+

घरेलु मैदानमा बंगलादेशविरुद्ध जित निकाल्छौं : प्रशिक्षक म्याट रस

२०८२ भदौ  २० गते १३:५७ २०८२ भदौ २० गते १३:५७
घरेलु मैदानमा बंगलादेशविरुद्ध जित निकाल्छौं : प्रशिक्षक म्याट रस

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशसँग घरेलु मैदानमा हुने दुई मैत्रीपूर्ण खेलमा जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताएका छन्।
  • नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल २१ भदौमा दशरथ रङ्गशालामा साँझ ५:३० बजे सुरु हुनेछ र दोस्रो खेल २४ भदौमा हुनेछ।
  • एन्फाले खेलका लागि ९,००० सामान्य र १,००० भिआइपी टिकट बिक्री गर्ने र दर्शकहरूले खल्ती डिजिटल वालेटमार्फत खरिद गर्न सक्ने जनाएको छ।

२० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशसँग घरेलु मैदानमा हुने दुई मैत्रीपूर्ण खेलमा जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताएका छन् ।

शुक्रबार आयोजित प्रि म्याच प्रेस कन्फेरेन्समा कुरा गर्दै उनले बंगलादेशको टोली राम्रो भएको र राम्रो प्रतिस्पर्धा हुने उल्लेख गर्दै जितका लाति खेल्ने बताएका हुन् ।

‘हाम्रो तयारी राम्रो भएको छ, घरेलु दर्शकको अगाडि राम्रो प्रतिस्पर्धा हुन्छ जस्तो लाग्छ र हामी जित्ने पनि छौं, खेलाडीहरूले‌ पनि त्यही अपेक्षा गरेका छन्’ प्रशिक्षक रसले भने ।

बंगलादेशको टोली पनि राम्रो भएको बताउँदै नेपालका लागि यो राम्रो परीक्षण हुने पनि उनले उल्लेख गरे ।

कप्तान किरण चेम्जोङले पनि तयारी राम्रो भएको उल्लेख गरे । प्रशिक्षणका क्रममा अधिकांश समय आफू यहाँ नभएको भएपनि टोलीको राम्रो तयारी‌ भएको र आफु पनि खेलका लागि तयार रहेको उनले उल्लेख गरे ।

कप्तान किरणले घरेलु मैदानमा खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताए ।

त्यस्तै बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले‌‌ नेपाल आउनुअघि राम्रो तयारी भएको बताउँदै यहाँ आएर खेल्न उत्साहित रहेको बताए ।

‘यहाँ आउनुअघि पनि हामीले अभ्यास खेलहरू खेलेका थियौं, हाम्रै स्तरमा रहेको नेपाली टोलीसँगको‌ खेलले हामीलाई पनि राम्रो तयारी पुग्ने छ, यो अवश्य च्यालेन्जिङ भने हुनेछ’ उनले भने ।

‘नेपाली टिम पहिलेभन्दा बलियो हुँदै आएको छ, हामीले राम्रो अनि बलियो टिम नै ल्याएका छौं, यस खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेको छु’ उनले थपे ।

लेसेस्टर सिटीका अनुभवी खेलाडी हम्जा चौधरी नआउनुको कारणबारे प्रशिक्षक जेभियरले हम्जाको दाँया खुट्टामा केही समस्या रहेको र मैत्रीपूर्ण खेलमा रिस्क लिन नचाहेको बताए ।

कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण फुटबल खेलले एसियन कप छनोटको लागि राम्रो तयारी हुने बताए । ‘हामी यहाँ जित्न आएका हौं, त्योभन्दा पनि बढी चाहिँ राम्रो खेल प्रदर्शन गर्न आएका हौं, आशा छ राम्रो प्रदर्शन हुनेछ’ भुयाले भने ।

नेपाल र बंगलादेशबीचको पहिलो खेल दशरथ रङ्गशालामा शनिबार साँझ ५:३० बजेदेखि सुरु हुनेछ । दोस्रो खेल मंगलबार हुनेछ ।

समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ। यदि दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइने एन्फाले जनाएको छ। विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन्।

एन्फाले खेलका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। खेलको टिकट दर सामान्य पारापिटका लागि रु ५०० र भिआइपी पारापिटका लागि रु १,००० तोकिएको छ।

यस अन्तर्गत ९,००० सामान्य र १,००० भिआइपी टिकट बिक्री गरिनेछ, जसलाई दर्शकहरूले खल्ती डिजिटल वालेटमार्फत खरिद गर्न सक्नेछन्।

नेपाली फुटबल टोली मैत्रीपूर्ण फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय