+

आन्दोलनका घटनाले निम्याउन सक्छ ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’, कसरी बच्ने ?

२०८२ भदौ  ३० गते १३:४५ २०८२ भदौ ३० गते १३:४५
Shares
आन्दोलनका घटनाले निम्याउन सक्छ ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’, कसरी बच्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्दोलनका कारण मानिसहरूमा तनाव, चिन्ता र मनोविकारका लक्षणहरू देखिएको छ, जसमध्ये निद्रा नलाग्ने र सामाजिक दूरी बढ्नु प्रमुख छन्।

कोही व्यक्तिले जब कुनै भयानक तथा पीडादायी घटनाहरूको अनुभव गरेको छ वा त्यसको साक्षी बनिरहेको छ भने ऊ मानसिक रूपमा निकै विचलित हुन सक्छ । त्रसित र आत्तिएको अवस्थामा हुन सक्छ । यस खालको मानसिक समस्यालाई ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर'(पीटीएसडी) भनिन्छ ।

यो ठूलो मानसिक आघातपश्चात उत्पन्न हुने समस्या हो । पछिल्ला दिनमा नेपालमा भएको जेनजी आन्दोलनका क्रममा भएका व्यक्ति हत्या, आगजनी तोडफोडका घटनाले धेरैको मन बिचलित भएको छ । आन्दोलनले ठूलो जनधनको क्षति गर्‍यो । करिब ६ दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि भइसक्यो । सरकारी कार्याल, निजी घर र व्यवसायिक क्षेत्र जताततै आगजनी भएको छ ।

यी सबै घटनाका बारेमा सामाजिक तथा विभिन्न माध्यममा देखाइएका भिडियो र फोटोहरू हेर्दै बसिरहे सबैजसो । यो परिस्थितिले भौतिक क्षतिहरू त भयो नै साथै मानिसहरूको मानसिक स्वास्थ्यमा पनि गहिरो घाउ पुर्‍यायो । पटक–पटक हिंसात्मक दृश्य हेर्नु, असुरक्षा र अनिश्चिततामा बस्नु र आफ्नै नियन्त्रणबाहिरका घटनामा फस्नुले मानिसहरूमा तनाव, चिन्ता र मनोविकारको अवस्था देखिएको छ।

आन्दोलनले उब्जाएका मानसिक असर

१.जीवनको क्षति

धेरै जनाले ज्यान गुमाउँदा परिवार र समुदायमा गहिरो शोक र आघात पैदा गरेको छ ।

२.सम्पत्ति नष्ट

कार्यालय, होटल, घर तथा व्यवसाय जल्दा असुरक्षा र भविष्यप्रतिको चिन्ता बढेको छ ।

३.मिडियाको प्रभाव

यो समयमा व्यक्तिहरू सामाजिक सञ्जाल तथा मिडयाबाट टाढा पनि रहन सकेनन् किनकी देशमा क्षणक्षणमा नयाँ-नयाँ घटना भइरकेका थिए । त्यसबारे अपडेट हुने पनि मानिसहरू मिडियामा जोडिइनै रहे । आगजनी, भिडन्त तथा विभिन्न पीडादायी दृश्य देख्दा मानिसहरूमा मानसिक चोट बढ्न पुगेको छ ।

४.पढाइमा अवरोध

आन्दोलनको असरले स्कुल, कलेजको पठनपाठन रोकियो । कसैको परीक्षा चलिरहेको थियो भने कसैको नजिकै आइरहेको थियो । त्यो सबैबाट विद्यार्थीको ध्यान भंग भएको छ । परीक्षा सरेको छ ।

आफूसरह उमेरका विद्यार्थीहरू गोली खाएर सडकमा ढलेको भिडियोहरू देख्दा नकारात्मक कुराले दिमाग भरिए । यसले उनीहरूमा ठूलो मानसिक तनाव निम्त्याएको हुन सक्छ ।

५.पेशा तथा व्यवसायिक चिन्ता

धेरै सरकारी तथा निजी सम्पत्तिमा आगजनी गरिएको छ । थुप्रै व्यक्तिका रोजगार तथा व्यवसायहरू समस्यामा परेका छन‍् । काम गर्ने कार्यालयहरू आगजनी र ध्वस्त भएका छन् । यस अवस्थामा रोगजारी तथा भविष्यलाई लिएर ठूलो चिन्ता उत्पन्न भएको छ धेरै जनालाई ।

यी र यस्ता कारइले तनाव, चिन्ता, मनोविकार र दीर्घकालीन मानसिक समस्या देखिन सक्ने अवस्था बनेको छ ।

यी घटनापछि मानिसहरूमा देखिएका लक्षणहरूः

-निद्रा नलाग्ने

-अस्थिरता, झर्को वा चिडचिडाहट

-टाउको दुखाइ, शरीरमा तनाव

-मुटु छिटो धड्किने

-भोक नलाग्ने, शरीर कमजोर हुने

-मुड घट्ने, निराशा बढ्ने

– एक्लोपनको अनुभव, सामाजिक दूरी

यदि यी लक्षण लामो समयसम्म रहिरहे भने, डिप्रेसन वा कुनै गम्भीर मानसिक समस्या बन्न सक्छन्।

कसरी सामना गर्ने ?

यस्ता अवस्थाबाट बाहिर निस्कनका लागि व्यक्ति स्वयं र समुदाय दुवैले केही अभ्यास र सकारात्मक जीवनशैली अपनाउन आवश्यक छ ।

१. अत्यधिक सोच्न बन्द गर्ने, आफ्ना नियन्त्रणबाहिरका कुरामा अनावश्यक चिन्ता नगर्ने।

२. मिडिया सीमित प्रयोग गर्ने, समाचार वा सामाजिक सञ्जाल बारम्बार नहेरी केवल आवश्यक जानकारी मात्र लिने।

३. सकारात्मक सोच राख्ने, भविष्यप्रति आशावादी दृष्टिकोण राख्ने, सकारात्मक कुरा सोच्ने।

४. शारीरिक व्यायाम हिँडडुल, योग अभ्यासले तनाव घटाउछ।

५. पौष्टिक खानेकुरा खानु मानसिक र शारीरिक स्वास्थ्य दुवैका लागि महत्त्वपूर्ण हुन्छ ।

६. पढाइ, घरायसी काम, परिवार तथा आफन्तसँग कुराकानी गर्न वा आफ्ना रुचिका काममा समय बिताउने।

७. पर्याप्त निद्रा लिने, शरीरलाई विश्राम दिनु।

८. परिवार वा साथीहरूसँग कुरा गरी आफ्ना पीडा बाँड्ने।

संकट तथा पीडाको बेला सकारात्मक सोच राखेर धैर्‍य धारण गरी सम्हालिनु नै मानसिक समस्याबाट बच्ने सबैभन्दा उत्तम उपाय हो ।

पीटीएसडी
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय