
२६ भदौ, हेटौंडा । मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट बुधवार भागेकामध्ये १२१ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ ।
१ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारको ‘क’ ब्लक र ‘ख’ ब्लक तोडफोडपछि बुधवार मध्यराती र बिहान गरेर ४४१ जना कैदीबन्दी फरार भएका थिए । ‘क’ ब्लकबाट २६० जना र ‘ख’ ब्लकबाट १८१ कैदीबन्दी पर्खाल भत्काएर भागेका थिए ।
फरारमध्ये १२१ जनालाई नियन्त्रणमा लिइएको कारागार प्रशासन प्रमुख सुवास पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
७६ जना कारागारमा फर्किइसकेका छन् भने ४५ जनालाई नियन्त्रणमा लिएर प्रहरीले कारागारमा बुझाउने तयारी गरिरहेको उनले बताए । ३२० जना कैदीबन्दी अझै फरार रहेको र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजीकार्यलाई तीव्र पारेको प्रमुख पौडेलले जनाए ।
बुधवार कारागारमा सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएको थियो । झडपमा सेनाले चलाएको गोली लागेर दुई जना कैदीबन्दी घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
कारागारको गाडी लिएर भाग्ने क्रममा टायरमा गोली चलाउँदा कैदीबन्दीलाई लाग्न पुगेको कारागार प्रमुख पौडेलले जनाए ।
अन्य कारागारबाट भागेका ४७ कैदीबन्दी पनि नियन्त्रणमा मकवानपुरबाट भीमफेदी कारागारबाहेक देशका अन्य कारागारबाट भागेका ४७ जना कैदीबन्दी पनि नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले नख्खु कारागारबाट भागेका ७ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट भागेका २ जना, कास्की कारागारबाट फरार १ जना र नियन्त्रणमा लिएर पनि कारागार खुल्न बाँकी रहेका ३५ जना रहेको डिएसपी अर्यालले बताए ।
प्रतिक्रिया 4