+
+
Shares

लाभांश सिजनमा पनि सेयर बजारमा थपिएन उत्साह, नेप्से घट्यो २० अंक

विगतमा लाभांश घोषणाका बेला सेयर बजारमा सुधार आउने गरे पनि अहिले ठिक विपरीत हुन पुगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूचीकृत कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा सुरु गरे पनि सेयर बजारमा मनोबल कमजोर भएको छ।
  • मंगलबार नेप्से परिसूचक १९.८९ अंक घटेर २७४१.९७ अंकमा झरेको छ र कारोबार रकम सवा ४ खर्बमा सीमित छ।
  • नेप्सेमा बैंकिङ, विकास बैंक, वित्त, होटल, जलविद्युत् लगायत सबै समूहगत परिसूचक घटेका छन्।

१७ भदौ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत कम्पनीले लाभांश घोषणा गर्न सुरु हुँदा पनि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको छ ।

विगतमा लाभांश घोषणाका बेला सेयर बजारमा सुधार आउने गरे पनि अहिले ठिक विपरीत हुन पुगेको हो ।

सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा सुरु गरेका छन् । विगतका वर्षमा लाभांश दिन नसक्ने अवस्थामा रहेका बैंक तथा वित्तीय संस्थाले समेत गत आवको नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गर्न थालिसकेका छन् ।

तर, धितोपत्र बजारमा दीर्घकालीन लगानी गर्ने र कम्पनीको प्रतिफल पर्खनेभन्दा पनि कारोबारी हावी सेयर बजार परिसूचक विपरीत गतिमा देखिएको हो । साथै, उधारो र ऋणमा आधारित सेयर करोबार भएकाले पनि सेयर बजारमा सुधार आउन नसकेको जानकार बताउँछन् ।

यो साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक करिब २० अंक घटेको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि सवा ४ खर्बमा सीमित भएको छ । उधारोमा कारोबार गर्ने कारोबार हावी हुँदा बिक्री चाप बढेकाले बढ्नुपर्ने सिजनमा पनि सयेर बजार सूचक घटेको हो ।

मंगलबार कारोबार सुरु हुँदा २७६१.८६ अंकमा रहेको नेप्से सूचक १९.८९ अंक घटेर २७४१.९७ अंकमा झरेको छ । नेप्सेमा कारोबार भएका आधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक घट्न मद्दत पुगेको नेप्सेले जनाएको छ । यो साताको पहिलो दिन आइतबार ३१ अंक घटेको नेप्से सोमबार १२ अंक बढेको थियो ।

मंगलबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत परिसूचक घटेका छन् । नेप्सेमा कारोबार भएका बैंकिङ ७.२२, विकास बैंक २२.७४, वित्त २१.३, होटल ३६.७४, जलविद्युत् ३३.९२, लगानी ०.८५, जीवन बीमा ३९.०५, उत्पादनमूलक ६०.४८, लघुवित्त ४९.६५, सामूहिक लगानी कोष ०.०५, निर्जीवन बीमा ८७.९१, अन्य १४.३१ र व्यापार ८१.१५ अंक घटेका छन् ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । मंगलबार नेप्सेमा ३ सय २३ कम्पनीको ८९ हजार ७ सय ७५ कारोबारबाट ३ अर्ब ४३ करोड रुपैयाँ बराबर १ करोड ५ लाख ३५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

यो कारोबार रकम सोमबारको तुलनामा थोरै हो । सोमबार नेप्सेमा ५ अर्बभन्दा धेरै रकम बराबर सेयर खरिद–बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?