेखि पुनर्वास अन्तर्गत अमेरिका, क्यानडातिर पुगेकाहरुसँग पनि कुराकानी भयो । त्यसपछि यसले संगठित रुप लियो । अहिले यो अभियानमा पुनर्वासमा विदेश गएर बसेका युवाको पनि संलग्नता छ । मेरो मुख्य उद्देश्य भनेको युवा वर्गलाई सक्षम बनाएर अघि बढाउने समेत हो । जसअनुसार उहाँहरुको सक्रियता पनि देखिन्छ ।

अहिले भुटानी जेलमा रहेका राजबन्दीहरुको अवस्था के छ ?

अहिले भुटानी राजबन्दी मात्रै विभिन्न जेलमा गरेर ३२ जना छन् । तीमध्ये १० जना चाहिं १९९०/९१ मा शान्तिपूर्ण जुलुस हुँदा पक्राउ परेका मानिसहरु हुन् ।

तीमध्ये कतिपय प्रहरी र सेनामा कार्यरत समेत थिए । जागिर छोडेर उहाँहरु हाम्रो शान्तिपूर्ण जुलुस प्रदर्शनमा समर्थन दिलाउन आउनुभएको थियो । तर, उहाँहरु पक्राउ गर्नुभयो । त्यसयता विभिन्न चरणको आन्दोलन हुँदै सन् २००८ सम्म भएका विरोधका क्रममा पक्राउ परेका व्यक्तिहरु अहिले जेलमा छन् ।

हाम्रा दाजुभाइहरु देश फिर्ता हुन पाउँ भनेर शान्तिपूर्ण आन्दोलन गर्दै त्यहाँसम्म जानुभएको थियो । त्यसबेला नेपाल भारत सीमा खुला थियो, त्यस्तोमा त्यहाँ गएर सीमा आसपासका जनतालाई त्यसबारे जानकारी दिने अभियान चलाउँदा पनि कतिपय पक्राउ पर्नुभयो ।

विगतमा उहाँहरुले धेरै यातना र दु:ख पाउनुभयो । रेडक्रस मार्फत पनि केही समय कुराकानी भएर उहाँहरुबारे बुझ्ने काम भयो । तर, पछि विभिन्न बहानामा भुटानले रेडक्रसलाई प्रवेश दिन छाडेपछि चाहिं पछिल्लो समय परिवार बेखबर भएका छन् ।

यो बीचमा चाहिं कति बन्दीहरु रिहा भए ?  

सन् २०२४ को अगस्टमा रामबहादुर राई ३२ वर्ष जेलमा बसेर छुट्नुभयो । उहाँलाई  तुरुन्तै भारतको सीमामा लगेर छाडियो । उहाँलाई एउटा शहरमा छोडियो अनि सीमामा ल्याएर नेपाल जान भन्दै पठाइयो ।

अरू कतिपय साथीहरु पनि छुट्नुभएको छ । तर, फर्किएर आउँदा उहाँहरुका परिवारका सदस्य शिविरमा छैनन् । कोही बितिसकेका छन्, कोही तेस्रो मुलुक पुनर्वासमा गएका छन् । उहाँहरुले शरणार्थी परिचयपत्रका लागि प्रशासनमा निवेदन दिनुभएको छ, तर प्रशासनबाट जवाफ आएको छैन ।

भुटानका अधिकारीहरुको बुझाइमा उनीहरु राष्ट्र विपरित काम गरिएकाले थुनामा छन् भन्ने हो । तर, त्यो सजाय पनि कति समयसम्म हुन्छ ? कोही मान्छे ३०, ४० वर्षसम्म जेलमा बस्नु भनेको के हो ? जो–कोहीले एकपटक कल्पना गरौं त !

बाँकी रहेका  राजबन्दीहरूको रिहाइका लागि के पहल गरिरहनुभएको छ ?

भुटानका राजालाई अपमानपूर्णक तरिकाले केही लेख्ने वा भन्ने हाम्रो नीति छैन । अघिल्लो राजाकै समयमा अधिकांश घटनाहरु भएका छन् । त्यसैले हामीले सन् २०१९ मा परिवारका तर्फबाट राजालाई निवेदन दियौं । डीएचएल गरेर पठाएको निवेदन पुगेको थाहा भयो, तर कुनै जवाफ आएन । अनलाइनका माध्यमबाट भुटानी साथीभाइको हस्ताक्षर संकलन गरेर राजालाई पठाउने काम पनि गर्‍यौं ।

ह्युमन राइट्स वाचलाई समन्वय गरेर एउटा रिसर्च समेत गर्न लगायौं । त्यसक्रममा सन् २०२३ को मार्चमा एउटा विज्ञप्तिसहित विवरणहरु पनि सार्वजनिक भयो । त्यो रिपोर्टमा धेरै कुरा समेटिएपछि अन्तर्राष्ट्रिय रुपमा काम गर्न पनि सहज भएको छ । अन्तर्राष्ट्रिय संस्थाले दिएको रिपोर्ट भएकाले त्यो आधिकारिक पनि भएको छ ।

रिसर्चपछि सार्वजनिक रिपोर्टमा राजनीतिक बन्दीहरुलाई तुरुन्त रिहा गर्नुपर्ने भन्दै उनीहरुलाई मौलिक मानवअधिकार र स्वतन्त्रता प्रयोग गरेको कारणले सजाय दिइएको भनिएको छ । यातना र अन्य दुर्व्यवहार भोगेका वर्तमान वा पूर्व कैदीहरूलाई तुरुन्त र पर्याप्त क्षतिपूर्ति दिनुपर्ने भनिएको छ । सबै कैदीलाई आधारभूत सेवा उपलब्ध गराउनुपर्छ—खाना, पर्याप्त ओछ्यान, न्यानो कपडा र स्वास्थ्य उपचार सहितका सुविधा दिनुपर्ने समेत भनिएको छ ।

त्यसमा अन्तर्राष्ट्रिय मानवतावादी संस्थाहरूलाई कारागार प्रणालीमा आमन्त्रण गरी कैदीहरूसम्म पूर्ण र अवरोधविहीन पहुँच दिनुपर्ने भनिएको छ ।

अभियान मार्फत यो विषयलाई हामीले संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोग परिषद्मा समेत लैजाने प्रयास गरेका छौं । त्यसमा हामीले तीन जनाको मुद्दा लगेको थियौं, उहाँहरुलाई प्रतिनिधि पात्र बनाएर सुरुमा यो मुद्दा लगिएको हो । संयुक्त राष्ट्रसंघले भुटानलाई यसबारे सूचना माग्दै पत्र लेखेको छ, तर भुटानले जवाफै दिएको छैन । युरोपियन युनियनले पनि सहयोग गरिरहेको छ ।

त्यहाँ रहेका बन्दीलाई किन राखिएको भन्नेबारे चाहिं भुटानले के भन्ने गरेको छ ?

भुटानका अधिकारीहरुको बुझाइमा उनीहरु राष्ट्रविपरित काम गरिएकाले थुनामा छन् भन्ने हो । तर, त्यो सजाय पनि कति समयसम्म हुन्छ ? कोही मान्छे ३०, ४० वर्षसम्म जेलमा बस्नु भनेको के हो ? जो–कोहीले एकपटक कल्पना गरौं त !

त्यसमाथि पनि मुद्दामा स्वतन्त्र सुनुवाइ कहिल्यै भएको छैन । अहिले त परिवारलाई समेत भेट्न दिइएको छैन । हामी विभिन्न समयमा राजदूतहरुसँग समेत कुरा गर्ने प्रयास गरिरहेका छौं । हाम्रो माग एउटै छ, भुटानले त्यहाँ रहेका राजबन्दीहरुको नि:शर्त रिहाइ गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?