
१७ भदौ, काठमाडौं । थाइल्यान्डमा नेपाल प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)– नेपाल च्याप्टरले नेपाल एयरलाइन्स र १४ निजी पर्यटन तथा आतिथ्य कम्पनीसँगको सहकार्यमा थाइल्यान्डमा यस्तो प्रवर्द्धन गरेको हो ।
अगस्ट २६ देखि २८ सम्म थाइल्यान्डको राजधानी बैंककस्थित क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टरमा सम्पन्न पाटाको प्रमुख अन्तर्राष्ट्रिय ‘बीटुबी ट्राभल ट्रेड इभेन्ट–पाटा ट्राभल मार्ट २०२५’ मा ‘नेपाल पभेलियन’ मार्फत विशेष आकर्षण, पर्यटन प्रवर्द्धन र उल्लेखनीय ब्रान्ड पहिचान स्थापित गरेको बोर्डले जनाएको छ ।
मार्टमा ५० बढी गन्तव्यबाट आएका १ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । ३० गन्तव्यका २ सय २५ संस्थाबाट ४ सयभन्दा बढी विक्रेताले सहभागिता जनाएका थिए । जसमध्ये ५२ प्रतिशत विक्रेता पहिलो पटक सहभागी भएका थिए ।
त्यस्तै ४१ प्रमुख स्रोत बजारका २ सय १८ संस्थाबाट २ सय २५ क्रेता उपस्थित थिए । जसमा ६५ प्रतिशतले पहिलो पटक सहभागिता जनाएका हुन् ।
विविध नेपाली पर्यटकीय उपजसहित स्तुपा–थिममा सुसज्जित ‘नेपाल पभेलियन’ सम्पूर्ण प्रदर्शनीबीच अत्यन्तै आकर्षक र मनमोहक बनेको बोर्डले जनाएको छ । यसले अन्तर्राष्ट्रिय खरिदकर्ता र प्रदर्शकको ध्यान खिच्दै प्रशंसा प्राप्त गरेको समेत बोर्डको भनाइ छ ।
पर्वतारोहण, पदयात्रा, अध्यात्म, वेलनेस, लक्जरी ट्राभल, समुदाय–आधारित पर्यटन र अन्य जीवन परिवर्तनकारी अनुभव लगायत नेपालका विविध पर्यटन आयाम प्रस्तुतीकरणले नेपाल पभेलियन एक जीवन्त मञ्च बनेको बोर्डले जनाएको छ ।
नेपालको पर्यटन प्रवर्द्धनमा सार्वजनिक–निजी साझेदारीको सफल र सशक्त मोडेललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर समेत गरेको जनाइएको छ ।
सोही अवसरमा पाटा ट्राभल मार्टमार्फत आगामी २०२६ जुन २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने नेपालकै प्रमुख अन्तर्राष्ट्रिय यात्रा तथा व्यापार प्रदर्शनी मेलाका रूपमा स्थापित ‘हिमालयन ट्राभल मार्ट’ को छैटौं संस्करण पनि प्रवर्द्धन गरिएको छ ।
नेपालको सहभागिताबारे प्रतिक्रिया दिँदै पाटा–नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडलले यस वर्ष च्याप्टर स्थापना (१९७५) देखि नेपालमा सार्वजनिक–निजी साझेदारीको ५०औं वर्ष विविध नवीन एवं रचनात्मक कार्यक्रम सहित मनाइरहेको बताए ।
प्रतिक्रिया 4