+
+
Shares

जेनजी आन्दोलनमा बीमा कम्पनीलाई भूकम्पको भन्दा धेरै नोक्सानी

प्रदर्शनकारी तोडफोड र आगजनी गरेका अधिकांश सम्पत्तिको बीमा गरिएको अनुमान बिमकहरूको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ भदौदेखि सुरु भएको जेनजी आन्दोलनमा ५० भन्दा बढी युवाको मृत्यु भइसकेको छ भने सयौँ घाइते छन्।
  • मंगलबारको आन्दोलनमा सरकारी तथा निजी सम्पत्तिमा व्यापक तोडफोड र आगजनी भएको छ।
  • आन्दोलनका कारण बीमा कम्पनीहरूलाई अर्बौंको दायित्व पर्ने अनुमान गरिएको छ र नेपाल बीमा प्राधिकरणले छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएको छ।

२६ भदौ, काठमाडौं । जेनजी आन्दोलनले बीमा क्षेत्रलाई अर्को झड्का लाग्ने भएको छ । आन्दोलन क्रममा भएका निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनीले निर्जीवन बीमा कम्पनी तथा रिइन्स्योरेन्स कम्पनीलाई अर्बौको दायित्व पर्ने देखिएको हो ।

२३ भदौदेखि जेन्जी पुस्ताका युवाले आन्दोलन सुरु गरेका थिए । आन्दोलनको पहिलो दिन सोमबार १९ युवा तथा विद्यार्थीको मृत्यु भयो । हालसम्म मृत्यु संख्या ५० नाघिसकेको छ भने सयौँ घाइते अस्पातालमा छन् ।

सोमबारको प्रदर्शनमा सरकारको तीव्र दमन र प्रदर्शनकारी युवाको मृत्युपछि अक्रोशित जेनजी समूह मंगलबार देशभरि आक्रमण, तोडफोड र आगजनीमा उत्रियो ।

प्रदर्शनकारीले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत सहित अधिकांश सरकारी कार्यलयमा तोडफोड तथा आगजनी गरेको छ । सरकारी सम्पत्तिमात्र नभई प्रदर्शनकारीले निजी तथा औद्योगिक सम्पत्तिमा समेत तोडफोड र आगजनी गरे।

मंगलबारको आन्दोलनमा चन्द्रागिरि केबुलकार, भाटभटेनी स्टोर, चौधरी ग्रुपका गाडी शोरुम, सीजी इलेक्ट्रोनिक्सको कारखाना, टाटा मोटर्स शोरुम, बैंकका शाखा कार्यालय लगायत निजी सम्पत्तिमा पनि क्षति पुर्‍याएका छन् । उक्त क्षतिको दायित्व बीमा क्षेत्रमा सर्ने देखिएको छ ।

प्रदर्शनकारी तोडफोड र आगजनी गरेका अधिकांश सम्पत्तिको बीमा गरिएको अनुमान बिमकहरूको छ । त्यसका आधारमा अनुमान गर्दा पनि २०७२ सालको भूकम्पका कारण बीमा क्षेत्रमा परेको दायित्वभन्दा मंगलबारको आन्दोलनका कारण आउने धेरै हुने निर्जीवन बिमक संघका पूर्वअध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए ।

२०७२ को गोरखा भूकम्पमा बीमा क्षेत्रमा करिब १८ अर्बको दायित्व परेको थियो । जेनजी आन्दोलनका कारण भएको क्षतिको दाबी भुक्तानी त्योभन्दा धेरै आउने उनले बताए ।

‘आन्दोलनका क्रममा धेरै गाडी तथा सम्पत्ति जलेर नष्ट भएको हुनाले ती क्षेत्रको दायित्व बीमा कम्पनीहरूमा आउने देखिन्छ । त्यसका लागि बीमकहरूले पुलमार्फत काम गर्नेछन्,’ उनले भने ।

इन्स्योरेन्स गरेका सम्पत्ति तथा गाडीको दाबी भुक्तानी हुने क्षेत्रीले बताए । जेनजी आन्दोलनका कारण बीमा क्षेत्रमा के कस्तो दायित्व आउने छ भन्ने अनुमान पनि गर्ने अवस्था नभएको उनको भनाइ छ ।

‘सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिको विवरण आउन नै एक–दुई दिन लाग्छ,’ पाण्डेले भने, ‘बल्ल आजबाट अफिस खुलेको छ, अब बिस्तारै आउँछ ।’

आगजनी तोडफोड भएका सम्पत्ति बीमा विगतमा ऐच्छिक थियो । अहिले सम्पत्ति बीमा खरिद गर्दा अनिवार्य कभर गर्नुपर्ने व्यवस्था भएकाले मंगलबार बीमा भएको सम्पत्तिको क्षति भएको रहेछ भने भुक्तानी हुने उनले जानकारी दिए।

नेपाल बीमा प्राधिकरणले पनि पछिल्ला घटनाको क्षतिमा आउने बीमा दाबी भुक्तानी छिटो र सहज रूपमा गर्न बीमा कम्पनीलाई निर्देशन दिइसकेको छ ।

प्राधिकरणले सम्पत्ति, मोटर (निजी तथा सार्वजनिक), सामुद्रिक, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, हवाई, कृषि बाली, पशुपन्छी र विविध शीर्षकका बीमा लेखमा आएका दाबीको छिटो र सहज भुक्तानी गर्न निर्देशन दिएको हो ।

मंगलबारको आन्दोलनमा सरकारी तथा निजी गाडी धेरै जलाइएका छन् । त्यसैगरी औद्योगिक क्षेत्र तथा सपिङ स्टोरबाट सामान लुटिएको छ । प्रदर्शनकारीले सरकारी तथा निजी घर जलाउने तथा बैंकहरूमा समेत तोडफोड गरेर भौतिक नोक्सानी गरेको अवस्था छ ।

पछिल्लो समय बीमा पहुँच विस्तारका लागि सरकारी निकायबाट पहल गर्ने भनेर पनि सरकारी कार्यालय तथा सम्पत्ति बीमा गर्ने अभ्यास विकास भएको छ । त्यसले गर्दा पनि सिंहदरबार सहित सबै क्षति भएका अधिकांश कार्यालयको बीमा हुने गरेको छ ।

सरकारी कार्यालय सबैले बीमा गरेका छन् भनेर यकिन गर्न भने नसकिने महालेखा नियन्त्रकको कार्यालयका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार सिंहदरबारभित्रका सबै सम्पत्तिको बीमा भएको थियो भन्ने लाग्दैन । सरकारी कार्यलयको बीमा भएको वा नभएको विषयमा सम्बन्धित कार्यालयबाट मात्रै जानकारी लिन सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?