+
+
Shares

लङ्का–विजयपछि-१

एलबी बस्नेत एलबी बस्नेत
२०८२ भदौ २१ गते ९:४१

भारद्वाज तीन दिनको उपवास बस्दा समेत पुलकित थिए। शास्त्रीय श्रद्धाका कथाभन्दा बाहिर गई सत्यको अन्वेषणतर्फ अघि बढें भन्ने भावले विभोर। यद्यपि राम-रावण युद्धपश्चात् समाज रूपान्तरणका कैयौं विषयमा उनको मनमा प्रश्न उब्जिनै रहेका थिए।

ध्यान-साधनामा समय व्यतीत गरेपश्चात् उनी मौका मिल्नासाथ रामायणको उत्तर-कथाकै शोधकर्ममा लागिहाल्थे। गुरु याज्ञवल्क्यले धेरै दिनसम्म भारद्वाजको गतिविधि र कौतूहलतामाथि गौर गरेका थिए।

एकदिन जिज्ञासा बढेपछि उनी भन्न थाले- ‘हे भारद्वाज, मैले पहिले पनि भनिसकेको छु लङ्का विजयपछिका प्रसंग श्रवणयोग्य छैनन्। तर तिमी विभिन्न कोणबाट त्यसपश्चात् के भयो भन्ने कौतूहलताले ग्रस्त भई प्रश्न गरिरहन्छौं ! यी तपसिलका घटनाक्रमहरू भक्तजनहरूका लागि अपाच्य हुँदाहुँदै पनि तिम्रो यस किसिमको भक्ति मिश्रित कौतूहलताले यी दुर्लभ प्रसंग अन्तिम पल्ट बयान गर्दैछु। सुन !’

यत्ति भनेर याज्ञवल्क्यले आँखा चिम्लिए र दुई हात जोडेर धेरै बेर मौन बसे। तत्पश्चात्, गह्रौं स्वरमा बोल्न थाले, ‘लङ्का विजयपछि के हुनेवाला छ भन्नेमा शायद कोही सचेष्ट थिएन। रामको जय भन्नु भन्दा बढ्ता श्रम गर्न, आफ्नै पराक्रमबाट ल्याएको व्यवस्थामा किमार्थ तयार भएनन्। हे भारद्वाज, केही वर्षहरू बितेर गए तर उपद्रव रोकिएन अपितु समाजमा रहेका अन्य वानरहरू समेत मिसिए। अयोध्यामा वानरहरूको घाउ पञ्जीकरणको कार्यभार कम हुँदै गएको त थियो तर उनीहरूको हठ कहिल्यै घटेन।’

एकदिन रामचन्द्र ध्यानमग्न थिए, त्यहीबेला भरत फेरि हतारिंदै राजदरबार प्रवेश गरे। उनको अनुहारमा चिन्ताका रेखा देखिन्थे। ‘दाजु’ उनले भन्न थाले, ‘हजुरका वानरहरू फेरि नयाँ कर्तुतमा लागेछन्। विश्वविद्यालयका कुलपति नियुक्तिमा होडबाजी गरिरहेका छन्।’

रामले चकित हुँदै सोधे, ‘परन्तु शिक्षा त संयम र तपस्याको विषय हो, वानरहरूलाई कसरी मिल्न सक्छ ?’

‘त्यो त मिल्दैन’ भरतले उत्तर दिए, ‘तर वानरहरूको तर्क बलियो छ। उनीहरू भन्छन्- हामी लङ्का–विजयका सेनानी हौं। हामीले रावणको चौरासी विश्वविद्यालयहरू जलाएर ज्ञानको पुनःनिर्माणका लागि मार्गप्रशस्त गरेका थियौं। त्यसैले विश्वविद्यालयमा हाम्रो योगदान ऐतिहासिक छ। नेतृत्वमा त हामी नै हुनुपर्छ।’

हे मुनिवर, रामले हात टाउकोमा राखे। त्यही बेला द्वारपाल आयो र सूचना दियो, ‘महाराज, कुलपति नियुक्तिको सिफारिस पत्र लिएर वानरसंघका प्रतिनिधिहरू बाहिर पर्खिरहेका छन्।’

रामले अनुमति दिए। केही समयपछि, चार-पाँच वटा वानरहरू झुम्मिएर भित्र पसे। एक जना अगुवा वानरले अगाडि बढेर भन्यो, ‘महाराज, शिक्षा क्षेत्रमा हाम्रो योगदान अप्रतिम छ। हाम्रो एक साथीले युद्धपछि गुरु वशिष्ठको आश्रमको पुस्तकालयबाट चुँडिएका पाना जम्मा गरेका थिए। वानर भाषामा ‘रामायण’ नै लेख्न थालेका अर्का साथी समेत हामीसँगै हुनुहुन्छ, यद्यपि अहिलेसम्म शीर्षकमै अड्किएको छ।’

कुलपतिमा नियुक्त भएको प्रमुख वानरले पद सम्हाल्ने दिन ठूलो समारोह राखियो। विशाल पण्डाल बनाइयो, वानर-बाजाको टोली बनाइयो र सबै फोटोग्राफरलाई बोलाइयो।

‘हामी यो राज्यका सच्चा योद्धा हौं। हाम्रा घाउहरू भर्खर निको भएका छन्, अब तिनै घाउको पुरस्कार स्वरूप हामी विश्वविद्यालयको सर्वोच्च पद चाहन्छौं- कुलपति पद !’

हे मुनिवर, सदा झैं रामले धैर्यपूर्वक सबै कुरा सुने। फेरि भने, ‘तर शिक्षा त तपस र सेवासँग जोडिएको विषय हो। यस्तो नियुक्तिमा योग्यताको आधार चाहिन्छ।’

वानरहरूको अगुवाले भने, ‘हजुर, हामी योग्य नै त छौं ! हाम्रो साथी बिग वानर बाल्यकालदेखि नै गुरुकुल वरिपरि घुम्थ्यो। अर्को वानरले त घोडा कुदाउन सिकेको छ – त्यो पनि विश्वविद्यालयको खेलकुद विभाग चलाउन उपयुक्त होइन र ?’

त्यसपछि एक वानर अगाडि आयो, मुखमा फूलको माला, खादा अनि निधारमा चन्दन। ऊ सबैभन्दा चतुर देखिन्थ्यो।

उसले भन्यो, ‘महाराज, म कुलपति पदको प्रमुख दाबेदार हुँ। मैले लङ्कामा रामजीको आरती सामग्री बोकेको थिएँ। त्यसबेलाको मेरा जयघोष अहिले पनि भक्ति-संग्रहमा छन्। म पूर्व कुलपतिज्यूको भतिजो पनि हुँ।’

भरतले रोक्न खोजे, ‘तर तिमीले त कहिल्यै औपचारिक शिक्षा नै लिएका छैनौं।’

उसले भन्यो, ‘शिक्षा त केवल एक औपचारिकता हो। प्रमुख कुरा सम्बन्ध र समर्पण हो। हाम्रो समर्पण त जयघोषमै प्रकट भएको थियो। अहिले त मैले विश्वविद्यालयले दिने प्राध्यापक पदको नेमप्लेट समेत पाइसकेको छु। त्यो नेमप्लेट नै म सानैदेखि खेल्ने रूखको काठले निर्मित हो। यति मात्र कहाँ हो र ! मलाई एउटा कीर्तनटोलीले ‘लङ्काजयी युवा नेतृत्व पुरस्कार’ दिएको छ।’

हे भारद्वाज, अन्ततः राम चुप लागे। लाजले कान रातो भयो तर, यथार्थ बुझे।

केही समयपछि वानरहरू कुलपति र अन्य पदाधिकारीमा नियुक्त भए। एक-आपसको झगडामा समेत व्यस्त रहन थाले।

याज्ञवल्क्यले वर्णनको सारांशतिर लाग्ने संकेत गरे तर, भारद्वाजले जोड दिए, ‘मुनिवर, अनि ती वानर कुलपति र पदाधिकारीहरूले के-के गरे ?’

याज्ञवल्क्य मुस्कुराउँदै बोले, ‘समाजमा मौका नपाएका वानरहरूले, अनि अन्य पदमा मौका पाएका वानरहरू समेतले नियुक्ति पाएका थिए। एकपछि अर्को नियुक्तिको लालसामा वयोवृद्धदेखि युवा वानरहरू रहन थाले !’

‘हे मुनिवर, वानरहरूले विश्वविद्यालयमा नयाँ विभाग खोले- जयघोष विज्ञान । जहाँ छात्रहरूलाई जय भन्न सिकाइन्थ्यो – ‘रामको जय कस्तो स्वरमा ?’, ‘नैतिक जयघोष र भौतिक जयघोष बीचको भिन्नता’ जस्ता विषयमा शोध हुने गर्थ्यो।

‘दोस्रो वानरले त ‘भक्ति-पद व्यवस्थापन” विषयमा पीएचडी सुरु गर्‍यो। उसले आफ्नो शोधको शीर्षक राख्यो – भक्तिको ऐतिहासिकता र दायित्व

सबै वानर एक-आपसमा पनि झगडा गर्न थालेका थिए। जसले बढी चिच्यायो, त्यसलाई अलि अग्लो कुर्सीमा विराजमान गराइन्थ्यो। वानर-कुलपतिले आफूभन्दा चिप्ला वानरहरूलाई उपकुलपति बनाए र सबै कुरामा वानरहरूकै तजबिज कायम भयो। आय-व्ययको हिसाब-किताबको साटो चन्दनको लेप दलेर पेश गर्न थाले।

अर्को वानरले विश्वविद्यालयमा निजी ठेक्का प्रणाली सुरु गर्‍यो- चमेना गृह र बगैंचाको आँप मात्र होइन बगैंचाको घाँस, पुस्तकालयको फर्निचर, होमवर्कको मूल्याङ्कन- सबै ठेक्कामा गयो। वानरहरूसँग संगत गर्ने केही मानिसहरू पनि वानर झैं बानी बसाल्न थाले। भाषणमा ध्वनि बढ्यो, ज्ञान घट्यो।

याज्ञवल्क्यले लामो सास लिएर थपे— तर, हे मुनिवर, श्रद्धालुहरू भने अझै रामराज सम्झेर चुप लागिरहेका थिए। उनीहरूलाई रामको जय भन्न त आउँथ्यो, तर आफ्नो विवेकको घाउ देखाउन सक्दैनथे। रामकै राज त यस्तो छ, यसपछि कस्तो राज आउला भनेर चुपचाप बसेको हुनाले नै यसबारे कसैले लेखेनन् र यी प्रसंग दुर्लभ हुनपुगे।

भारद्वाज दुर्लभ प्रसंगको श्रवण गर्न अझ व्याकुल थिए र हतपत् कृतज्ञ हुँदै भने, ‘गुरुवर म धन्य भएँ, कृपा गरेर अझै प्रकाश पार्नुहोस् !’

याज्ञवल्क्यले फेरि आफ्नो कथा यसरी अगाडि बढाएः

हे भारद्वाज, एवम् रितले वानरहरूद्वारा विश्वविद्यालय कब्जा भइगयो र अयोध्याको सबैभन्दा बुद्धिजीवी जमात मौन रह्यो। उनीहरूले केही बोल्न खोज्यो कि वानरहरू उनीहरूलाई ‘रावणपन्थी’ भन्दै बदनाम गर्न थाले।

कुलपतिमा नियुक्त भएको प्रमुख वानरले पद सम्हाल्ने दिन ठूलो समारोह राखियो। विशाल पण्डाल बनाइयो, वानर-बाजाको टोली बनाइयो र सबै फोटोग्राफरलाई बोलाइयो।

सो कार्यक्रममा प्रमुख वानरले लामा भाषण दिए जसको शीर्षक थियो- शिक्षामा वानर दर्शन।

प्रमुख बाँदरले भने, ‘हामी वानरहरूको उफ्राइ एक दार्शनिक अभ्यास हो, हाम्रो विचार मान्छेको जस्तो सुस्त हुँदैन। हाम्रा विचारहरू उफ्री-उफ्री आइपुग्छन्। मलाई लाग्छ, स्नातक तहमा पाठ्यक्रममा चिच्याउने अभ्यास, फन्को मार्ने क्लास अनि ‘भक्ति समीक्षा’ नामक विषय थपिनुपर्छ।’

त्यो सुनेर विद्यार्थीहरू हाँसेनन्। किनभने सबै विद्यार्थीलाई ‘हास्यमा असहमति’ भनेर सूचित गरिसकेका थिए।

यसपछिका दिनहरूमा विश्वविद्यालयमा ‘राम-रावण युद्ध अध्ययन केन्द्र’ स्थापना गरियो। त्यहाँ वानरहरूले आफैंमाथि अनुसन्धान गर्न थाले। एउटा अनुसन्धानको शीर्षक यस्तो थियो, भक्ति र शक्तिको सम्बन्ध र अर्को शीर्षक थियो, वानर भएर उच्च पदमा पुग्ने बाटो: ऐतिहासिक नालबेली

वानरहरूको अर्को जमातले ‘भक्ति तथा घाउ दर्शन परिषद्’ गठन गर्‍यो। परिषद्का अध्यक्ष एक वानर थिए जसले लडाइँमा भाग नै लिएका थिएनन्, तर उनीसँग पाँचवटा बनावटी घाउ थिए, प्लास्टिक सर्जरीले बनाएका !

हे मुनिवर, वानरहरूले अब विश्वविद्यालयको हर विषयमा हस्तक्षेप गर्न थाले। दर्शन विभागमा ‘वृक्ष-विचार’ विषय राखियो, जहाँ वानरहरूलाई रूख चढेर ध्यान बस्ने अभ्यास गराइन्थ्यो। “बोलेका शब्दहरू गफै लागून्, तर सुनुवाले ताली दिऊन् तब न वानर-शिक्षा’ जस्ता नारा भित्ता-भित्तामा लेखियो।

हे भारद्वाज, सबै वानर एक-आपसमा पनि झगडा गर्न थालेका थिए। जसले बढी चिच्यायो, त्यसलाई अलि अग्लो कुर्सीमा विराजमान गराइन्थ्यो। वानर-कुलपतिले आफूभन्दा चिप्ला वानरहरूलाई उपकुलपति बनाए र सबै कुरामा वानरहरूकै तजबिज कायम भयो। आय-व्ययको हिसाब-किताबको साटो चन्दनको लेप दलेर पेश गर्न थाले।

भारद्वाजको निधार खुम्चियो, गम्भीरताले अनुहार ढपक्क ढाक्यो ! सोधे, ‘हे गुरुवर, आखिर राम राज्यमा यस्तो कुरामा अंकुश किन लागेन ?’

याज्ञवल्क्य सौम्य मुद्रामा भन्दै गए, ‘राज्यको अधिकार प्राप्त निकायहरूले यी सबै टुलुटुलु हेरेर बसेका त थिएनन् तर गर्न सक्ने केही थिएन। छानबिन गर्ने निकायमा भक्ति-कीर्तन निपुण घाउ अन्वेषी वानर-सेनापतिहरू पुगेका थिए। हे मुनिवर, यी सबै देखेर पनि नागरिक मौन थिए। किनकि उनीहरूलाई ‘जय रामजी की’ भन्न त आउँथ्यो, तर अर्थोक बोल्न डराउँथे।’

यसपछि याज्ञवल्क्य केहीबेर मौन बसे। अनि गहिरो सास फेरेर भने, ‘मुनिवर, लंका विजय त भयो तर त्यसपछि जे जे भयो आजको युगमा अपाच्य हुन्छ। यो भनेर र श्रवण गरेर जुन पाप हामीलाई लागेको छ त्यसको मोचन हेतु हामी फेरि उपवास बस्नेछौं तर यसपटक अघिल्लो पटक जस्तो तीन दिन मात्र होइन, सात दिनसम्म। किनभने पाप त पहिलेभन्दा अझ गहिरो भयो।’

(हरिशङ्कर परसाईको मूल कथा लङ्काविजयपछिबाट प्रेरित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?