
२१ भदौ, विराटनगर । विराटनगरका ८४ वर्षीय जगतप्रसाद अर्ज्यालले ५ रुपैयाँ संकलन गरेर वृद्धाश्रम सञ्चालन गरिरहेका छन् । विराटनगर महानगरपालिका-८ मा १२ कट्ठा जग्गामा उनले विराटेश्वर वृद्धाश्रम सञ्चालन गरेका हुन् ।
सफल रूपमा आश्रम चलाएका वयोवृद्ध अर्ज्याल जीवनको उत्तरार्धमा पार्क बनाउने अभियानमा छन् । विराटनगर महानगरपलिका-८ मा लिबर्टी पार्क निर्माण गर्ने अभियानमा उनी जुटेका हुन् ।
४२ वर्ष शिक्षकका रूपमा काम गरेका उनले ज्येष्ठ नागरिकका लागि आश्रम सञ्चालन गर्न २०५८ सालदेखि ५ रुपैयाँको दरले सहयोग संकलन गरे । यो अभियान चलाउँदा उनी शिक्षक नै थिए ।
आश्रमका लागि सहयोग संकलन गर्दा समाजले उनको आलोचना गर्यो, पाँच रुपैयाँले के हुन्छ भन्दै प्रश्न गर्यो, तर उनले हरेश खाएनन् । एक व्यक्तिसँग दोस्रो पटक पैसा मागेनन्, ५ रुपैयाँभन्दा बढी कसैसँग लिएनन् ।
साइकलमा करिब ५ वर्ष लगाएर ४ लाख ९२ हजार ९०३ जनाबाट ५ रुपैयाँका दरले संकलन गरे । संकलन भएको रकम हरेक दिन बैंकमा जम्मा गरे । यो अभियानम विदेशमा बस्ने १ हजार ७३३ जना नेपालीले ५ डलरका दरले सहयोग गरेका छन् ।
उनको अभियानबाट ६३ लाख १२ हजार रुपैयाँ संकलन भयो । सोही रकमले विराटनगर अशोक चोकमा १२ कट्ठा जग्गा खरिद गरेर आश्रम सञ्चालन गरे । २०५८ सालबाट सहयोग संकलन गरेका उनले शिक्षण पेशाबाट अवकाश लिएपछि २०६२ सालबाट आश्रम सुरु गरे ।
चन्दा संकलन गरेर सुरु गरेको आश्रम सञ्चालनका लागि संघ–संस्थाले सहयोग गरिरहेका छन् । अहिले मानिसहरू आफ्नो जन्मदिन र विशेष समारोह मनाउनका लागि आश्रम पुग्छन् ।
अर्ज्यालका अनुसार आश्रममा अहिले ६२ जना ज्येष्ठ नागरिक आश्रित छन् । उनीहरूको सेवाका लागि ९ जना सहयोगी कर्मचारी राखिएको छ। आश्रममा महिलाका लागि ५४ वटा र पुरुषका लागि ५६ वटा गरी ११० वटा बेड रखिएको छ । विराटनगरको रामपुरमा पनि विराटेश्वर वृद्धाश्रमको शाखा सञ्चालनमा छ । रामपुरमा ९ जना बसिरहेका छन् । अर्ज्यालका अनुसार वृद्धाश्रम जनसहयोगबाट सञ्चालित छ ।
एउटा नोटले पार्क बनाउने
उमेरले ८४ वर्ष पुगेका अर्ज्याल अझै साइकल कुदाउँछन् । हरेक दिन चन्दा संकलन गर्न जान्छन् । उनको शरीर बुढो भए पनि मन भने तन्नेरी नै छ । काम गर्ने जोश छ ।
त्यसैले उनी तीन पुस्ता (बालबालिका, युवा र ज्येष्ठ नागरिक)लाई समेट्ने गरी लिबर्टी पार्क बनाउने अभियानमा छन् । विराटनगर-८ मा नै करिब २ बिघा जग्गामा पार्क बनाउने योजना छ । एक बिघा नम्बरी जग्गा आश्रमको नाममा आइसकेको छ । बाँकी एक बिघा ऐलानी जग्गा हो ।
यो पार्क निर्माणका लागि उनले एउटा नोट संकलन गर्ने अभियान चलाएका छन् ।
वृद्धा आश्रम चलाउँदा ५ रुपैयाँ संकलन गरेका उनी पार्क बनाउनका लागि एउटा नोट ५, १०, २०, ५०, १००, ५०० र १००० मध्ये एउटा नोट स्वेच्छाले माग्छन् । यो अभियानका लागि ६ लाख ७० हजार रुपैयाँ बैंकमा जम्मा भइसक्यो, हरेक दिन रकम बढ्दो छ ।
अर्ज्याल दिनदिनै घर, दोकान, क्याम्पस र विभिन्न कार्यक्रममा गएर पार्कका लागि एउटा नोट सहयोग संकलन गरिरहेका छन् । हरेक दिन संकलन गरेको रकम जम्मा गर्दा उनी सहयोग गर्ने व्यक्तिको संख्या भौचरमा लेख्छन् ।
‘जनताले इच्छा गरे यो सम्भव छ, एउटा वृद्ध मान्छेले पाँच रुपैयाँ उठाएर १२ कट्ठा जग्गा किनेर वृद्धाश्रम चलाएर ७० जनालाई आश्रय दिएको छ’ उनले भने, ‘त्यही वृद्धले पार्कको अभाव देखेर पार्क खोल्दैछ, यो मान्छेमा चेतना पनि जगाएको हो ।’ लिबर्टी पार्कको शिलान्यास उनले गत १५ जेठमा गरेका थिए । अब, संरचना बनाएर सञ्चालन गर्ने योजना छ ।
अर्ज्यालका छोरा-बुहारी अमेरिकामा छन् । छोरी काठमाडौंमा छिन् । विराटनगरमा आश्रम सञ्चालन गरिरहेका बुवालाई छोराले अमेरिका बोलाउँछन् । तर अर्ज्याललाई नेपाल छाड्न मन छैन । ‘पाँच पटक त अमेरिका पुगेर आएँ, तर यहाँ जस्तो छैन,’ उनी भन्छन् ।
शरीर बुढो भए पनि उनी गलेका छैनन् । ‘लोभ-लालच भए पो गल्नु, सेवाभावले गरेको काममा कसरी गल्नु ?’ उनले भने, ‘यो पनि साधना हो ।’
उमेर ढल्दै गएका कारण उनी आश्रम सञ्चालनका लागि एउटा टिमको खोजीमा छन् । आफ्नो अनुपस्थितिमा वृद्धाश्रम सञ्चालनका लागि ट्रस्ट खोलिदिएका छन् । सोही ट्रष्टले नै पार्क पनि सञ्चालन गर्नेछ ।
अहिले उनी आश्रम सञ्चालनका लागि ट्रष्टको म्यानेजर खोजी गरिरहेका छन् । म्यानेजर भेटे पार्क निर्माणका लागि आफू खटिने उनको योजना छ ।
अर्ज्याल जमिनदारका छोरा हुन् । सप्तरीको बरमझियामा जन्मिएका उनी बुबासँगै २०१६ सालमा विराटनगर आएका थिए । २०२० साल माघदेखि २०६२ सालसम्म विभिन्न विद्यालयमा अध्यापन गराए । रिटायर्ड लाइफमा के गर्ने भन्ने सोचले उनलाई आश्रम सञ्चालन गर्ने निर्णयमा पुगेका थिए ।
अध्यापन गराउँदै गर्दा समाजमा पिछडिएका गरिब, दु:खीहरूको वृद्धावस्थाको अवस्था उनले देखे । सानैमा विवाह भएर श्रीमान्को मृत्युपछि बसेकी महिलाको वृद्धा अवस्था पनि देखे । मालिककोमा उमेर हुन्जेल काम गर्नेहरूले वृद्धावस्थामा आश्रय नपाएको देखेपछि उनी तिनीहरूको संरक्षक बन्ने निष्कर्षमा पुगे ।
त्यही अठोटले पाँच रुपैयाँ संकलन अभियान चलाएका थिए । ‘शिक्षकले समाजको सबै वर्गको अध्ययन गरेको हुन्छ, त्यही वर्गबाट बच्चा स्कूल आउँछन्’, उनले भने ।
प्रतिक्रिया 4