
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय बैतडीले अविरल वर्षाका कारण रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
- प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विपद्को जोखिम भएकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन र अत्यावश्यकबाहेक यात्रा नगर्न भनिएको जानकारी दिए।
- जिल्ला प्रहरी कार्यालयले बाढीपहिरो जोखिमका कारण सावधानी अपनाउन र संभावित क्षतिको जानकारी नजिकको प्रहरी एकाइमा दिन आग्रह गरेको छ।
१७ भदौ, काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । जिल्लावासीलाई पनि आकस्मिक अवस्थामा बाहेक यात्रा नगर्न आह्वान गरेको छ ।
तीन दिनदेखि लगातार वर्षा हुँदा सुदूरपश्चिम प्रदेशका बैतडीसहितका जिल्लाको जनजीवन प्रभावित भएको छ । महाकाली नदीको सतह बढेकाले किनारका बासिन्दालाई चनाखो रहन आग्रह पनि गरिएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विपदको जोखिम भएकाले स्थानीय उच्च सतर्कता अपनाउन, जोखिम भएका स्थानमा नबस्न र अति आवश्यक नभई यात्रा नगर्न भनिएको जानकारी दिए ।
साथै कुनै विपद्जन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन पनि सुरक्षाकर्मीसहित जिम्मेवार निकायहरुलाई भनिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, अत्यावश्यकबाहेक यात्रा नगर्न, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी–खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेको छ ।
विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र यात्रा नगर्न अनुरोध गरिएको प्रजिअ पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालयले पनि अविरल वर्षाका कारणले बाढीपहिरो आई बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले बाहिर निस्कँदा र लामो तथा छोटो दूरीका सवारीसाधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ ।
बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले विपदबाट बच्नका लागि सावधानी अपनाउन र आआफ्नो गाउँघर छरछिमेकीमा बाढीपहिरोसम्बन्धी क्षति हुन वा सक्ने सम्भावित क्षेत्रबारे नजिकको प्रहरी एकाइमा जानकारी दिन अनुरोध गरिएको बताए ।
प्रतिक्रिया 4