
News Summary
Generated by OK AI. Editorially reviewed.- माओवादीभित्र यतिबेला चर्केको घरझगडालाई बुझ्न र त्यसलाई सही ढङ्गले निष्कर्षमा पुर्याउन ३६ वर्षअघि प्रचण्डले लेखेको दस्तावेजका पङ्क्तिलाई आत्मसात् गर्दा नै पर्याप्त हुने देखिन्छ।
- पार्टीको पुनर्गठन, रूपान्तरण वा जेसुकै पदावलीको प्रयोग गरिए तापनि समग्र राष्ट्र र समाज अनि मुख्यतः पार्टीमा न्याय, समानता र सुसङ्गत विधि संस्थागत गरेर मात्रै हेडक्वार्टरको रक्षा सम्भव हुन्छ।
- रूपान्तरणकारी युद्ध र माओवादी आन्दोलन समेतको प्रमुख नेता भएका कारण अध्यक्ष प्रचण्डको रक्षा वा सुरक्षा सबैको दायित्व हो; माओवादी नेता–कार्यकर्ताहरूको त विशेष कर्तव्य नै हो।
माओवादी वृत्तमा २०५२ सालदेखि हालसम्म एउटा पदावली निरन्तर चर्चामा रहँदै आएको छ– नेतृत्वको रक्षा। युद्धकालको विशिष्टतामा यस पदावलीको विशेष अर्थ र खास महत्त्व भए तापनि शान्ति प्रक्रियायता भने यो पदावलीको सुस्पष्ट अर्थान्तरण भएको छ।
विशेषतः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रिझाएर पार्टीमा चाहे–खोजे जस्तो स्थान वा हैसियत आर्जन एवम् सुरक्षित गर्न र विभिन्न राजकीय ओहोदा प्राप्त गर्न र त्यस्ता ओहोदामा टिक्न लालायित नेता–कार्यकर्ताहरूले नेतृत्वको रक्षा पदावलीलाई बढ्ता प्रयोग गरिरहेको देखिन्छ। यो पदावली र यसको निहितार्थलाई त्यस्ता व्यक्तिहरूले यथार्थतः आफ्नै रक्षाकवच एवम् उत्तरोत्तर प्रगतिको औजारका रूपमा भरपूर उपयोग गर्दै आएको तथ्य पनि स्पष्ट नै छ।
नेतृत्वको ‘रक्षा’ गर्ने सवालमा अरूहरूभन्दा आफू निकै बढी सक्रिय, अब्बल र सक्षम रहेको पुष्टि गर्न माओवादी नेता–कार्यकर्ताको ठूलै हिस्साले चर्को प्रतिस्पर्धा गरिरहेको देखिन्छ।
कसैले माने पनि र नमाने पनि नेपाली राजनीतिलाई वर्तमान व्यवस्थासम्म ल्याइपुर्याउन, नेपाल राष्ट्र तथा जनतालाई राजतन्त्रात्मक अन्धकारबाट मुक्ति दिलाएर गणतान्त्रिक उज्यालोसम्म पदार्पण गराउन र जनवाद हुँदै समाजवादतर्फ लम्कने ढोका खोलिदिन समकालीन राजनीतिकर्मीहरूमध्ये माओवादी नेतृत्वपंक्तिले नै सबैभन्दा ठूलो योगदान पुर्याएको हो। यी सत्कर्मका लागि सबैभन्दा बढी दुःख–कष्ट, जोखिम, त्याग र बलिदान माओवादी नेतृत्वले नै व्यहोरेको हो।
माओवादी पार्टी र नेतृत्वको सुरक्षा हुन नसक्ने, तिनले खुट्टा लर्बराउने र बाटो बिराउने हो भने अबका दिनमा समेत हालसम्म प्राप्त सीमित उपलब्धिहरू नै कायम नरहलान् कि भन्ने चिन्ता सबैमा व्याप्त छँदैछ। यस्तो चिन्ता माओवादी वृत्तमा मात्र नभई माओवादीइतर नेपालीजनमा समेत विद्यमान रहेको तथ्य विभिन्न घटना–सन्दर्भले बारम्बार पुष्टि गरिरहेका छन्।
त्यसकारण माओवादी नेतृत्वको रक्षा हुनैपर्छ; यसमा कसैको विमति छैन र विमति हुनुहुँदैन। माओवादी नेतृत्वको रक्षा नेपाल राष्ट्रको आवश्यकता र समस्त नेपाली नागरिकको दायित्व एवम् कर्तव्य हो। रूपान्तरणकारी युद्ध र माओवादी आन्दोलन समेतको प्रमुख नेता भएका कारण अध्यक्ष प्रचण्डको रक्षा वा सुरक्षा सबैको दायित्व हो; माओवादी नेता–कार्यकर्ताहरूको त विशेष कर्तव्य नै हो।
के हो नेतृत्व ? को–को हुन् नेता ?

कम्युनिष्ट पार्टीभित्र सैद्धान्तिक रूपले कोही खास वा विशेष नेता या विशेषाधिकार सम्पन्न अनि अरू कोहीचाहिं तल्लो दर्जा वा अधिकारविहीन भन्ने नै हुँदैन/हुनुहुँदैन। पार्टी सदस्यता प्राप्त गरिसकेपछि कम्युनिष्ट पार्टीको हरेक सदस्य नै एक तहको नेता बन्दछ। ऊ कुनै न कुनै कमिटीमा रहेर नियमित लेबी तिर्दै पार्टी जीवनका नियमित प्रक्रियाको हिस्सेदार बन्दछ।
अझ केन्द्रीय समिति वा पोलिटब्युरो, स्थायी समिति जस्ता उपल्ला निकाय या कुनै न कुनै ओहोदाधारी केन्द्रीय पदाधिकारी नै भइसकेपछि त ऊ त्यस पार्टीको शीर्ष नेताहरूमध्येकै एक हुने कुरा स्वतःसिद्ध छ।
समग्रतः नेपाल र संसारभरकै कम्युनिष्ट पार्टीहरू र विशेषत: यहाँको माओवादी पार्टीले कोही एकल वीर या कुनै चामत्कारिक पात्र मार्फत नेतृत्व हुने कुरालाई सिद्धान्ततः स्वीकार गर्दैनन्; सामूहिक नेतृत्व प्रणालीको मान्यता आत्मसात् गर्दछन्। यति हुँदाहुँदै पनि कुनै खास ऐतिहासिक मोड वा विशेष पौरख या परिणामले नेताहरूमध्येका कसैलाई आइकन नेताका रूपमा स्थापित गर्दछन्।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइराला त्यस्तै आइकन नेताका रूपमा स्थापित छन्। जनताको बहुदलीय जनवादको प्रणेता भनिएका मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्रीका रूपमा मनमोहन अधिकारीलाई एमालेले आइकन नेताका रूपमा मान्दै आएको देखिन्छ।
नेकपा माओवादीको आह्वान र नेतृत्वमा सम्पन्न भएको दशवर्षे युद्ध नेपाली राजनीतिक इतिहासकै भिन्न एवम् ऐतिहासिक परिघटना हो। यसका विधि, प्रक्रिया, कार्य र उपलब्धिहरूका विषयमा अनेकौं प्रकारका मतमतान्तर भए तापनि समग्र देशलाई एकैसाथ झक्झक्याउने, राजनीतिक जागरण र क्रियाशीलता सृष्टि गर्ने र समाज र राष्ट्रलाई बहुआयामिक ढङ्गले प्रभावित तुल्याउने यो परिघटना पृथ्वीनारायण शाहको नेतृत्वमा चलेको एकीकरण अभियानपछिकै एकमात्र अभियान भएको कुरामा दुईमत छैन।
घोषित लक्ष्य र उद्देश्य प्राप्तिमा के–कति सफल वा असफल भयो, त्यसको समीक्षा र मूल्याङ्कन त हुँदै जाने नै छ। तर, २०४७ को संविधानमा कमा र पूर्णविरामसम्म पनि बदल्नुपर्दैन भनिरहेका काङ्ग्रेस–एमालेहरू समेतलाई बाह्रबुँदे समझदारी मार्फत सहमत गराउँदै संयुक्त जनआन्दोलन, २०४७ को संविधान खारेज गरी अन्तरिम संविधान जारी, संविधानसभाको निर्वाचन, गणतन्त्रको स्थापना, राज्यको संघीय पुनर्संरचना र समावेशी–समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता जस्ता उपलब्धिहरू मुख्यतः जनविद्रोहकै देन हुन् भन्न कसैले हिच्किचाउनुपर्दैन।
प्रचण्ड एक्लै ‘प्रचण्ड’ भएका होइनन्; मुख्यतः राजतन्त्र, काङ्ग्रेस र एमाले सम्मिलित परम्परागत संसदीय व्यवस्था विरुद्धको निर्णायक वर्गसङ्घर्ष तथा मोहनविक्रम सिंह, निर्मल लामालगायतसँगको तीव्र वैचारिक अन्तरसङ्घर्ष एवम् मोहन वैद्य, बाबुराम भट्टराई लगायतसँगको सघन सहकार्य मार्फत आइकन नेता बनेका हुन्।
अतः युद्धरूपी विशेष परिघटनाले माओवादी नेतृत्वलाई इतिहासका आइकन नेताका रूपमा स्थापित गरेको मान्न सकिन्छ/मिल्छ। र, माओवादीको प्रमुख नेता भएकाले प्रचण्ड नै समकालीन नेपाली राजनीतिका आइकन नेता हुन्।
यद्यपि, एकातिर सामूहिक नेतृत्व प्रणालीमा चल्ने कम्युनिष्ट पार्टीको सैद्धान्तिक मान्यता र अर्कातिर प्रचण्डलाई आइकन नेताको हैसियत दिलाउने युद्धमा निर्वाह गरेको भूमिकाका आधारमा विश्लेषण गर्ने हो भने आइकन नेताका रूपमा प्रचण्ड मात्रै देखा पर्दैनन्। युद्ध हाँक्ने शीर्ष नेतृत्वपङ्क्तिका प्रचण्ड, मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराईका बीचको एकता–सङ्घर्ष–रूपान्तरण र नयाँ आधारमा नयाँ एकताले नै युद्धको थालनी, विकास, विस्तार र विजय (आंशिक नै भए पनि) सम्भव भएको तथ्यप्रति कसैमा, कुनै भ्रम रहनुहुँदैन।
चन्द्रप्रसाद गजुरेल, रामबहादुर थापा, पोस्टबहादुर बोगटी, कृष्णबहादुर महरालगायत हुँदै नन्दबहादुर पुन, नेत्रविक्रम चन्द, वर्षमान पुन, जनार्दन शर्मा जस्ता सयौं नेताले यिनै तीन नेता बीचको एकता र सङ्घर्षकै सेरोफेरोमा क्रियाशील भएर माओवादी आन्दोलनलाई गति दिनुका साथै आफू समेत स्थापित भएको तथ्य जगजाहेर छ।
अनेकौं राजनीतिक घटना–सन्दर्भ र दस्तावेजहरूले यस तथ्यको पुष्टि गर्दछन्। माओवादी पार्टी एकढिक्का रहेका बेला सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा प्राप्त जनमत एवम् प्रचण्ड–वैद्य–बाबुरामको राजनीतिक उचाइ अनि माओवादी विभाजन लगत्तैको दोस्रो संविधानसभाको निर्वाचन परिणाम, त्यसयताका चुनाव र राजनीतिक घटनाक्रमहरू तथा विभाजित घटकहरू एवम् प्रचण्ड–वैद्य–बाबुरामको वर्तमान हैसियत र उचाइले यसै यथार्थताको पुनर्पुष्टि गरिरहेका छन्।
सारतः सिद्धान्तनिष्ठता, नीति–योजना–कार्यक्रमको सुस्पष्टता, योजनाबद्धता र सामूहिकता विना न नेतृत्व उदाउन र स्थापित हुन सक्छ न त रक्षा नै हुन सक्दछ भन्ने तथ्य बुझ्न यिनै दृष्टान्त पर्याप्त छन्। नेतृत्वको रक्षा गर्ने वा हेडक्वार्टर बलियो बनाउने मूल विधि भनेकै निरन्तर एकता–सङ्घर्ष–रूपान्तरण हो; बाँकी प्रयासहरू या त अज्ञानताको परिचायक नत्र स्वार्थसिद्धिका हर्कत मात्र हुन्।
अन्तरसङ्घर्ष कि घरझगडा ?
केही समययता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच घोचपेच, आरोप–प्रत्यारोप र एक तहसम्मको गालीगलौज निरन्तर चलिरहेको देखिन्छ। राजनीतिक रूपले हेर्दा र स्वतन्त्र ढङ्गले बुझ्दा प्रचण्ड–शर्माबीचको यो द्वन्द्व पार्टीभित्रको अन्तर्विरोध वा अन्तरसङ्घर्ष नै भएको तथ्य सुस्पष्ट छ।
वर्तमान अन्तरसङ्घर्ष विधिसङ्गत, मर्यादित एवम् अनुशासित छ कि अराजक, अनुशासनहीन र उत्तेजक छ, त्यो बेग्लै मूल्याङ्कनको विषय हो। अन्तरसङ्घर्ष व्यवस्थित हुन नसक्नुमा को कति जिम्मेवार छ, त्यो पनि समीक्षाको छुट्टै विषय हो। तर, मित्रतापूर्ण अन्तरसङ्घर्षलाई माओवादीभित्रको घरझगडाका रूपमा दुष्प्रचार गरेर निरन्तर प्रदूषित तुल्याउँदै क्रमशः शत्रुतापूर्ण झगडातर्फ धकेल्न दुवै पक्ष तल्लीन देखिएका छन्।
माओवादी आन्दोलनको विकासक्रम नबुझ्ने, कम्युनिष्ट पार्टीभित्र चल्ने मात्र होइन कि चल्नैपर्ने अन्तरसङ्घर्ष वा दुईलाइन सङ्घर्षको महत्त्व र मर्म नबुझ्ने या बुझेर पनि बुझपचाउने प्रवृत्ति पनि भइनै हाल्छ। अनि नेताविशेषलाई भगवानका रूपमा प्रचार गर्दै स्वार्थसिद्धि गर्न लालायित तप्काले नेतृत्वको रक्षा गर्ने भन्दै प्रचण्ड–शर्मा बीचको द्वन्द्वलाई दिनानुदिन प्रदूषित तुल्याउँदै लगिरहेका छन्।
कम्युनिष्ट पार्टीभित्र अन्तरसङ्घर्ष वा दुईलाइन सङ्घर्ष निरन्तर चलिरहन्छ मात्र होइन कि कम्युनिष्ट पार्टी र नेताहरूले यसलाई पार्टी जीवित रहने प्राणवायु सरह नै मान्दछन्। यही तथ्यलाई आत्मसात् गरेर तत्कालीन नेकपा एकता केन्द्रको मङ्सिर, २०४८ मा सम्पन्न एकता/छैटौं राष्ट्रिय महाधिवेशनमा तत्कालीन महामन्त्री प्रचण्डद्वारा प्रस्तुत भई निकै तीव्र र पेचिलो छलफलपछि पारित भएको दस्तावेजमा लेखिएको छ– ‘एउटा सही क्रान्तिकारी पार्टीभित्र अन्तरसङ्घर्ष एवम् दुईलाइन सङ्घर्ष चल्छ र त्यसलाई पार्टीको जीवन ठान्नुपर्दछ। समाजको विकासक्रममा वर्गसङ्घर्षको जुन भूमिका रहन्छ, पार्टीभित्र ठीक त्यही भूमिका अन्तरसङ्घर्ष एवम् दुईलाइन सङ्घर्षको हुन्छ। यसरी हेर्दा अन्तरसङ्घर्ष एवम् दुईलाइन सङ्घर्षलाई पार्टीको विकास र जीवनको कारकतत्त्वका रूपमा ग्रहण गर्नुपर्छ।’ (नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू, २०६९, पृ. २५४)
अन्तरसङ्घर्ष वा दुईलाइन सङ्घर्षको सिलसिलामा देखापर्ने समस्या वा गलत धारणा तथा आत्मसात् गर्नुपर्ने सही विधिहरूलाई सूत्रबद्ध गर्दै सोही दस्तावेजमा प्रचण्डले पाँचबुँदे ‘प्रेस्क्रिप्सन’ प्रस्तुत गरेका छन्–
प्रथमः अन्तरसङ्घर्ष एवम् दुईलाइन सङ्घर्ष शुरु हुनेवित्तिकै कतिपय साथीहरू पार्टी फुट्ला कि भन्ने डरले तर्सन सक्ने हुन्छ; पार्टीभित्र ‘स्थायी शान्ति’ कायम गरेर सङ्गठन बचाइराख्ने प्रयत्न हुन सक्छ। दुईलाइन सङ्घर्षको स्पष्ट रेखा कोर्नुको सट्टा त्यसलाई मेटाउने प्रयास वा मिलनको विन्दु खोजिने काम हुन सक्छ। यो स्पष्टतः गलत चिन्तन हो र हामीले त्यसको मैत्रीपूर्ण आलोचना एवम् विरोध गर्दै ती कमरेडहरूलाई दुईलाइन सङ्घर्षको आवश्यकता एवम् महत्त्व र त्यसको वैज्ञानिकताबारे स्पष्ट पार्नुपर्दछ।
द्वितीयः आफूले सोचेअनुरूपको निर्णय भएन भने त्यसको कार्यान्वयनमा उपेक्षा गर्ने वा बहुमतको निर्णयको खुला विरोध गर्दै हिंड्ने अराजकतावादी प्रवृत्तिबाट हामी सर्वदा सचेत रहनुपर्दछ र त्यसको कडाइका साथ आलोचना एवम् विरोध गर्नु आवश्यक छ।
तृतीयः अल्पमतलाई नसहने र त्यसको कदर नगर्ने प्रवृत्ति पार्टीभित्र निरन्तर रहिआएको छ। यस प्रवृत्तिको मुख्य दोष कहाँनेर छ भने यसले अल्पमतको विचार पनि सही र वैज्ञानिक हुन सक्छ भन्ने कुरा बुझ्न सकेको हुँदैन। यो प्रवृत्ति पनि हानिकारक छ र त्यसको पनि कडाइका साथ आलोचना र विरोध गर्नु आवश्यक छ।
चतुर्थः अन्तरसङ्घर्ष एवम् दुईलाइन सङ्घर्षलाई सही र स्वस्थ ढङ्गले अघि बढाउन सकिएन भने निश्चित छ– पार्टीमा गुटबन्दीको सुरुआत हुनेछ र त्यसको अन्तिम परिणाम फेरि पनि फुट नै हुनेछ। यसप्रकारको खतराबाट बच्न र पार्टीलाई असैद्धान्तिक एवम् अराजनीतिक फुटबाट बचाइराख्नका निम्ति हामीले उच्च प्रकारको सतर्कता अपनाउनु जरूरी छ। ठीक यहींनेर हामीले विगतमा भएका फुटका कटु पाठहरूलाई हमेसा ध्यानमा राखिरहनुपर्नेछ।
पञ्चमः अन्तरसङ्घर्ष एवम् दुईलाइन सङ्घर्षका सन्दर्भमा ध्यान दिनुपर्ने कुरा यो हो कि हरेक क्रान्तिकारी कम्युनिष्टले क्रान्तिकारी सिद्धान्त एवम् क्रान्तिकारी राजनीतिका निम्ति, वर्गसङ्घर्षको हितका निम्ति, समाजवाद–साम्यवादको ध्येय–उद्देश्य प्राप्तिका निम्ति क्रान्तिकारीहरूका बीचको जुझारु एकता र लडाकु पार्टी निर्माणका निम्ति सङ्घर्षशील रहने प्रश्नलाई केन्द्रीय प्रश्न बनाएर सोच्नुपर्दछ र त्यसका लागि अन्तिम दमसम्म लड्न तयार रहनुपर्दछ।
माओवादीभित्र यतिबेला चर्केको घरझगडालाई बुझ्न र त्यसलाई सही ढङ्गले निष्कर्षमा पुर्याउन मार्क्स–एङ्गेल्स, लेनिन–स्टालिन, माओ–गोञ्जालोका ठेली र उद्धरणहरूको खोजी गरिरहनै पर्दैन; ३६ वर्षअघि प्रचण्डले लेखेको दस्तावेजका यी पङ्क्तिलाई आत्मसात् गर्दा नै पर्याप्त हुने देखिन्छ।
कसरी सम्भव छ हेडक्वार्टरको रक्षा ?
नेपालका वामपन्थीहरूले नेपाली सामन्तवादको संस्थापक भन्ने वा मान्ने पृथ्वीनारायण शाहले उहिल्यै भनेका थिए– ‘प्रजा मोटा भया दरबार बलियो हुन्छ।’
यत्तिसम्मको पनि चेत आजका प्रायः ‘कम्युनिष्ट’ नेताहरूमा भेटिंदैन। कम्तीमा पृथ्वीनारायण शाहको यस उक्तिलाई मात्रै आत्मसात् गर्ने हो भने पनि जनसाधारण वा कुनै कमरेडले टिप्पणी या आलोचना गर्दा वा प्रश्न उठाउँदा नेतृत्वले थुरुरुरु… काँप्नुपर्ने स्थिति आउँदैन। जनता, समर्थक, कार्यकर्ता र अरू नेताहरू अर्थात् सिङ्गै टिम बलियो हुँदा मात्र आफू बलियो भइन्छ; अन्यथा ‘सर्वशक्तिमान् हुँ’ भन्ने विभ्रम या आत्मरतिको कुनै आयु हुँदैन भन्ने यथार्थता सबै कम्युनिष्ट पार्टीका नेताहरूले बुझेकै होलान्; नबुझेका भए अब बुझून्।
बीस, तीस, चालीस वर्षदेखि निरन्तर कष्ट र अपमान सहेर, निष्ठा, इमान र अभावमा बाँचेर; क्रान्ति, परिवर्तन र पार्टी भन्दै समर्पणभावका साथ प्रतिबद्ध रहँदै डटेका हजारौं नेता–कार्यकर्ताले आजका माओवादी घटकहरूबाट भयङ्कर अपमान र अवहेलना सहिरहनु परेको छ। शहीद तथा बेपत्ता योद्धाका परिवारजनको हालतबारे त सबैले बेलाबखत भट्याइरहेकै छन्।
एमाले, काङ्ग्रेस, राप्रपा आदिले समेत काम नलाग्ने भए भनेर कारबाही वा निष्काशन गरेका मान्छेहरूलाई पार्टीमा भित्र्याउन अध्यक्ष सहितका शीर्ष नेताहरू खादा र माला बोकेर लाइन लाग्ने गरेका छन्; फोटोसेसन गरेर सञ्चारमाध्यमबाट कोकोहोलो मच्चाउने गरेका छन्। तर, तीसौं–चालीसौं वर्ष त्याग–तपस्या गरेका आफ्ना के–कति मान्छे, कहाँ र कुन हालतमा छन्; तिनको भनाइ, धारणा, चाहना र मर्का के हो– त्यतातिर कहिल्यै वास्ता गर्ने गरेका छैनन्। यसरी नै हुन्छ त नेतृत्वको रक्षा कदापि हुँदैन।

युद्धकालमा प्रतिकार समिति बनाएर योद्धाहरूलाई पक्राउने, मराउने र अनेकौं दुःख–प्रताडना दिनेहरू तथा विभिन्न बहानाबाजी गरेर ऊ बेला माओवादी सिध्याउन लागिपर्ने कतिपयहरू आज नेता बनाइएका छन्। शान्ति प्रक्रियायता रातारात ‘क्रान्तिकारी’ बनेका र माथि चर्चा गरिएबमोजिम खादा–माला पहिर्याइएकाहरूबाट इमानदार माओवादीहरूले क्रमशः शासित–शोषित बन्दै जानु परिरहेको छ।
‘लौ न नि, हेडक्वार्टरको रक्षा नहुने भो…’ भन्दै साँझ–बिहानै नेता निवास, पार्टी कार्यालय र सरकारी अड्डा धाउनेहरूमध्येका अधिकांश तिनै सुकिलामुकिला, अत्तर छर्केर जेल लगाउनेहरू नै देखिन्छन्। क्रान्तिकारी आन्दोलनको निरन्तरतामै आएकाहरूमध्येका पनि अधिकांश आफ्नो सिद्धान्त, नीति, विधि, इमान, कर्तव्य, विगत र बलिदान बिर्सेर यो वा ऊ नेताकै दाहिने हातमा रूपान्तरित र सीमित हुँदै गएका देखिन्छन्।
अधिकांश जनसङ्गठन र पार्टी कमिटीहरूमा यस्तै–यस्तैको वर्चश्व छ। राजनीतिक नियुक्ति खानेहरूको त झन् कुरै गर्नुपरेन; विभिन्न तहका चुनावमा टिकट हत्याउनेहरूमध्येका समेत अधिकांश तिनै र त्यस्तै छन्।
यस्तै र यिनै पात्रहरूले चियापसल र भट्टी अनि सामाजिक सञ्जालमा कोकोहोलो मच्चाएर ‘हेडक्वार्टरको रक्षा’ सम्भव छ ? किमार्थ सम्भव छैन।
तलदेखि माथिसम्म र माथिदेखि तलसम्म विद्यमान सङ्गठनात्मक अत्याचारको तत्कालै अन्त्य अनिवार्य छ। सिद्धान्त, विचार र एजेन्डा तथा नेतृत्व निर्माणका लागि खुला रूपले मत राख्न, छलफल गर्न, समर्थन वा विरोध गर्न तथा विधिसम्मत रूपले निर्णयमा पुग्न एवम् मर्यादित रूपले भिन्न मतलाई सुरक्षित राख्न पाइने अवस्थाको ग्यारेन्टी गरिनु अनिवार्य छ।
पार्टीभित्र आएका वा आउने मत र तर्कलाई बढाइचढाइ (एग्जागरेसन) र विषयान्तर (डिस्टोर्सन) गर्दै कसैको भक्तिगान गरेर आफ्नो दुनो सोझ्याउने दुराशयका साथ अराजनीतिक गालीगलौज र झगडा तन्काउँदै मैत्रीपूर्ण अन्तरसङ्घर्षलाई दुस्मनीपूर्ण विभाजनतर्फ धकेल्ने दुष्कर्ममाथि तत्काल लगाम लगाइनु अनिवार्य छ।
विगतमा वैद्य, बाबुराम, विप्लव इत्यादिको नेतृत्वमा भएका विभाजनहरूका पछाडि अरू अनेकौं कारण विद्यमान भए तापनि मुख्य कारण चाहिं यही र यिनै अवस्थाहरू हुन् अनि अबका एकता प्रयासहरूमा समेत यिनै विसङ्गतिहरू मुख्य तगारा हुन् भन्ने यथार्थतालाई जोसुकैले जेसुकै जामा पहिर्याएर ढाँट्न–लुकाउन खोज्नु व्यर्थ छ।
पार्टीको पुनर्गठन, रूपान्तरण वा जेसुकै पदावलीको प्रयोग गरिए तापनि समग्र राष्ट्र र समाज अनि मुख्यतः पार्टीमा न्याय, समानता र सुसङ्गत विधि संस्थागत गरेर मात्रै हेडक्वार्टरको रक्षा सम्भव हुन्छ। सीमित इमानदारहरू, केही सच्चा शुभचिन्तकहरू र अधिकांश भजनमण्डलीको रुवाबासी, छटपटी र जयजयकारबाट माओवादी नेतृत्वको रक्षा हुन सक्दैन। हेडक्वार्टरको रक्षा गर्ने अहिलेको कमरेडी काइदा उल्टो छ; बेलैमा सुल्ट्याए सबैको भलो होला !
प्रतिक्रिया 4