+
+
Shares

सरकारले खोल्यो दशैंको खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ

कम्पनीले यो वर्ष २ हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १६:००

१७ भदौ, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ।

कम्पनीको खरिद विभागका विभागीय प्रमुख अनन्तराज पौडेलले आज बिहानदेखि अनलाइन बुकिङ खुला गरिएको जानकारी दिए ।

अनलाइन बुकिङ ३० भदौसम्म जारी रहने छ । उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसी, बोका वा च्याङ्ग्रा छनोट गर्न सक्नेछन् । बुकिङ गर्दा एक पटकमा अधिकतम १० वटासम्म छनोट गर्न सकिने पौडेलले जानकारी दिए ।

बुकिङका लागि उपभोक्ताले अग्रिम भुक्तानी गर्नुपर्ने छ । च्याङ्ग्राका लागि एउटाको ५ हजार रुपैयाँ र खसी र बोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क लाग्ने छ ।

पौडेलका अनुसार यो अग्रिम भुक्तानी हाललाई बुकिङ सुनिश्चित गर्नमात्र हो । पशुको अन्तिम मूल्य भने तौलका आधारमा निर्धारण गरिने छ । कम्पनीले २० देखि २५ किलो र २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० किलोसम्मका तौल समूहमा पशुहरू छनोट गर्ने विकल्प अनलाइनमा राखेको छ ।

अन्तिम बिक्री मूल्य कम्पनीको तत्कालीन बिक्री मूल्यमा तौल अनुसार तय गरिने र भुक्तानी गरिएको अग्रिम रकम कुल बिलबाट घटाइने छ ।

बुकिङ गरिएका खसी, बोका र च्याङ्ग्रा घटस्थापनादेखि सप्तमीसम्म वितरण गरिने छ । अनलाइन बुकिङ गर्दा नै उपभोक्ताले आफूलाई पायक पर्ने र सहज हुने मिति छनोट गर्न सक्नेछन् ।

बुकिङ र भुक्तानी प्रक्रिया पूरा भएपछि उपभोक्तालाई एसएमएस मार्फत एउटा कोड र पशु बुझिलिन आउने मितिसहित जानकारी पठाइने छ ।

उपभोक्ताले सोही कोड र निर्धारित मितिमा उपस्थित भएर कम्पनीको बिक्री केन्द्रबाट आफ्नो पशु बुझिलिन सक्ने उनले बताए ।

कम्पनीले यो वर्ष २ हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने छ । यस्तै कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्दा प्रतिकिलो १० रुपैयाँ छुट दिइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?