+
+
Shares

सञ्चालन हुन थाले राज्यका दुई अंग

आगजनीको पाँच दिनपछि मुलुकको कार्यपालिका र न्यायपालिका आंशिक रुपमा सञ्चालन हुन थालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १६:०१

२९ भदौ, काठमाडौं । गतसाताको प्रहरी दमन र त्यसपछिको आगजनीबाट अस्तव्यस्त बनेका राज्यसंयन्त्रहरूले सक्रियता देखाउन थालेका छन् ।

ओली सरकार ढलेपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आईतबार पदभार ग्रहण गरी काम थालेकी छन् । आगजनीबाट ध्वस्त सर्वोच्च अदालतले भग्नावशेष हटाएर परिसरमा टेन्ट राखेर सेवा सुरु गरेको छ ।

जेनजीको आन्दोलनमा सरकारले दमन गरेको भोलिपल्ट देशव्यापी आगजनी भएको थियो । कतिपय प्रदर्शनकारी र अज्ञात समूहको आगजनीबाट सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कैयौं मन्त्रालय, संघीय संसद भवन र सर्वोच्च अदालत ध्वस्त भएका थिए ।

घटनापछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए भने सेना परिचालन गरेर स्थिति नियन्त्रणमा आएको थियो । नियुक्त भएदेखि नै सक्रियता देखाउन थालेकी प्रधानमन्त्री कार्कीले आइतबारदेखि सिंहदरबारस्थित मुलुकको कार्यकारी निकायलाई पनि सक्रिय बनाएकी हुन् ।

केही दिनदेखि नै कर्मचारीहरूको प्रयासमा सिंहदरबारको भग्नावशेष हटाउने काम र सरसफाइ भएको थियो । आइतबारदेखि कर्मचारीहरूले कार्यालय खडा गर्ने र सेवा फेरि चालु गर्ने प्रयास गरेका छन् ।

आगजनीको भोलिपल्टदेखि नै भग्नावशेष हटाउने र मुद्दाका बचेखुचेका कागजात संकलन गर्न थालेका सर्वोच्च अदालतका कर्मचारीहरूले पाँच दिनमै सांकेतिक रुपमा अदालत सञ्चालन थालेका हुन् । सर्वोच्च अदालतमा आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता शुरु भएको छ ।

सोमबारदेखि आवश्यक परेमा अरु केही इजलासहरू सञ्चालन हुनेछन् । अदालतका कर्मचारीहरूले त्रिपाल राख्नेदेखि इजलास व्यवस्थापनको काममा सक्रियता देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?