+
+
Shares
प्रदर्शनमा गोली खाएका केशव भन्छन् :

‘सरकार ढले पनि देश बाँच्छ तर संविधान मर्नु हुँदैन’

मृतक र घाइतेको रगतमाथि खेलेर कुनै स्टन्ट नगर्न र आफूहरूलाई चेसको गोटी नबनाउन उनको आग्रह छ ।

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८२ भदौ २९ गते २२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाका २४ वर्षीय केशव फागो लिम्बु देश प्रेमले भदौ २३ गते भएको प्रदर्शनमा सहभागी भएका थिए।
  • प्रदर्शनका क्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा केशवको पैतालामा गोली लागेको थियो।
  • केशवले आन्दोलनले प्रधानमन्त्रीको राजीनामा ल्याएको खबर सुनेर खुसी व्यक्त गरे र संविधानको मर्म बचाउन आग्रह गरे।

झापाका २४ वर्षीय केशव फागो लिम्बु देश प्रेमकै कारण भदौ २३ गते भएको प्रदर्शनमा जोडिए । भक्तपुरमा बसेर कानुन पढिरहेका उनलाई देशको अवस्था देखेर दिक्क लागिरहेको थियो ।

सत्तामा बस्नेको मनपरी र फोहोरी राजनीति हटाउनुपर्छ भन्ने सोचले उनलाई प्रदर्शनमा पुर्‍यायो । प्रदर्शनको क्रममा उनलाई जे भयो, त्यो उनले कल्पनासमेत गरेका थिएनन् ।

दिउँसो १२ बजेतिर प्रदर्शनस्थलमा पुग्दा, जेनजीहरू निषेधित क्षेत्रमा प्रवेश गरिसकेका थिए । त्यसैले उनी पनि त्यतै जोडिएर नारा लगाउन थाले । त्यसै क्रममा प्रदर्शनकारीको तर्फबाट प्रहरीलाई ढुंगा हान्न थालियो । त्यसपछि प्रहरीले हवाइ फायर गर्न थाल्यो ।
केही क्षणमै प्रहरीले अन्धाधुन्ध गोली चलाउन थालेपछि केशवको पैतालामा गोली लाग्यो । केही साथीले उनलाई सिभिल अस्पताल पुर्‍याए ।

केशव भन्छन् ‘देश प्रेमले मलाई त्यहाँ तान्यो । म कुनै राजनीतिक पार्टीमा आबद्ध छैन, पूर्ण रूपमा स्वतन्त्र नागरिक हुँ ।’

विगत केही दिनदेखि नै सामाजिक सञ्जालमा ट्रेन्ड चलिरहेको थियो । भिडियोहरू हेर्दा उनलाई लाग्थ्यो-हामीले पनि केही गर्नैपर्छ । त्यसैले बाबुआमाले नजानु भने पनि अटेर गरेर आन्दोलनमा पुगे । उनको आँखैअगाडि तीन जना जेनजीहरू मारिए । त्यो दृश्यले उनलाई अर्कै संसारमा पुगेजस्तो भयो । ‘सरकार यति क्रूर हुनुहुँदैन थियो’ केशव भन्छन्, ‘जे भए पनि संविधान मानवअधिकार र मौलिक अधिकारका लागि हो, तर उनीहरूले यसलाई उल्लंघन गरे ।’

प्रदर्शनकारीले सामान्य ढुंगामुढा गर्नेबित्तिकै सिधै लगातार गोली चलाइएको उनको भनाइ छ । पुलिसले हवाइ फायर पनि गरेनन् सिधै मानिसहरूलाई निशाना बनाए’ उनी भन्छन्, ‘१०–१५ वटा गोली लगातार चले।’

रगत बग्दै थियो, तर पनि म आफैँ कुदेर सुरक्षित ठाउँ पुगेको उनले सुनाए । अस्पतालमा घाउ ड्रेसिङ गर्दैगर्दा देशका ठूलो नेताहरू सम्झेर रिसले आसुँ नै आयो उनलाई । मैले उनीहरूलाई सम्झें’ केशवले भने, ‘उनीहरूकै कारण यस्तो भएको जस्तो लाग्यो ।’ उनले भने ।

उनी अस्पताल आउँदा घाइतेहरूले इमर्जेन्सी भरिएको थियो। उनको खुट्टाको गोली निकालिहाल्नुपर्ने भएकोले तत्काल शल्यक्रिया गरियो । गोली देब्रे खुट्टाको तल्लो भागबाट प्रवेश गरेको गोली अर्को भागबाट निकालियो । गहिरो घाउ थियो ।

उनी अस्पतालमा शिथिल थिए । भोलिपल्ट यही आन्दोलनकै कारण प्रधानमन्त्रीको राजीनामा आएको खबर सुनेपछि उनी खुसी भए । ‘भोलिपल्ट आन्दोलनले जितेको खबर सुन्दा म भावुक भएँ’ उनी भन्छन्, ‘हामीले जे का लागि लड्यौँ, त्यो सफल भयो भनेर आँसु आयो ।’

तर पछि जेनजीको आन्दोलनका नाममा आगजनी तोडफोड हुनथाल्यो । त्यसले केशव निकै दु:खी बने । ‘हाम्रो धारणा थियो, सिंहदरबार जस्ता भौतिक पूर्वाधार तोडफोड गर्नुहुँदैन’ उनी भन्छन्, ‘अदालत हाम्रा लागि मन्दिर हो । सरकारी सम्पत्तिमा क्षति पुग्दा घाटा हामीलाई नै हुन्छ ।’ अवसरवादीहरूले मौकाको फाइदा उठाएर अनावश्यक हमला गरेको उनको बुझाइ छ ।

‘त्यसको म निन्दा गर्छु । उनीहरू सच्चा जेनजी होइनन्, उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन अनुसार सजाय हुनुपर्छ’ उनको निष्कर्ष छ ।

जो आए पनि संविधानको मर्म बचाएर काम गरून भन्ने उनको चाहना छ । ‘सरकार ढले पनि देश बाँच्छ, तर संविधान मरे देश मर्छ’ केशवले भने । २०६२/६३ को जनआन्दोलनपछि संविधान बनाउन ८–९ वर्ष लागेको थियो । देश अस्थिर थियो । फेरि त्यस्तो राजनीति नहोस् भन्ने उनको कामना छ ।

मृतक र घाइतेको रगतमाथि खेलेर कुनै मिडिया स्टन्ट नगर्न र आफूहरूलाई चेसको गोटी नबनाउन उनको आग्रह छ । ‘हामी शिक्षित पुस्ता हौँ, के गर्नुपर्ने र के नगर्नु पर्ने बुझ्छौँ । हामीलाई मोहरा नबनाउनुहोस्’ केशवले आग्रह गरे ।

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?